सुनिलबाबुको अवैधानिक कार्यक्रम मन्त्री र राजदूतद्वारा वहिष्कार
लन्डन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अवैधानिक रुपमा आयोजित एनआरएनए युकेको एक कार्यक्रम वहिष्कार गरिदिएका छन् ।
एनआरएनए युकेको सुनिलबाबु खड्का समूहले आइतबार अल्डरसटमा गरेको ११ औं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथी बोलाइएका स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले अवैधानिक संस्थामा सहभागी हुन आफ्नो विवेकले नदिने भन्दै वहिष्कार गरिदिएका हुन् । विशेष अतिथी भनेर निम्त्याइएका राजदूत ज्ञानचन्द्र आचार्य पनि कार्यक्रममा गएनन् ।
एनआरएनए अध्यक्ष कुल आचार्यले कांग्रेस नेता बस्नेतसंग रोइकराइ गरेपनि मन्त्री कार्यक्रममा अनुपस्थित रहे । ‘म आफैं पनि जनताबाट अनुमो
दित भएर आएको मान्छे हुं। मलाई टिके प्रथामा पटक्कै विश्वास छैन्’, मन्त्रीको भनाइ उधृत गर्दै एक स्थानीय कांग्रेस नेताले भने, ‘मन्त्रीज्यू आउने भनेर निकै हल्ला गरिएको थियो । पोष्टर पम्पलेट छापेर पनि बांडियो तर उहां (मन्त्री) जान मान्नुभएन । मन्त्री र राजदूतले नै वहिष्कार गरेपछि कार्यक्रम झण्डै तीन घण्टा ढिला शुरु हुन पुग्यो ।’
सुनिलबाबुको कार्यक्रममा नगएका मन्त्री बस्नेत सांझ भने अल्डरसटमै नेपाली जनसम्पर्क समिति बेलायतको कार्यक्रममा गएर अध्यक्ष प्रेम गाहामगरलाई ‘तपाईं आधिकारिक अध्यक्ष हो’ भन्दै सम्मान गरेका थिए । उक्त कार्यक्रममा मन्त्री बस्नेत प्रमुख अतिथी र गाहामगर विशेष अतिथीका रुपमा उपस्थित भएका थिए ।
यसअघि बेलायतस्थित युवाहरुले जननिर्वाचित अध्यक्ष प्रेम गाहामगरबाहेक अन्य अवैधानिक समूहले गर्ने कार्यक्रममा मन्त्री वा राजदूत गए कालो झण्डा देखाइने चेतावनी दिएका थिए । मुठभेड हुने सम्भावना भएर पनि मन्त्री बस्नेत र राजदूत आचार्य कार्यक्रममा नगएको विश्वास गरिन्छ ।
उपाध्यक्ष सुनिलबाबु खड्काले बन्द कोठाभित्र अध्यक्षको टिका लगाएपछि उनलाई नेपाली समुदायले कुनै पनि कार्यक्रममा निम्तो पठाउने गरेको छैन् ।
उता, जनअनुमोदित अध्यक्ष प्रेम गाहामगरलाई भने सार्वजनिक कार्यक्रममा जान भ्याइनभ्याइ छ । उनले २२ जुलाईमा आधिकारिक महाधिवेशन गर्दैछन् ।


