‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’

दोधारा चाँदनी, २१ मङ्सिर (रासस)ःकञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुग्नुभयो ।

अस्पतालमा बीमा कार्ड देखाउँदै उहाँले निःशुल्क सेवा लिन खोज्नुभयो । तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उहाँलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए । उहाँ रु एक हजार आठ सय बराबरको औषधि खरिद गरेर फर्किनुभयो ।

“स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भन्यो तर अस्पतालमा आउँदा शुल्क लिन्छन्”, उहाँले भन्नुभयो, “ सहुलियत नपाउने बीमा गरेर के फाइदा ।” उहाँसँगै अस्पतालमा भेटिनुभएका जानकीदेवी भट्टले पनि स्वास्थ्य बीमाको सहुलियत औषधि नपाएको गुनासो गर्नुभयो । उहाँले बीमा गराउँदा सरकारी अस्पतालमा उपचार र औषधि निःशुल्क मिल्ने बताए पनि सेवा लिन नपाएको गुनासो गर्नुभयो ।

“बीमा गरेको कार्ड देखाउँदा कहिले औषधि छैन भन्छन्, कहिले शुल्क लिन्छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा गरेवापतको सेवा हामीले पाउनुपर्छ ।” उपचारकै लागि अस्पतालमा पुग्नुभएका भीमदत्त नगरपालिका–६ का कविराज भट्ट पनि स्वास्थ्य बीमा कार्यक्रमको निःशुल्क औषधि नपाएको बताउनुहुन्छ । “हामीलाई आवश्यक औषधि अस्पतालमा पाइँदैन जहिल्यै अभाव छ भन्नुहुन्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा गरेपछि एकपटक पनि सेवा लिन पाएको छैन ।”

स्वास्थ्य बीमा कार्यक्रम सरकारले स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत ल्याएको जनाइएको छ । सामाजिक सुरक्षा कार्यक्रम भए पनि प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।

महाकाली प्रादेशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले स्वास्थ्य बोर्डले बीमावापतको भुक्तानी समयमै नगरिदिँदा समस्या हुने गरेको बताउनुभयो । “बोर्डले समयमै अस्पताललाई भुक्तानी गर्दैन हामीले पनि औषधि खरिद गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अस्पतालले गरेको बोलपत्र आह्वानमा कतिपय औषधि परेनन् त्यसले पनि औषधि नपाएको हुनसक्छ ।” उहाँले अस्पतालले केही दिनभित्रै दोस्रो बोलपत्र आह्वान गरेर औषधि खरिद गर्ने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले बीमा बोर्डले तोकेका ८० प्रकारका औषधिबाहेकका अन्य औषधि पनि माग हुने गरेका कारण सेवाग्राहीले सेवा नपाएको गुनासो गर्ने गरेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖