सिट निर्धारण भएपछि मात्रै प्रवेश परीक्षा लिनू :शिक्षा मन्त्रालय
काठमाडौं । शिक्षा मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीलाई चिकित्सा शिक्षा आयोगबाट सिट निर्धारण भएपछि मात्रै प्रमाणपत्र तहको स्वास्थ्य शिक्षाको प्रवेश परीक्षा लिन निर्देशन दिएको छ ।
प्रमाणपत्र तहको नर्सिङ, सामान्य चिकित्सा, फार्मेसी, ल्याब, डेण्टललगायतका विषयमा भर्ना प्रक्रिया र सिट निर्धारणका विषयमा सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच विवाद बढेको थियो । दुवै निकायले आ-आफ्ना अडान राखेपछि शिक्षा मन्त्रालयले आयोगबाट सिट निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अघि बढाउन भनेको हो ।
स्वास्थ्य शिक्षा पढाउने २ सय शिक्षण संस्था मध्ये १ सय ६९ वटाको प्रक्रिया नपुगेकाले नवीकरण र सिट निर्धारण हुन सकेको छैन । मन्त्रालयले सम्बन्धनको स्वीकृति पाएका संस्थाको सिट निर्धारणका लागि आयोगमा लेखेरै पठाउनसमेत सीटीईभीटीलाई निर्देशन दिएको छ ।
दुई निकायबीचको विवादले स्वास्थ्य शिक्षा अध्ययनका लागि आवेदन दिएका २० हजार विद्यार्थीको भर्ना प्रक्रिया अझै लम्बिने भएको छ । त्यसैगरी आयोगबाट सम्बन्धनको स्वीकृति प्राप्त हुन बाँकी संस्थालाई परिषद्बाट गठित कार्य टोलीको सिफारिस पाएपछि बोर्ड बैठकमा पेस गर्न मन्त्रालयले भनेको छ ।
प्राविधिक शिक्षाकै इन्जिनियरिङ कृषि होटेल व्यवस्थापनतर्फ भने निर्धारित मितिमै प्रवेश परीक्षा र भर्ना प्रक्रिया अघि बढ्ने भएको छ ।


