गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

चन्द्रकला भण्डारी/झापा, २१ पुस (रासस) ः नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ बेवारिसेजस्तै बन्न पुगेको थियो । पञ्चायतकालमै निर्मित वरिपरिको पर्खाल हावाहुरी र भुइँचालोले भत्किएपछि मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिएको थिएन । दर्शक बस्न बनाइएका प्यारापिट उप्किएर र रङ खुइलिएर उराठ भइसकेका थिए ।

बेवास्ता र दूरावस्थाबाट यसरी गुज्रिरहेको रङ्गशाला फागुनको दोस्रो साता फुटबलको अन्तर्राष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएपछि काँचुली फेरिने प्रक्रियामा छ । अठार वर्षपछि आयोजना हुने भद्रपुर झापा गोल्डकप प्रतियोगिताका लागि गठित आयोजक समितिले सबैभन्दा पहिला रङगशालाको जीर्णोद्धार थालेको छ ।

झापाको साविक सदरमुकाम चन्द्रगढीको मेची रङ्गशालामा यतिबेला खेलप्रेमी र खेलाडी मात्र होइन, स्थानीय सरकारको हैसियतको रुपमा रहेको भद्रपुर नगरपालिका नै सम्पूर्णरुपमा रङ्गशालाको चमक ब्युँताउने अभियानमा जोडिएको छ । “कुनै बेला यो रङ्गशाला मुलुकभरिका खेलाडीले कौशल देखाउने मेची अञ्चलकै प्रमुख खेलमैदानको रुपमा चिनिएको थियो”, भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले भन्नुभयो, “हामीले त्यो इतिहासको गौरवलाई फर्काउन सबैभन्दा पहिला रङ्गशालाको मुहार फेर्ने काम गरिरहेका छौँ ।”

अध्यक्ष ढकालसहित समितिका पदाधिकारी दिनभरि रङ्गशालाको मैदानमा घाँस रोपिरहेका र प्यारापिटमा रङरोगन गरिरहेका भेटिन थालेका छन् । समितिको महासचिव रहनुभएको भद्रपुर नगरपालिकाको निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठसमेत रङ्गशाला मर्मतसम्भार अभियानमा खटिने गर्नुभएको छ ।

श्रेष्ठले आफ्नो कार्यकालमै रङ्गशालाको मुहारमा चमक ल्याउने सोचेको तर कोरोना महामारी र मुलुकको राजनीतिक अस्थिरताले सम्भव नभएको बताउनुभयो । रङ्गशालाको मैदान सम्याएर घाँस रोप्ने कार्य सम्पन्न भइसकेको र प्यारापिट रङ्ग्याउने काम अन्तिम चरणमा रहेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

अठार वर्ष अघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण आयोजना भएयता अरु कुनै फुटबलको गोल्डकप मेची रङ्गशालामा आयोजना भएका छैनन् । यही कारण लामो अन्तरालमा हुन लागेको प्रतियोगितालाई सफल बनाउन रङ्गशालालाई सिँगार्नु परेको खेलप्रेमी तथा भद्रपुर वडा नं ८ का वडाध्यक्ष मनोज सुब्बा बताउनुहुन्छ ।

“कुनै बेला भद्रपुर नेपालकै प्रमुख नगरमा गनिन्थ्यो”, वडाध्यक्ष सुब्बा भन्नुहुन्छ, “भद्रपुरको गौरव फर्काउने हो भने मुख्य पहिचानको रुपमा रहेको रङ्गशालालाई आकर्षक र चलायमान बनाउनुपर्छ भन्नेमा भद्रपुरवासीको साझा मत छ ।”

भद्रपुरको रङ्गशाला सुस्ताएपछि विर्तामोड, कनकाई, काँकडभिट्टा र दमकतिर फुटबलको प्रतियोगिता हुन थालेका थिए । खेल क्षेत्रमा पूर्वाधार भएर पनि पछि परेको पीडा बोकेका भद्रपुरका खेलप्रेमी यसपालि सर्वाधिक पुरस्कार राशि राखेर अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको तयारीमा जुटेको आयोजक समितिका अध्यक्ष ढकालले बताउनुभयो ।

भद्रपुर डेढ दशकअघिसम्म फुटबलको केन्द्रजस्तै थियो । राष्ट्रिय फुटबल टिमका कप्तान रहिसकेका हरि खड्का भद्रपुरकै हुनुहुन्छ । उहाँ मेची रङ्गशालामै खेल अभ्यास गर्दागर्दै मुलुकको चर्चित खेलाडी बन्नुभयो । तर, यहाँ चार दशक अघि सुरु भएको त्रिभुवन गोल्डकप २०६१ सालयता एकपटक पनि आयोजना हुन सकेन ।

भद्रपुरले इतिहास ब्युँताउँदै फुटबल प्रतियोगिता आयोजनाको तयारी थालेपछि झापा विर्तामोडमा बर्सेनि हुँदै आएको झापा गोल्डकपले आफ्नो यसवर्षको कार्यक्रम स्थगित गरेर भद्रपुरलाई सघाउने घोषणा गरेको छ । भद्रपुर गोल्डकप एउटा फुटबल उत्सव मात्रमा सीमित रहेन अब । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल अहिले नागरिकस्तरबाट गोल्डकपका पक्षमा देखिएको उत्साहजनक सहयोगलाई भद्रपुरकै विकासको पुनर्जागरणको रुपमा लिनुहुन्छ । “मेची रङ्गशालाको जीर्णोद्धारबाट सुरु भएको भद्रपुरवासीको उत्साहलाई ऊर्जा मानेर हामी यस क्षेत्रको समृद्धि अभियानमा सबैलाई जोड्न तत्पर छौँ”, नगरप्रमुख पोखरेल भन्नुहुन्छ, “भद्रपुरमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने जुन निरासा वर्षौंदेखि थुप्रिएको थियो, अहिले त्यसको अन्त्य भएर रङ्गशालाको काँचुली फेर्ने कार्यबाट जनजनमा उत्साह जागृत भएको छ ।”—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖