नेपाल एयरलाइन्सको न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड
काठमाडौँ, ११ मङ्सिर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ । उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु राखेर दिउँसो २ बजे नै दिल्ली पठाइएको प्रवक्ता खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएको हो, इन्जिनमा समस्या हैन, प्राविधिक समस्यायुक्त जहाजको अहिले मर्मत भइरहेकाले छिट्टै उडानमा आउनेछ ।”
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ‘ए’ ३२० जहाज छन् । निगमले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।(रासस)
पुनः मतगणना गर्न माग गर्दै उम्मेदवार कार्कीद्वारा निवेदन
इनरुवा, ११ मङ्सिर (रासस):
सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्नुभएको छ ।
शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले आज निर्वाचन आयोगमा निवेदन दिनुभएको हो ।
सुनसरी–४ मा मतगणनाका क्रममा गणनामा बसेका निर्वाचन आयोगकका कर्मचारीले नेकपा (एमाले) उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा छ सय छ मत बढी थपिएपछि विवाद भएको थियो । निर्वाचन अधिकृतले आयोगमा पठाएको छ सय छ मत सार्वजनिक गर्दा एक हजार दुई सय १२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।
यसरी थप देखिएको छ सय छ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो । कांग्रेसका कार्कीले त्यो प्रस्ताव अस्वीकार गर्दै सुरुदेखि नै मतगणना गर्नुपर्ने माग गर्नुभएको हो । मतगणना रोकिँदासम्म कार्कीले २३ हजार चार सय ३९ र एमालेका कुसियैतले २३ हजार तीन सय ४१ मत पाउनुभएको छ ।


