अभिभावक विहिन नाबालकद्वारा सहयोगको अपिल
नारायण कुमार राई/धनकुटा,२ बैसाख । कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा गम्भिर घाईते भएका धनकुटा नगरपालिका वडा नं.२ का १७ बर्षिया बिवेक राईले उपचारका लागि सहयोगको याचना गरेका छन् ।
११ बर्ष अघि आमा निशा राईको स्वर्गारोहण भएको र बुवा हर्कबहादुर राई समेत १४ बर्ष अघिबाट बैदेशिक रोजगारबाट समपर्क बिहिन भएकाले उनको उपचारमा समस्या भएको हो ।हाल छथर जोरपाटी गाउँपालिका वडा नं. ५ को तेलियामा आफ्नो फुपुकोमा बस्दै आएका राईको चैत्र ११ गते सोही ठाउँमा रहेको रमेश थापाले सञ्चालन गरेको मिलमा काम गर्ने क्रममा दुर्घटनामा परेका थिए ।
अण्डाकोषमा गहिरो चोट लागेका राई आफन्त र सञ्चालक थपाको सहयोगमा धरान स्थित बि.पी.मेमोरियल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचार पछि ध.न.पा. ५ बालमन्दिर स्थित बडीआमा धनकुमारी राईको घरमा फर्किएका छन् ।
प्रारम्भिक एक लाख ५० हजार खर्च गरेर फर्किएका राईको छुट्टिएको अण्डाकोष जोड्न अर्को अपरेशन गर्न आर्थिक अभाव भएको बडिआमा राईले जानकारी दिनुभयो ।
मिल सञ्चालक थापाले राईको उपचारमा खर्च भएको रकमको आधा बेहोर्ने भनेपनि थप रकमको अभाव रहेको उहाँले जानकारी दिनुभयो ।‘अपरेशन गर्न कति पैसा लाग्छ भनेर डाक्टरहरुले पनि भन्न सकेका छैनन् ।’ राईले भन्नुभयो ।
अपरेशनको रकमका लागि पिडितले सबै संग सहयोगको अपिल गरेका छन् ।यसै क्रममा हाल साउदीमा रहेका ध.न.पा.८ सान्ताङ खाम्बेलाका रामबहादुर राईले पिडित राईलाई ३५ हजार एक सय ८० रुपैंया आर्थिक सहयोग गरेका छन् ।
राईलाई उनीकी पत्नी सन्जिता राईले ध.न.पा.वडा नं.८ का वडा अध्यक्ष रसबहादुर राईको उपस्थितिमा पिडित राईलाई नगद हस्तान्तरण गर्नुभयो ।



