धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको निधन
धनकुटा । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएकी एक कर्मचारीको निधन भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकि शिक्षिका पवित्रा याखा लिम्बुको निधन भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।
उच्च रक्तचाप पिडित रहेकी शिक्षिका मतदान केन्द्रमा सर्वदलिय बैठक चलिरहेका बेला अचानक बिरामी परेपछि उपचारका लागि लैजादै गर्दा बाटैमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
यो पनि…
ढुक्क भएर मतदान गर्न गृहको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ ।
निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पु¥याउने व्यक्ति दल/समूह र सङ्गठनमाथि कडा निगरानी राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेका छौँ । सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु ।”
मन्त्रालयको सुरक्षा तयारीबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “केही दिन यता केही हिंसात्मक गतिविधिहरू देखिएका छन् । यस्ता खालका गतिविधिमा संलग्न व्यक्ति, समूह र सङ्गठनप्रति हामी ‘शून्य सहनशीलता’ मा छौँ । हामीले सूक्ष्म अनुगमन र कडा निगरानी गरिरहेका छौँ ।”
प्रवक्ता सिंहका अनुसार मतदान केन्द्र नजिक नौ सय तीन स्थानमा नेपाली सेनाको बम बिस्फोटक टोली खटाइएको छ । इजाजत प्राप्त र अवैध दुई हजार २५ थान हातहतियार सङ्कलन भएको छ । चालीस वटा स्थानमा हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने व्यवस्था गरिएको छ । यस्तै नेपाली सेनाको हेलिकप्टर इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा राखिएको छ भने हवाई गस्ती समेत गरिरहेको छ ।
गृह मन्त्रालयका अनुसार देशभर अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ जनशक्ति परिचालित भएका छन् । मतदानस्थलको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । (रासस)


