धनकुटामा तीन सडक आयोजनाको काम तीव्र

भोजपुर, ८ जेठ (रासस) : पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू ५६ करोड ५२ लाख सम्झौता लागतमा उक्त सडक कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कालोपत्रको काम यही असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

कार्यालयका अनुसार कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी १० किलोमिटर सडकको ७० प्रतिशत काम सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको रू २९ करोड ७२ लाख लागतमा यो सडक निर्माण थालिएको हो । त्यस्तै, यही सडक खण्डअन्तर्गत निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडकको काम पनि तीव्र गतिमा भइरहेको छ । प्रदेश सरकारको रू २२ करोड ७० लाख लागतमा निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडकको हालसम्म ७० प्रतिशत भौतिक प्रगति रहेको कार्यालयले जनाएको छ । यसलाई पनि यही वर्षभित्र कालोपत्र गर्ने गरी काम भइरहेको कार्यालयका प्रमुख राजेश्वर महतोले जानकारी दिनुभयो ।

निर्माण भइरहेका यहाँका सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेर निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशनसमेत दिएको छ । “योजना सञ्चालनका क्रममा देखिएका समस्या समाधानका विषयमा निर्माण कम्पनी तथा स्थानीय सरोकारवाला पक्षसँग आवश्यक छलफलसमेत गरेका छौँ”, उहाँले भन्नुभयो ।

“हामीले सञ्चालन गरेका योजनालाई तोकिएको मापदण्डअनुसार समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ”, महतोले भन्नुभयो, “यहाँ सञ्चालन भइरहेका योजनाको काम तीव्रगतिमा अघि बढेको छ । एउटा सडकको कालोपत्र सुरु गरेका छौँ । अन्य दुई सडक निर्माण पश्चात् केही समयमा कालोपत्र सुरु गर्ने लक्ष्य छ ।”

बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडकअन्तर्गत आयोजनाको काम निर्माण कम्पनीले तीव्रगतिमा अघि बढाए पनि बजेट अभावका कारण सम्झौता रकम भुक्तानी दिन समस्या रहेको प्रमुख महतोले बताउनुभयो । प्रदेश सरकारबाट आवश्यक पर्ने बजेट समयमा नआउँदा भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । “यो सडक निर्माणको काम तीव्रगतिमा भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले गरेको कामको समयमा भुक्तानी दिन सकिरहेका छैनौँ । प्रदेश सरकारबाट आवश्यक बजेट आएको खण्डमा यो काम समयमा सम्पन्न हुनेछ ।”

कालोपत्र भइरहेको उक्त सडकको नियमित अनुगमन तथा कोर कटर मेसिनका माध्यमबाट ल्याब परीक्षण गर्ने काम भइरहेको कार्यालयका ल्याब टेक्निसियन रिपु पण्डितले जानकारी दिनुभयो । स्थानीय तथा विषेशज्ञको उपस्थितिमा प्वाल पारेर सडकको गुणस्तर परीक्षण गरिरहेको उहाँले बताउनुभयो । सडक ‘आस्फाल्ड’ प्रविधिमा चार सेन्टिमिटर मोटाइमा कालेपत्र भइरहेको पण्डितको भनाइ थियो । “हामीले यसको गुणस्तरमा विषेश ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो, “कालोपत्र भएको चार ठाउँमा परीक्षण गर्दा आवश्यक मापदन्डअनुसार नै निर्माण भएको छ । कतिपय ठाउँमा चारको ठाउँमा सात सेन्टिमिटरसम्म मोटाइ छ । निर्माण कम्पनीले हाम्रो प्रत्यक्ष निग्रानीमा कालोपत्र गरिरहेको छ ।”

मापदण्डअनुसार समयमा सम्पन्न गर्ने लक्ष्यले काम गरिरहेको निर्माण कम्पनी शर्मा, भिमेश्वर भेजीले जनाएको छ । विसं २०७७ देखि निर्माण सुरु भएको सडक यही असारभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । हाल निर्माण भइरहेको २३ किलोमिटर सडकको अन्तिम बिन्दु तेलियादेखि–ओख्रे–ताम्लिङ सडकखण्डको कालोपत्र भइरहेको कम्पनीका प्रतिनिधि अर्पेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो । सडकको स्टरचर, सवबेस पूर्णरुपमा र १० किमी सडकको बेसको काम सकिएको उहाँको भनाइ छ । वर्षात्ले समस्या हुने भएकाले पहिलो चरणमा यो खण्डको काम सकेर अर्को चरणमा कालोपत्र सुरु गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

“सडक निर्माण निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिहेका छौँ”, अधिकारीले भन्नुभयो, “निर्माणका क्रममा आकस्मिक समस्या आएन र कार्यालयले समयमा भुक्तानी दियो भने असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । यदि वर्षात्ले असर पु¥यायो भने असोज महिनाभित्र जसरी पनि सम्पन्न गर्छौं ।” यो सडकखण्डको दैनिक सात सयदेखि नौ सय मिटरसम्म एकतर्फी कालोपत्र भइरहेको उहाँले जानकारी दिनुभयो ।

हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेनी १० किलोमिटरमध्ये यस आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र हुने कार्यालयले जनाएको छ । उक्त सडकखण्डको आवश्यक स्टक्चरको काम सम्पन्न गरेर कालोपत्रको काम चरणमा रहेको निर्माण कम्पनी रायामाझी, आजात जेभीका प्रमुख प्रेमकुमार मल्लले जानकारी दिनुभयो । “यो सडकको आवश्यक स्टक्टरको काम सकिएको छ”, उहाँले भन्नुभयो, “अबको एक हप्तापछि कालोपत्र सुरु भई नौ महिनाभित्र पूर्णरुपमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।” हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेनी सडक विसं २०७८ असोजदेखि निर्माण थालिएको निर्माण कम्पनीले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयअन्तर्गत निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडक पनि यही वर्ष कालोपत्र सुरु हुने जनाइएको छ । कालोपत्रको काम असारसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनी रमन दिव्यज्योति रोजन जेभीले जनाएको छ । हालसम्म ७० प्रतिशत भौतिक प्रगति रहेको निर्माण कम्पनीका इञ्चार्ज अरुणप्रसाद थपलियाले जानकारी दिनुभयो । “यो सडक निर्माणको काम तीव्र गतिमा अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “वर्षात्का कारण केही समस्या भइरहेको छ । मौसमले साथ दियो भने असारसम्म कालोपत्रको काम सक्छौँ ।” यो सडक पनि ‘आस्फाल्ड’ प्रविधिबाट साढे पाँच मिटर चौडाइ र चार सेन्टिमिटर बाक्लो कालोपत्र हुने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।