नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय नगरपरिषद धनकुटाको अध्यक्षमा शेर्पा सर्वसम्मत चयन
धनकुटा,१८ मंसिर । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय नगरपरिषद धनकुटाको तेस्रो साधारण सभाबाट दालमु शेर्पालाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ ।
त्यस्तै समन्वय परिषदको उपाध्यक्षमा इन्द्र बहादुर लुङगेली मगर, सचिवमा बबि घिसिङ, सहसचिवमा अजयसन्तोषी राई र कोषध्यक्षमा सचेता आठपहरियालाई चयन गरेको छ ।
तेस्रो अधिवेशनको उत्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न जातीय संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


यो पनि…
खोटाङको पम्पिङ खानेपानी आयोजनाको काम दुई महिनामा सक्न ठेकेदारलाई गराइयो कागज
खोटाङ, १८ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम दुई महिनाभित्र पूरा गर्न ठेकेदारलाई कागज गराएको छ । चारपटक म्याद थप हुँदा पनि (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम पूरा नगरेको भन्दै नगरपालिकाले जनप्रतिनिधि, संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रतिनिधि, उपभोक्ता समितिलगायतको उपस्थितिमा ठेकेदारलाई बोलाएर दुई महिनाभित्र काम पूरा गर्न कागज गराएको हो ।
सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी गाउँमा निकाल्न सुरु गरिएको करिब एक अर्वको आयोजना कछुवाको गतिमा अघि बढिरहेको छ । दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्का लिएको दिवा-महादेव खिम्तीलाई १७ मंसिरदेखि १६ माघसम्ममा काम सम्पन्न गर्न कागज गराइएको छ । दिवा-महादेव खिम्तीका प्रोजेक्ट मेनेजर प्रतीक पौडेलले दुई महिनाभित्र दुधकोसीको पानी भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्ने प्रतिबद्धता सहित निर्णयमा हस्ताक्षर गरेका छन् ।
यस्तै, काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा-सगरमाथा घिमिरे जेभीलाई पनि आगामी १६ माघसम्ममा आफ्नो काम सम्पन्न गर्नेगरी कागज गराइएको छ । सोही आयोजनाअन्तर्गत भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लिएको लामा कन्ट्रक्सनका प्रोजेक्ट मेनेजर दिपक गयमरुलाई पनि आगामी १६ माघसम्ममा आफ्नो जिम्माको काम पूरा गर्न प्रतिवद्धता-पत्रमा हस्ताक्षर गराइएको छ ।
दुई महिनाभित्र मुख्य–मुख्य काम पूरा गर्ने र आगामी चैतसम्ममा आयोजनाको सम्पूर्ण काम पूरा गर्न ठेकेदारलाई कागज गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन् । ‘निर्माण व्यवसायीले हरेक महिनाको कामको भौतिक तथा वित्तीय प्रगति विवरण नगरपालिकामा पेस गर्नुपर्नेछ । चैतसम्ममा पम्पिङ आयोजनाको काम सम्पन्न गर्ने भनेर कागज गराइएको छ,’ मेयर राईले भनिन्, ‘निर्माण व्यवसायीले ढिलासुस्ती गर्छ, जनप्रतिनिधिले गाली खानुपरिरहेको छ । तोकिएको समयमा तोकिएको काम पुरा नभए निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया थालिने छ ।’
१७ पुस २०७६ सम्म ३१ करोड ७५ लाख ९६ हजार (भ्याटबाहेक)मा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी दिवा-महादेव खिम्तीले २१ असार २०७४ मा बृहत् पम्पिङ खानेपानी आयोजनाको मेनलाईनको ठेक्का सम्झौता गरेको थियो । यस्तै, ३० असार २०७७ सम्म सक्ने सर्तमा ३१ असार २०७५ मा वितरणलाइनतर्फको कामको सम्झौता गरिएको थियो । रमन सगरमाथा-सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार र लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा वितरणलाईनको ठेक्का लिएको हो ।
गत स्थानीय तहको चुनावयता पम्पिङ खानेपानी आयोजनाको काम ठप्प छ । चारपटक म्याद थप हुँदा दिवा-महादेव खिम्तीले ८३ प्रतिशत काम सम्पन्न गरेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए ।
यस्तै, रमन सगरमाथा-सगरमाथा घिमिरेले ७०.५ प्रतिशत र लामा कन्ट्रक्सनले ७६.५ प्रतिशत काम सम्पन्न गरेको कार्यालयले जनाएको छ । महादेवबेँसी र काभ्रेडाँडाको बिचमा चार लाख लिटरको तीन वटा, तीन लाख लिटरको एउटा र एक लाख लिटरको पाँच वटा ट्यांकी बनिसकेको छ । कदुवा र भुम्जुडाँडाको बिचमा पनि सोही प्रकृतिको ट्यांकी बनिसकेको छ । दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका सातवटा वडाका कम्तीमा तीन हजार ७५६ घरधुरीलाई वितरण गर्ने लक्ष्य राखिएको छ । ठेकेदारले पटक-पटक ढाँट्दै आएकाले नगरले दिएको समयसीमाभित्र आयोजना सम्पन्न हुनेमा विश्वास गर्ने ठाउँ नभएको अनुगमन समितिका संयोजक डिल्ली चाम्लिङले बताए ।


