सुन तस्करीमा राजनीतिको जलप

काठमाडौं, साउन ५ । नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन। बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन्। पछिल्लोपटक भारत लैजाने तयारीमा रहेको करिब सय किलो सुन बुधबार काठमाडौंको सिनामंगलबाट बरामद भए पनि राजनीतिको जलप लगाइएका कारण यसका वास्तविक खेलाडी पत्ता लाग्ने सम्भावना न्यून छ।

विगतदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर तेस्रो मुलुकबाट अवैध रुपमा ल्याइने सुन भारत जाने गरेको छ। सुन तस्करी खुला सत्य भए पनि मौसमी रुपमा मात्र चर्चामा आउँछ। यसपटकको सुन बरामद पनि संयोग मात्र हो वा नियोजित, अझै खुलिसकेको छैन।

केही दिनअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर आएका नवराज ढुंगानाले सुन तस्करीको सूचना सम्बन्धित निकायलाई दिए पनि कोही समातिएका थिएनन्। संयोगले यही विभागको सक्रियतामा बुधबार सुन बरामद भएको छ। आफू विभागमा आउनुअघि नै सुन तस्करीबारे सूचना पाएका उनले यसबारे सम्बन्धित निकायलाई जानकारी गराएको बताएका छन्। तैपनि यसमा कुनै कारबाही भएको थिएन। उनले त्यतिबेला भन्सार विभाग, विमानस्थल भन्सार कार्यालय, गृह मन्त्रालय र त्यस मातहतका निकायलाई पनि खबर गरेका थिए। तर उनी आफैं विभागको महानिर्देशक भएपछि मात्रै ठुलो परिमाणमा सुन बरामद भयो। प्रधानमन्त्री कार्यालयमा रहेका उनलाई गत असारमा मात्रै विभागको महानिर्देशक बनाइएको थियो। उनी महानिर्देशक भएपछि उनलाई आएको सूचना पुष्टि हुनेगरी मंगलबार साँझसम्म विमानस्थलमा ठूलो परिणाममा सुन आएको पत्ता लाग्यो र अप्रेसन सुरु भयो।

हङकङबाट काठमाडौंस्थित रेडी ट्रेडर्सका नाममा उक्त सुन ल्याइएको थियो। सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको बताइए पनि उनी को हुन् भन्नेबारे अन्योल छ। सुन तस्करीमा संलग्न संगठित गिरोहमा विभिन्न पार्टीका उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो हुनसक्ने अनुमान गरिएको छ। सुरक्षा अधिकारीहरू पनि राजनीतिक संरक्षण र सहयोगबिना यतिधेरै परिमाणमा सुन तस्करी गर्नसक्ने हिम्मत कोही कसैमा नहुने दाबी गर्छन्।

पछिल्लोपटक नक्कली भुटानी शरणार्थी प्रकरणबाहेक सुन तस्करीमा राजनीतिक नेतृत्व संलग्न भएको पुष्टि प्रहरी र राजस्व अनुसन्धान विभागले गर्न सकेको अवस्था छैन। तर पनि विभिन्न समयमा बनेका आयोग र प्रतिवेदनमा भने राजनीतिक दल निकट नेता कार्यकर्ता सुन तस्करीमा संलग्न रहेको तथ्य कायमै छ।

पछिल्लोपटक तस्करले हङकङबाट काठमाडौं सुन ल्याए पनि यसमा कोको संलग्न छन् र यति ठुलो परिमाणको सुन कसले मगाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाले बताए। ‘अनुसन्धान भैरहेको छ। भर्खर सुन बरामद भएको छ। मान्छे पक्राउ गर्ने र अनुसन्धान गर्ने काम भैरहेको छ’, उनले नागरिकसँग भने। उनले सुन तस्करीमा राजनीतिक संलग्नता भएनभएको अनुसन्धानबाटै खुल्ने जानकारी दिए। नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।