जन्मदिनमा टंक माविका शिक्षक-विद्यार्थीले गर्छन् दान पेटीकामा रकम संकलन
शर्मिला राई/धनकुटा । हामीले जीवनमा धेरै खुशीका दिनहरु मनाईरहेका हुन्छौ । त्यसरी हामीले मनाउने खुशीका धेरै दिनहरु मध्येको एक हो जन्मदिन । जन्मदिन पनि सबैले आ आफ्नो ईच्छा अनुसार, कसैले के गरेर त कसैले के गरेर । फरक फरक तरिकाले मनाई रहेका हुन्छौ । धेरै जसोले भने आफ्नो जन्म दिनमा केक काटेर परिवार र साथिभाईहरुसँग खुशी साटासाट गर्दै मनाएको पाईन्छ तर धनकुटाको एक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले भने आफ्नो जन्मदिनमा दानपेटिकामा सहयोग रकम जम्मा गरेर मनाउने गरेका छन् ।
धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं २ भिरगाउँमा अवस्थित श्रीमान टंक माद्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले विगत तीन वर्षदेखी विद्यालयमा राखिएको दान पेटिकामा स्वेच्छिक रुपमा सकेको रकम जम्मा गर्दै जन्मदिन मनाउदै आएका हुन् । २०७७ साल भाद्र १० गते शिक्षक सरोज दाहालले आफ्नो जन्म दिनको अवसर पारेर विद्यालयमा जन्मदिन दान पेटिका प्रदान गरे पश्चात् त्यस विद्यालयका शिक्षक विदार्थीहरुले आ आफ्नो जन्मदिनमा आफुले सकेको सहयोग रकम जम्मा गर्दै आईरहेका छन् । यसरी जन्मदिनमा जम्मा गरिएको रकमले विद्यालयमा आवश्यक सामाग्रीहरु जस्तै विदार्थीका लागि जर्सी, स्टेचर लगायतका आवश्यकीय सामाग्रीहरु खरिद गरिदै आएको छ ।
विद्यालयका अनुसार जन्मदिनको अवसरमा विद्यालयका शिक्षक विद्यार्थीबाट दान पेटिकामा संकलित रकमबाटै विभिन्न समयमा विद्यालय अंकित ११ थान जर्सी,एक थान स्टेचर समेत खरिद गरिएको छ । यतिमात्र नभई यसरी संकललित रकमले विद्यार्थीहरुलाई आईपर्ने आपत्कालिन अवस्थामा सहयोग गरिदै आएको छ । एक एक जनाबाट थोरै थोरै रकम भएपनि जम्मा गरि विद्यार्थीहरुकै हितमा लगानी गर्ने र सहयोगी भावनाको समेत विकास गर्ने लक्षका साथ थालिएको यो कार्यले भड्किलो पश्चिमा संस्कृतीको देखासिकीको ९नक्कल० लाई निरुत्साहित गरेको विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्वकर्माको भनाई छ । साथै जन्मदिनको अवसरमा ठूूला ठूूला पाटीको आयोजना गर्नपर्ने, महंगा उपहार खरिद गर्न पर्ने जस्ता कुरालाई पनि निरुत्साहित गर्दै दानपेटिकामा संकलित रकम त्यो भन्दा बढी महत्वपूर्ण कार्यमा उपयोग गर्ने गरिएको उहाँले वताउनुुभयो ।
मधुगंगा वाल क्लवबाट सञ्चालित दानपेटिकामा संकलित रकम विविद्यालयका प्रधानाध्यापक,सहायक प्रधानाध्यापक,वालक्लव संरक्षक,शिक्षक तथा क्लवका पदाधिकारीको रोहवरमा दान पेटिका खोल्ने गरिएको छ । यसको संरक्षक प्रधानाध्यापक विश्वकर्मा रहनुभएको छ भने परिचालन संरक्षक शिक्षक सरोज दाहाल रहनुभएको छ ।







