अधिकांश नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता आवश्यक
महाकाली नदीको जलसहत सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीको डडेलधुरास्थित पारि-गाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह (५.८० मि) पार गरेको हो । जलसहत बढ्दो रहेकोले डडेलधुरा र कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा दिउँसो १ बजेसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज (आइतवार) देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने भए पनि बढ्दो हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमवार र मंगलवार देशका अधिकांश नदीहरूको जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।
कन्काई, कमला, बागमती, पूर्वी रासी, तिनाउ, पखिमरासी, बबई र यसका केही स-साना सहायक नदीलगायत चुरे र तराई भई बहने केही साना नदीमा जलसतह सतर्कता तह पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज तनहुँ, कास्की, स्याङजा, पर्वत, बाग्लुङ र म्याग्दी र आसपास भई बहने केही स-साना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहेको छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
साथै झापा, ईलाम, पाँचथर, तेहथुम, संखुवासभा, धनकुटा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, पर्सा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, दार्चुला र आसपास भई बहने स-साना नदीहरूमा बहाब बढ्न सक्ने सम्भावना छ । यी क्षेत्रका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्ने महाशाखाले अनुरोध गरेको छ ।


