धनकुटामा प्रथम कोप्चे फेष्टिवल आयोजना हुने
धनकुटा,२८ चैत । धनकुटा सदरमुकाममा रहेको कुनै समयको अत्यन्तै चर्चित र व्यापारिक क्षेत्र कोप्चे क्षेत्र र पेरिफेरी तथा “कोप्चे पुनर्जागरण अभियान” का बारेमा आम नागरिकलाई जानकारी प्रदान गर्ने र ऐतिहासिक ,सास्कृतिक तथा प्राकृतिक मौलिकताको संरक्षण र प्रबद्र्धन गर्ने उद्येश्यले प्रथम कोप्चे फेष्टिवल आयोजना हुने भएको छ ।
नयाँ बर्षको अवसर पारेर २०८० बैशाख १ देखि ३ गते सम्म धनकुटा नगरपालिका वडा नं ५ विहिबारे हटियामा प्रथम कोप्चे फेष्टिवल आयोजना हुन लागेको आज पत्रकार सम्मेलन गर्दे जानकारी दिइएको छ । मौलिक नेवारी र आठपहरीया कला ,सस्कृति ,भेषभुसा , रहनसहन ,खानाको संरक्षण र प्रवद्र्धननार्थ फेष्टिवल आयोजना हुन लागेको जनाइएको छ ।
“कोप्चे पुनर्जागरण अभियान” को आयोजना तथा सामाजिक विकासका लागि युवाहरुको प्रयासको संयोजनमा आयोजना हुन लागेको प्रथम कोप्चे फेष्टिवलमा “मौलिकता संरक्षण , पर्यटन प्रबद्र्धन” भन्ने मुल नारा रहेको आयोजकले जनाएको छ । फेष्टिवलमा सबै क्षेत्रलाई समेटेर १५ वटा स्टल रहने र करिव २० हजार आन्तरीक तथा बाह्य पर्यटन भित्राउने लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।
नेवारी र आठपहरीय जातिको सस्कृतिक नृत्य तथा संगित प्रस्तुत हुने फेष्टिवलमा करीब ६ लाख रुपैया खर्च हुने आयोजक समितिका संयोजक रिजन पोखरेलले जानकारी दिनुभयो ।



