बेलहारा क्षेत्रमा एमाले उमेद्वारहरुको भेटघाट सम्पन्न
नारायण कुमार राई/धनकुटा, १७ कार्तिक । नेकपा एमाले धनकुटाको तर्फबाट प्रदेश ‘क’ का उमेद्वार निरन राईको टोलीले आज धनकुटा नगरपालिका वडा नं. ९ का सर्वसाधरणहरुलाई भेटघाट गरेको छ ।टोलीले रुदुवा खोला क्षेत्रको बर्राबोटेबाट कार्यक्रमको शुरुवात गरेको थियो ।
बर्राबोटे गाउँका स्थानियबासीहरुका तर्फबाट भुपाल निरौलाले सो स्थान देखि कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सम्म सडक कालोपत्रेको माग गरेका थिए ।निरौलाले आफ्ना गाउँका केटाकेटीहरु धनकुटा बजार सम्म पढाउन लैजान आउने बस बर्खाको समयमा उक्त क्षेत्रमा आउन कठिन भएकाले सडक कालोपत्रेको माग गरेको बताए ।
त्यस्तै गुठिटारमा भएको भेटघाट कार्यक्रममा स्थानिय सचिन राईले सो क्षेत्रका सडक तथा भौतिक पूर्वाधारको माग गरेका थिए ।
टोलीले वडाको रातमाटे खुरिल्ला,च्याङ्च्याङबारी,माहाङ,पाखाटोल,बाघखोर,थानी चौक,ईटहरी चौक,जिमि चौक र वडा नं. १० को मार्गा र पारिपात्लेका नागरिकहरु संग घेटघाट गरेको थियो ।
अभियानमा प्रदेशका समानुपातिक उमेद्वार तारा तितुङ्ग सहित यूवा संघका जिल्ला अध्यक्ष प्रविण पोखरेल,नगर अध्यक्ष अर्जुन छारा लगाएत नेता तथा कार्यकर्ताहरुको टोलीले वडाको बिभिन्न स्थानमा नागरिकहरु संग भेटघाट गरेको छ ।कार्तिक १३ गतेबाट नगरपालिकामा टोलीले नागरिकहरु संग भेटघाट कार्यक्रम थालेको थियो ।


हरिहर सेवा सङ्घलाई एक करोड बराबरको सहयोग
सुरुङ्गा (झापा), १७ कात्तिक (रासस) :झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको हरिहर सेवा सङ्घलाई रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ ।
बिर्तामोड–५ निवासी श्रीमाया भट्टराईको परिवारबाट हरिभक्त सेवा सङ्घ झापा शाखालाई दुई कठ्ठा जमिनसहित मन्दिर स्थापना गर्दै सहयोग प्रदान गरिएको हो । भट्टराईका पति देवीप्रसाद भट्टराईको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा उहाँकी पत्नी श्रीमाया, छोरा–बुहारी निर्मल र सुमित्रा भट्टराईले रु एक करोड बराबरको दुई कठ्ठा एक धुर जमिन र सभाहलसहितको मन्दिर आज हस्तान्तरण गर्नुभयो ।
शाखाकी अध्यक्ष शान्ता विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष भीष्म मिश्र र धार्मिक समितिका अध्यक्ष लक्ष्मीप्रसाद बस्नेतलाई उक्त जमिनको जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरिएको थियो ।


