धनकुटामा रोजगार मेलाः बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट(फोटो फिचर)

धनकुटा, २ असार । धनकुटामा शनिवार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउँन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने मेला आयोजना गरेको हो ।

कोशी प्रदेश सभा सदस्य निरन राईले मेला उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै प्रदेश सभा सदस्य राईले बेरोजगार जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको रोजगार मेला निकै फलदायी हुने विश्वास व्यक्त गरे । सबै किसिमको कामलाई सम्मान गर्नुपर्ने भन्दै उनले कामका आधारमा कसैलाई पनि विभेद गर्न नहुने धारणा राखे । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले तीनै तहको सरकार मिलेर व्यवसायीक शिक्षा मार्फत रोजगारमूलक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन भएमा रोजगारीको सुनिश्चितता हुने भएकाले सोही अनुसार जनशक्ति उत्पादनमा ध्यान दिन उनको सुझाव छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखेर उद्यमशीलतासँगै रोजगारी वृद्धि गर्दै अघि बढ्ने धारणा राखे । मेलामा आवेदन दिएका युवायुवतीलाई थप सीप सिकाएर दक्ष बनाउँन नगरपालिकाले सहयोग गर्ने उनले जानकारी दिए । धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी, सामाजिक विकास मन्त्रालयका शिक्षा योजना तथा अनुसन्धान महाशाखा प्रमुख कृष्णप्रसाद पोख्रेल, धनकुटा बहुमुखी क्याम्पस प्रमुख होमबहादुर बस्नेत, उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, समृद्धि आयोजनाका जीवन श्रेष्ठ लगायतले बेरोजगार युवायुवतीलाई रोजगारीको वातावरण निर्माण गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।

रोजगार प्रदायक, तालिम प्रदायक, परामर्शदाता र उद्यमका १५ स्टल राखिएको मेलामा बेरोजगार व्यक्ति र रोजगारदाताको जमघट थियो । रोजगारदाता ५३ संस्थाले मासिक ७ हजारदेखि ४५ हजारसम्म तलब सुविधा दिने गरी १७० जना कर्मचारी मागसहित मेलामा विवरण बुझाएका छन् । होटल, पशुपालन, चियाखेती, सवारी, ग्रिल लगायत क्षेत्रका उद्योग व्यवसायले कर्मचारी माग गरेका छन् । यता, रोजगारीको खोजी र तालिम माग गर्दै ४५५ जना व्यक्ति सम्पर्कमा आएका छन् । उनीहरूलाई रोजगारदाताहरूसँग सम्पर्क गराएर रोजगारीका लागि सहजिकरणको काम थालिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोग तथा हेल्बेटासको प्राविधिक सहयोगमा आयोजित मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा र सीपमुलक तालिम दिने संस्थाको बारेमा पनि जानकारी गराइएको छ । धनकुटामा पहिलो पटक आयोजना गरिएको रोजगार मेलामा स्थानीय उद्योगका उत्पादनहरू पनि प्रदर्शनीका लागि राखिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।