स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

काठमाडौँ, १९ पुस (रासस)ःरौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो ।

उहाँले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ ।

चिसोले पूर्वी नवलपरासीको जनजीवन प्रभावित
कावासोती, १९ पुस (रासस):
पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । सधैँजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका कावासोतीका व्यवसायी नारायणपसाद भुर्तेलले बताउनुभयो

साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार संसाँझै सुनसान हुन थालेका छन् । यद्यपि न्याना कपडाका पसलमा भने ग्राहकको भीड बढेको उहाँले जानकारी दिनुभयो । सडकपेटीमा कपडाको व्यापार बढेको देखिन्छ उहाँका अनुसार स्थानीयवासीले न्याना लुगा जोहो गर्न थालेका छन् ।

बाक्लो हुस्सु र शीतका कारण पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन पनि प्रभावित भएको छ । कठ्याङ्ग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारीसाधनको आवागमनमा असर परेको हो । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न नसकिँने नारायाणघाट–कावासोती रुटमा चल्ने बसका चालक मनोज महतोले बताउनुभयो । यसले गर्दा दुर्घटनाको जोखिम बढेको उहाँको भनाइ छ ।

चिसोकै कारण जिल्लामा बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । एकाएक बढेको चिसोसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेट डा जितेन्द्र कँडेलले बताउनुभयो । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पु¥याउनुपर्ने उहाँको सुझाव छ ।

बढ्दो चिसोका कारण खेतीबालीमा समेत असर पर्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । खेतबारीमा लगाएका मुसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्षरूपमा चिसोबाट प्रभावित भएको कावासोती–११ का किसान हाँसीराम महतो बताउनुभयो ।

आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरूपमा भइरहे पनि बर्सेनि चिसोको प्रकोपबाट यी बाली जोगाउन किसानलाई मुस्किल हुने गरेको छ । यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लास्टिको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायत तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले विषादी पनि छर्किने गरेका छन् । यस्तो अवस्थामा विषादी प्रत्येक सात–आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक–पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरूलाई बाली जोगाउनै मुस्किल छ ।

रातिको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने हुँदा ढुसी सक्रिय हुन गई बोटमा चिसोकोे सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा चिसोको सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।