चैते दशैको अवसरमा निशान भगवती मन्दिरको मौलो परिवर्तन
धनकुटा,१५ चैते । चैते दशैको अवसर पारेर धनकुटा सदरमुकाममा रहेको ऐतिहासिक निशान भगवती मन्दिरको मौलो परिवर्तन गरिएको छ । चैत्राष्टमीको अबसरमा श्री जंगी निशान भगवतीको मौलो नेपाली सेनाले शुभ साइतमा बिशेष पुजा गरि परिवर्तन गरिएको हो ।
निशान भगवतीको स्थापना १९ औ शताब्दीमा भएको मानिन्छ नेपाली सेनाका पुजारीले तथा स्थानियले यस मन्दिरमा दैनिक पुजा आरधना गर्ने गर्दछन् भने नेपाली सेनाले बडादशै, चैते दशै लगायतका अबसरमा बिशेष पुजा गर्ने प्रचलन रहि आएको छ ।
यो पनि..
विन्ध्यवासिनीमा भक्तजनको घुइँचो
कास्की, १५ चैत (रासस): पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दसैँ पर्वका अवसरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।
मन्दिर दर्शन र पूजाआजाका लागि श्रद्धालुभक्तजन बिहान ४ बजेदेखि लामबद्ध थिए । मन्दिरमा पूजाका लागि नेपालीका साथै भारतबाटसमेत भक्तजन सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।
मन्दिरमा लाइनमा बस्न नसक्नेहरुले बाहिरबाटै दर्शन तथा टीका ग्रहण गरिरहेका जानकारी दिँदै उक्त समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले चैते दसैँको अवसर पारी टाढाटाढाबाट आएका भक्तजनले श्रद्धापूर्वक दर्शन गरिरहेको उल्लेख गर्नुभयोे । पछिल्लो समय भारतीय भक्तजनको सङ्ख्या बढेको र उनीहरु विन्ध्यवासिनी मन्दिर दर्शन गरेर मुक्तिनाथसम्म पुग्ने गरेका छन् । अधिकारीका अनुसार बिहीबार रामनवमी दिन बिहान ८ देखि ११ बजेसम्म मर्यादा पुरुषोत्तम श्रीरामका बारेमा स्वामी डा यतिराज आचार्यबाट विशेष प्रवचन हुनेछ ।
विन्ध्यवासिनीसँगै तालबाराही, भद्रकाली, लामाचौरको अकला मन्दिरलगायत धार्मिकस्थलमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।


