प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न किरात राई यायोख्खाद्वारा धनकुटा सहित १ नं प्रदेशका विभिन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेद्धारहरु सँग अन्तरक्रिया
धनकुटा । प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्ने विषयमा किरात राई यायोख्खाले धनकुटा सहित १ नं प्रदेशका विभिन्न जिल्लाका प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेद्धारहरु सँग अन्तरक्रिया गरेको छ ।
किरात राई यायोख्खा जिल्ला कार्य समितिहरुको व्यवस्थापन, प्रदेश कार्य समितिहरुको संयोजन तथा केन्द्रिय कार्य समितिका आयोजनामा सञ्चालित अन्तरक्रियामा यायोख्खाका पदाधिकारीहरुले आगामी निर्वाचनमा आफ्नो तर्फबाट पहिचानवादी उम्मेद्धारहरुलाई मात्र साथ रहने भन्दै प्रदेश १ को नाम किरात प्रदेश राख्न पर्नेमा जोड दिएका छन् ।
उनिहरुले यसअघि ५ वर्षसम्म प्रदेश १ को नाम नराखिनु दुखद भएको भन्दै यसको श्रेय सम्पूर्ण राजनीतिक दल र नेताहरुले लिनपर्ने बताएका छन् । किरात एक सभ्यता र ईतिहास भएको उल्लेख गर्दै किरात अगुवाहरुले प्रदेश नं १ को नाम किरात प्रदेश राख्न कुनै कञ्जुस्याई गर्न नहुने बताएका छन् ।
किरात राई यायोख्खा धनकुटाका अध्यक्ष उद्धवमणी राईको अध्यक्षतामा धनकुटामा भएको कार्यक्रममा बोल्दै गठबन्धनबाट निर्वाचन क्षेत्र नं १ धनकुटाको तर्फबाट प्रदेशसभा सदस्यका प्रत्यक्ष उम्मेद्धार नेकपा एकिकृत समाजवादीका अर्जुन राईले १ नं प्रदेशको नाम किरात प्रदेश राख्न आफ्नो तर्फबाट सधैं प्रयास जारी रहने बताउनभएको छ ।
आफु आउदो मंशिर ४ को निर्वाचनमा प्रदेशसभा सदस्यको निर्वाचनमा जिते सदनमा यो कुरा राख्ने र हारे आफ्नो व्यक्तीगत तर्फबाट जोडदार पहल गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई किरात राई यायोख्खा केन्द्रिय सहध्यक्ष टिकाश्वरी राई, जनता समाजवादी पार्टीका डम्बर कटुवाल लगायतले सम्बोधन गरेका थिए ।
त्यस्तै संखुवासभामा आयोजित कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ प्रदेशसभा सदस्यका प्रत्यक्ष उम्मेद्धार नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्कीले किरात राई यायोख्खाको यो एजेण्डामा आफ्नो पार्टीको धारण सधैं स्पष्ट रहेको बताउदै आफुले जिते अवश्य यो विषयमा पहल गर्ने बताउनुभयो ।
किरात राई योयोख्खा संख्वासभा जिल्ला कार्य समितिका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोख्खा केन्द्रिय कार्य समितिका उपमहासचिव मातृका राई,प्रदेश उपाध्यक्ष सञ्जय सन्तोषी राई लगायतले किरात शब्दले कुनै जात नभई सभ्यता र ईतिहासलाई ईगिंत गर्ने बताएका थिए ।
प्रदेशको नामाकरण किरात प्रदेश राख्दा गर्वगर्न सक्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस,नेकपा एमाले,जनता समाजवादी पाटीं,राष्ट्रिय जनमुक्ती पार्टी र नेश्नल पिपुल्सका उम्मेद्धार तथा पार्टी प्रतिनीधिहरुले सम्बोधन गरेका थिए ।


