दिक्तेल बजारमा खानेपानीको पाइपलाइनमा त्रुटि, पानी चुहावट हुँदा दिक्तेल बजारका उपभोक्ता हैरान

खोटाङ, २६ कात्तिक । दिक्तेल बजारमा सञ्चालनमा ल्याइएको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको पानी चुहावट हुँदा उपभोक्ता हैरान भएका छन् । ०७८ चैतदेखि सञ्चालनमा ल्याइएको खानेपानी आयोजनाको पाइपलाइनको इलेक्ट्रिकल फ्युजनको काममा त्रुटि हुँदा दिक्तेल बजारको रत्नपार्क क्षेत्रमा पानी चुहावटको समस्या निम्तिएको हो ।

ढलानले पुरिएको पाइपको कनेक्सन सकेटबाट पानी चुहिँदा कतिपय घरभित्र पानी निस्कने र घरै भासिने समस्या देखिएको हो । पानी चुहावटको समस्या दिक्तेल बजारको किरातचोक (रत्नपार्क) क्षेत्रमा बढी देखिएको छ ।

दिक्तेल शहरी खानेपानी तथा सरसफाई योजनाको ६/६ मिटरको पाइपलाइनलाई फ्युजन गरेर जडान गरिएको छ । त्यही पाइप फ्युजनका क्रममा कमजोरी हुँदा हाल पानी चुहिने समस्या निम्तिएको हो । हाल चुहावट भएर पानी निस्कएको ठाउँमा सडकको ढलान काटेर टाल्ने गरिएको छ । चुहावट भएको पाइप जडानका क्रममा सडकको ढलान ठाउँठाउँका प्वाल पार्नुपर्ने वाध्यता छ । ठाउँ–ठाउँमा प्वाल बनाउँदै टाल्दै गर्दा सडक ढलान जिर्ण बन्दै गएको स्थानीय बताउँछन् ।

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १ हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरिय पानी वितरण गरिएको छ । वर्षामा पानी परिरहेकोबेला पाइपलाईनको इलेक्ट्रिकल फ्युजनको काम गरिएकाले हाल समस्या देखा परेको रम्बाखोला माझखोला शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव नवराज जोशीले बताए । ‘वर्षाको बेलामा काम गरियो । इलेक्ट्रिकल फ्यूजन राम्रो बनाउन करिब आधा घण्टा सेलाउनु पर्ने रहेछ । तर, पानी परिरहेकाले सेलाउन पाएन । तत्कालै पुरपार गर्ने काम गरियो,’ जोशीले भने, ‘इलेक्ट्रिकल फ्युजनको काम राम्रो नहुँदा अहिले पानी चुहिने समस्या आएको हो । वर्षामा इलेक्ट्रिकल फ्युजनको काम गरिएको ठाउँमा मात्र यो समस्या छ । अरु ठाउँमा यो समस्या छैन ।’
पानी चुहावटको विषयमा अध्ययन गर्न समिति गठन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको पानी चुहावटको समस्याका बारेमा अध्ययन गर्न जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार गठन गरिएको समितिलाई हप्ता दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । ब्रेक प्रेसर ट्यांक (बिपिटी)बाट पानी वितरणको व्यवस्था मिलाउने र त्यसबाट पनि पानी चुहावट नरोकिए किरातचोकदेखि मानव अधिकारचोकसम्म नयाँ पाईप जडानका लागि निर्माण व्यवसायीलाई आग्रह गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहिट) रुपैयाँको लागतमा पुरा भएको आयोजना अन्तरगत दिक्तेलबजारका १० स्थानमा आगलागीकाबेला उपयोग गर्नेगरी फायर हाइड्रेन्ट गेट भल्भ पनि राखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।