धनकुटामा किराँत समुदायको विशेष चाड उधौली भव्यताका साथ मनाइने
धनकुटा । धनकुटामा किराँत समुदायको विशेष चाड उधौली भव्यताका साथ मनाउने निर्णय भएको छ ।
किराँत राई यायोख्खा धनकुटाको आज बसेको बैठकले यही मंशिर २२ गते पर्ने मंशिर पूर्णीमाको दिन किराँत राई समुदायको उधौली पर्व भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
प्रकृती पूजक किराँती समुदायले नयाँवाली भित्र्याईएको खुशियाली र चरा चुरुङ्गी लेकबाट बेँसी तर्फ झर्ने सं केतको रुपमा मनाईने यो पर्वको अवसरमा मंशिर २२ गते पूर्णीमाको दिन धनकुटाको राईकुवा टोल स्थितको साकेला थानमा विधिपूर्वक उधौली पूजाआराधना गरि टुडिखेलमा आई किराँती कलाकारहरुबाट साकेला पापानी नाच नाच्दै उधौली पर्व मनाउने निर्णय भएको किराँत राई यायोख्खा धनकुटाका अध्यक्ष उद्वमणी राईले जानकारी दिनुभयो ।
यो पर्व किराँती समुदायका सुनुवार,राई लिम्बु, याख्खाहरुको बसोबास रहेको क्षेत्रमा मनाउने गरिन्छ । यो पर्वमा किराँती समुदायले आफ्नो पितृलाई स्मरण गरि खेतबारीमा पाकेको अन्नबाली ईस्ट देवतालाई चढाउदै खानका लागि अनुमती माग्ने गर्दछन् ।
सुनुवारले फुलस्यादर,राईले उधौली साकेला,याख्खाले चासुवा र लिम्बुहरुले चासोक तङ्नामको नामले मनाउने गर्दछन् । किराँतीहरुले अन्नबाली लगाउने समय बैशाख पूर्णीमामा उभौली पर्व मनाउने गर्दछन् भने मंशिर पूर्णीमाको दिन उधौली पर्व मनाउने गर्दछन् ।


