‘वडाको बिद्यालयहरुलाई बिषयगत शिक्षक चाहियो’
नारायण कुमार राई/धनकुटा १६,कार्तिक । धनकुटा नगरपालिका वडा नं.८ स्थानियबासीहरुले वडाका बिद्यालयहरुमा बिषयगत शिक्षकहरुको दरबन्दि माग गरेका छन् ।
वडामा रहेको २ प्रा.बि.,एक आधारभूत र एक मा.बि.मध्ये आधारभूत र मा.बि.मा बर्षाै देखि अंग्रेजी,गणित र बिज्ञान बिषयका शिक्षक नभएको उनीहरुले गुनासो गरेका छन् । उनीहरुले चुनावी अभियानमा रहेका नेकपा एमाले धनकुटाको तर्फबाट प्रदेश ‘क’ का उमेद्वार निरन राईलाई बिजयी भएपछि वडाको उक्त पहिलो माग पुरा गर्नुपर्ने शर्त राखेका हुन् ।
वडाको पोखरी टोलमा भएको कार्यक्रममा वडाबासीको तर्फबाट कुरा राख्दै सो टोलका ज्ञानबहादुर राईले टोलको जनता आधारभूत बिद्यालयमा लामो समय देखि बिषयगत दरबन्दि रिक्त रहेको जानकारी दिनुभयो । त्यस्तै उहाँले सान्ताङ्गमा रहेको देउराली मा.बि.मा पनि बिषयगत शिक्षक नभएको जानकारी गराउनुभयो ।
‘यहाँका आठपहरिया समुदायहरुले ठाउँमा कुरा राख्न सक्दैनन् । तपाईले जितेपछि तत्काल शिक्षकको ब्यबस्था गर्नु पर्छ ।’ राईको माग थियो ।
यसका साथै राईले त्रिवेणी सान्ताङ्ग हुँदै याक्चाना जोड्ने सडक र त्रिवेणी टेकुनाला हुदै मुलघाट जोड्ने सडकलाई कालोपत्रे गर्न पनि माग गर्नुभयो ।
त्यस्तै टेकुनालाको श्री कृष्ण मन्दिरमा भएको कार्यक्रममा स्थानिय दिपक डंगोलले उक्त क्षेत्रमा खानेपानी अभाव भएको बिषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।कार्यक्रममा उठेका बिषयमा उमेद्वार राईले यस अघि पनि उक्त क्षेत्रका लागि काम गर्दै आएकाले आगामी दिनमा पनि आफू बिजयी भएपछि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
अभियानमा प्रदेशका समानुपातिक उमेद्वार तारा तितुङ्ग सहित प्रदेश कमिटी सदस्य मदन बस्याल,यूवा संघका जिल्ला अध्यक्ष प्रविण पोखरेल,नगर अध्यक्ष अर्जुन छारा लगाएत नेता तथा कार्यकर्ताहरुको टोलीले वडाको बिभिन्न स्थानमा नागरिकहरु संग भेटघाट गरेको छ ।
टोलीले वडाको याक्ते डाँडा,सान्ताङ्ग लगाएतका स्थानहरुमा कार्यक्रम गरेको र वडा नं.७ को मोती टोल,मितेरी टोल र वडा नं.९ को मूलघाटमा कार्यक्रम सम्पन्न गरेको एमाले नगर कमिटीले जानकारी दिएको छ ।


