विभिन्न जातजातिको साँस्कृतिक भेषभुषा लगाएर विद्यालय आउन थाले श्री मान टंक माविका बिद्यार्थी
शर्मिला राई/धनकुटा । विभिन्न रचनात्मक,सिर्जनात्मक र नौलो कार्य गर्दै विद्यार्थीहरुलाई शिक्षा दिदै आईरहेको धनकुटा नगरपालिका २ स्थितको श्री मान टंक माद्यमिक विद्यालयले शुक्रवारदेखी फेरि अर्को नयाँ कार्यको शूरुवात गरेको छ । यो विद्यालयका शिक्षक विदार्थीहरुले शुक्रवारबाट प्रत्येक महिनाको पहिलो दिन (१ गते) विभिन्न जातजातीको साँस्कृतिक भेषभुषा लगाएर विद्यालय आउन थालेका हुन् ।
नेपालमा बसोवास गर्ने विभिन्न जातजातीको लोप हुँदै गएको साँस्कृतिक भेषभुषाको संरक्षण, प्रवद्र्धन गर्ने लक्षका साथ यस्तो गरिएको विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्कर्माले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीहरुको आचार संहिता निर्माणको क्रममा विद्यार्थीहरुकै आग्रह अनुसार यो कामको शूरुवात गरिएको प्रधानाध्यपक विश्कर्माको भनाई छ । आगामी दिनमा यसको प्रभावकारितालाई हेरेर साप्ताहिक रुपमा प्रत्येक हप्ताको बुधवार विद्यालयमा आधा दिन मात्र पढाईहुने (हाफछुट्टि) को दिन यसरी नै साँस्कृतिक भेषभुषामा विद्यालय आउने नियम बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
आज शूरुको दिन यसरी साँस्कृतिक भेषभुषामा विद्यालय आएका विद्यार्थीहरु निक्कै उत्साहित देखिएको विद्यालयले जनाएको छ । यसअघि यो विद्यालयका शिक्षक विद्यार्थीहरुले दानपेटिकामा सहयोग रकम संकलन गरेर आफ्नो जन्म दिन मनाउने, गाउँघरमै उत्पादित फलफुल तथा खाद्यान्न विद्यालयमा खाजाको रुपमा उपभोग गर्ने लगायतका कार्यहरु गर्दै आईरहेका छन् ।











