‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

चितवन, १७ मङ्सिर । विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिनुहुन्छ ।

नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर अष्ट्रेलिया पुग्नुभएका चापागाईँ अहिले सिड्नीको केलिभिलस्थित हिल्स क्लिनिकमा कार्यरत हुनुहुन्छ । त्यहाँको मेडिकल स्टाफ काउन्सिल प्रेसिडेण्ट (मेडिकल सुपरिटेण्डेण्ट) का रुपमा कार्यरत चापागाईँको भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन् । आफूले दैनिक हेर्ने २१ जना बिरामीमध्ये तीन जना हाराहारी नेपाली हुने गरेको उहाँले बताउनुभयो । जसमध्ये धेरै कलिलो उमेरका विद्यार्थी रहने गर्दछन् ।

उदासिनता, दिक्क लाग्ने, आत्तिनेजस्ता डिप्रेसनका समस्या लिएर धेरै आउने गरेको भन्दै उहाँले भन्नुभयो, “कोही कडा खालको मानसिक रोग लिएर आउँछन् ।” त्यहाँको वास्तविक अवस्था नबुझी पुगेका विद्यार्थी अपेक्षाअनुसार नभएपछि उदासिन हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आफ्ना छोराछोरीलाई विदेश पठाउनु अघि त्यहाँको सम्भावनाका बारेमा अभिभावकले बुझ्नु जरुरी छ ।”

१२ कक्षा पास गरेर जाने विद्यार्थीमा बढी समस्या हुने गरेको भन्दै उहाँले कम्तीमा स्नातक उत्तीर्ण गरेर मात्रै अष्ट्रेलिया पठाउन उहाँले अनुरोध गर्नुभयो । आफूको मा उपचारका लागि आउने एक तिहाइ विद्यार्थी हुने गरेको भन्दै १८–२० वर्षको उमेरमा परिवारबाट अलग भएर आफ्नो र परिवारको दोहोरो बोझ बोक्नु पर्दा उनीहरूलाई कठिन हुने गरेको डा चापागाईँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अभिभावकले बुझ्नु प¥यो, कलेजको शुल्क पनि तिर्नुप¥यो, आफू जाँदा लिएको ऋण पनि तिर्नुप¥यो, ती कुरा धान्न नसक्दा विद्यार्थीमा मानसिक समस्या पर्ने गरेको छ ।” कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई सुधार्नका लागि बाहिर पठाउने गरेको भन्दै उहाँले नेपालमा कुलतमा फसेकालाई बाहिर पठाउँदा सुध्रनको सट्टामा झन् बिग्रने गरेको बताउनुभयो ।

नेपालमा हुँदा परिवारको रेखदेखबाट समेत नसुध्रिएका बाहिर एक्लो जीवनमा सुध्रिन सम्भव नहुने भएकाले यस्तो गल्ती नगर्न उहाँले सुझाव दिनुभयो । उनीहरूमा निन्द्रा नलाग्ने समस्या बढेसँगै मदिरा र लागुऔषध प्रयोग गर्दा थप जटिलता देखिने गरेको उहाँ बताउनुहुन्छ । कतिपय पहिलेदेखि नै अष्ट्रेलिया रहेकामा पनि समस्या आउने गरेको उहाँले जानकारी दिनुभयो । छोराछोरी हुर्किएर परिवार छोडेर काममा लागेपछि बाबुआमामा एक्लोपनासँगै दिक्क लाग्नेजस्ता समस्या लिएर आउने गरेको उहाँ बताउनुहुन्छ । मनोरोगीमध्ये एक प्रतिशत कडाखालको समस्या लिएर आउने गरेको उहाँको भनाइ छ ।

पढ्न जाने विद्यार्थीले आफ्नो कलेजका बारेमा राम्ररी बुझेर पूर्वतयारीका साथ जानुपर्ने उहाँ बताउनुहुन्छ । यसरी समस्या देखिनेमा धेरै महिला हुने गरेका छन् । आत्महत्या गर्ने पुरुष बढी हुने भए पनि आत्महत्याको प्रयास गर्नेमा महिला बढी रहेको उहाँले जानकारी दिनुभयो ।

अष्ट्रेलियाको सिड्नीको एउटा अस्पतालको अवस्थालाई चित्रण गर्दै उहाँले सिङ्गो देश र अन्य यस्तै देशमा यही खालका समस्या हुने भएकाले उच्च सावधानी अपनाउन र बुझेर मात्रै आफ्ना सन्तानलाई विदेश पठाउन सुझाव दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।