धनकुटा बजारमा तार व्यवस्थापनको काम सुरु
धनकुटा,२१ चैत । धनकुटा बजारको मदनचोक देखि परिचयमोड क्षेत्रमा बिजुलीका पोलमा अव्यवस्थित रुपले झुन्ड्याइएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोन लगायतका तार तथा उपकरणहरुलाई व्यवस्थित गर्ने अभियान सुरु गरिएको छ ।
धनकुटा नगरपालिका वडा नं ७ को सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरुको सहभागितामा धनकुटा बजार क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरुलाई हटाउने र व्यवस्थापन गर्ने तथा विजुलीको नाङ्गो तारलाई हटाएर एल.टि. ए.वि.सि तार लगाईने विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रहलाद पोखरेलले जानकारी दिनुभयो ।
बजार क्षेत्रमा विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण बजार कुरुप बनेको भन्दै अव्यवस्थित तार हटाउने अभियान थालिएको वडाध्यक्ष रोषेश श्रेष्ठले बताउनुभयो ।
विद्युत सर्ट भई आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र शहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभी र इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्नो संरचना निर्माण÷व्यवस्थापन गर्न अनुरोध गरिएको र सोही अन्तर्गत बजार क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरु हटाउन सुरु गरिएको उहाले जानकारी दिनुभयो ।


