धनकुटामा अवस्थित रहस्यमै रहेको एक अनौठो ओडार(भिडियो)
धनकुटा । आज हामी धनकुटा नगरपालिका वडा नम्बर दुइ सुन्तले स्थित सल्लेरी सामुदायिक वनभित्र एक अनौठो ओडारमा जादैछौ । जहाँ ओडारमै एक घर निर्माण गरिएको छ । तर त्यो घर कहिले कसले र किन निर्माण गर्यो भन्ने अहिले सम्म पत्ता लाग्नसकेको छैन ।
बरिपरि जंगल छ । जंगलको बिचमा एक पहरामा ओडार छ । जमिन देखि करीब ७ मिटर माथि ओडारको दुइ ढुङ्गा बिचमा थप साना साना ढुङ्गा र माटोको सहायताले पाँच छ ब्याक्ति अटाउने गरि घर निर्माण गरिएको छ । त्यहा सम्म पुग्न सखुवाको खाँबो खुर्किएर एक सिढी निर्माण गरिएको छ । निकै पुरानो जस्तो देखिने यो दृष्य धनकुटा नगरपालिका वडा नम्बर दुइ पञ्चकन्या स्थित सल्लेरी सामुदायिक वनभित्रको हो । हालसम्म कुनै लिखित इतिहास नभएको र किंवदन्ती मात्र भएको उक्त जङ्गल भित्रको ढुङ्गाको ओडारमा निर्मित घर कसले कहिले र किन बनायो भन्ने कौतुहलता स्थानियको मनमा मात्र नभएर त्या पुग्ने जो कोहीको मनमा उठ्छ । आफ्ना पिता पुर्खाकै पाला देखि यस्तै रहेको स्थानियको भनाई छ । स्थानियले पञ्चकन्या मानेर पुजा गर्दै आएका छन् ।
सो अनौठो घर भित्र अहिले पनि विभिन्न आकारका मानव अस्थिपञ्जर रहेका छन् । केहि समय अघि सम्म बिभिन्न गरगहना सिमाला लगायतका बस्तु पनि अस्थिपञ्जर संगै रहेको स्थानियको भनाई छ तर द्धन्द्धताका ति गरगहना हराएको स्थानियको दाबि गरिन्छ । त्यहा भएको लामो कपाल र टाउकोको खवटो समेत हराएको स्थानियको दाबि छ । माटोले लगाएको गाहेको माटो पनि सुकेर पथ्थर झै भइसकेको छ । सिढी पनि धेरै पुरानोझै देखिन्छ । सोहि स्थानका रण बहादुर बस्नेतले परापूर्वकालमा पाँच कन्यालाई कतै वाट सत्रुले लखेटे पछि पाँच कन्या आएर सो घर बनाई बस्ने गरेको कुरा आफूले सुन्दै आएको जानकारी दिनुभयो ।
सो स्थानलाई स्थानियले पञ्चकन्याको रुपमा बैसाखे पुर्णिमामा स्थानिय भेला भएर बर्षेनी नियमित पुजा गर्दै आएका छन् । करिब बि.स. १८०० ताकावाटै सो स्थानमा पुजा हुदै आएको स्थानिय बताउछन् । मनोकाक्षा पुराहुने तथा बस्तुभाउ हराएमा सो स्थानमा भाकल गर्दा हराएको बस्तुभाउ अहिले पनि फर्किएर आउने गरेको स्थानियको बिश्वास छ । यो क्षेत्रमा पुर्बाधार निर्माण संगै यसको अध्यायान हुनुपर्ने स्थानिय तथा सो अबलोकनको लागि आउनेले माग गर्दै आएका छन् ।
ओडार भन्दा करीब दुई सय मिटर माथि धनकुटा सुन्तले कृषि सडक छ । तर सडक देखि सो ओडार सम्म पुग्न भने कुनै बाटो नै छैन । सुन्तले गाँउवाट साढे चार दशक अघि पञ्चायतकालमै निर्माण गरिएको गोरेटो बाटो मार्फत त्यहाँ सम्म पुग्नु पर्ने हुन्छ । ओडार सम्म पुग्न बालबालिका तथा बृद्धबृद्धालाई असम्भब झै हुन्छ ।


