दिनमा कति कदम हिँड्दा तपाईं स्वस्थ हुनुहुन्छ ?

बीबीसी/पछिल्लो समय स्मार्टवाच लगाउनेको सङ्ख्या तीव्र रूपमा बढ्दो छ । अझ घडी हेर्दै यति स्टेप्स (कदम) त हिँडिएछ भनेर राहतको सास फेर्नेहरू पनि धेरै छन् । आखिर राम्रो स्वास्थ्यका लागि कति कदम हिँड्नु पर्छ त ? यसबारे सधैँ बहस भइरहन्छ ।

दिनमा १० हजार कदम हिँड्नुपर्छ । यसो गरे स्वास्थ्यलाई लाभ मिल्छ भनेर कुनै बेला व्यापक चर्चा चलेको थियो ।

तर अब एक नयाँ बहस सुरु भएको छ । यसअनुसार दिनमा ४ हजार कदम हिँड्नु पर्याप्त छ भनिएको छ ।

एक व्यक्ति स्वस्थ हुनका लागि दिनमा कति कदम हिँड्ने ? १० हजार वा पाँच हजार ? यो प्रश्नले मानिसलाई अलमलमा पारेको छ ।

के भन्छ अनुसन्धान ?

युरोपियन जर्नल अफ प्रिभेन्टिभ कोर्डियोलोजीमा छापिएको एक शोध अनुसार एक दिनमा तपाईंले कम्तीमा ३९६७ कदम हिँड्नुभयो भने तपाईंको कम उमेरमा मृत्यु हुने खतरालाई कम गर्न सकिन्छ ।

यो शोधमा यो पनि भनिएको छ कि २,३३७ कदम मात्रै हिँड्दा पनि मुटुरोबाट मृत्यु हुने खतरालाई ५० प्रतिशतसम्म कम गर्न सकिन्छ ।

अनुसन्धाताका अनुसार जति बढी हिँड्नुहुन्छ त्यति नै धेरै फाइदा हुन्छ । यो शोध विश्वभरिका २,२६,००० मानिसमाथि गरिएको छ ।

शोधका अनुसार ४ हजार कदम हिँडेपछि तपाईं जति हजार कदम हिँड्नुहुन्छ, यसले तपाईंको उमेरलाई १५ प्रतिशतसम्म थप बढाउन सक्छ ।

पोल्यान्डकी लड्ज युनिभर्सिटी र अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीको स्कुल अफ मेडिसिनको अनुसन्धान टोलीले विश्वको कुनै पनि कुनामा भएका जुनसुकै उमेर समूहका मानिसका लागि हिँड्नु लाभदायी भएको बताएको छ ।

यो शोधमा संलग्न लड्ज युनिभर्सिटीका प्राध्यापक माचे बनाख भन्छन्, ‘विश्व भरी उपचारका लागि औषधीको उत्पादन बढिरहेको भएपछि औषधी मात्रै पनि उपचारमा प्रभावकारी हुँदैन ।’

‘हामीले आफ्नो जीवनशैली फेर्ने कुरामा पनि ध्यान दिनुपर्छ जस्तै – हाम्रो खानपान, व्यायाम । यो हाम्रो अध्ययनको महत्त्वपूर्ण कुरा हो । लामो उमेर र मुटुरोग सम्बन्धी रोगको खतरालाई कम गर्नका लागि हिँड्नै पर्छ । यो औषधी जत्तिकै वा सोभन्दा पनि बढी प्रभावकारी हुनसक्छ ।’

शोधमा बहस

विश्व स्वास्थ्य सङ्गठनको आँकडा अनुसार कुनै शारीरिक क्रियाकलाप बिना हरेक वर्ष विश्व भरी ३२ लाख मानिसको मृत्यु हुन्छ । यो विश्व भरी हुने मृत्युको चौथो सबैभन्दा ठुलो कारण हो ।

बेलायतको बेडफोर्डशायर अस्पताल एनएचएस ट्रस्टमा मुटुरोग विशेषज्ञ डाक्टर नरेन्द्र कुमारका अनुसार हिँड्नु सधैँ हाम्रो दिनचर्याको हिस्सा हो । उनी भन्छन्, ‘हामीलाई हाम्रा हजुरबुवा–हजुरआमाले पनि ‘यसो हिँड, तन्दुरुस्त हुन्छौ’ भन्ने गर्नुहुन्छ ।’

उनी भन्छन्, ‘यस अनुसन्धानले यो कुरालाई पुनः केन्द्रमा ल्याएको छ । यदि तपाईं कुनै प्रकारको व्यायाम गर्न सक्नुहुन्न भने कम्तीमा यति कदम त हिँड्नुहोस् । तौल धेरै भएकाहरूले ‘अरे, हामी कसरी यति धेरै हिँड्न सक्छौँ’ भन्ने गरेको सुनिन्छ । तर यदि तपाईंले कम कदमसँगै यसको सुरुवात गर्नुहुन्छ भने पनि त्यो राम्रो कुरा हो किनभने तपाईंले सुरुवात त गर्नुभयो ।’

नरेन्द्र कुमारका अनुसार समस्या त्यति बेला सुरु हुन थाल्छ जब हामी लामो समयसम्म बसिरहन्छौँ ।

तर चर्चित डायटिसियन तथा वन हेल्थ कम्पनीकी संस्थापक शिखा शर्मा यसमा विमति राख्छिन् ।

उनी भन्छिन्, ‘४००० कदम असाध्यै कम हो । यति त जिउँदो रहनका लागि मात्रै ठिक छ । यो न्यूनतम अङ्कले पास हुनु सरह हो । तर यसले तपाईंलाई स्वस्थ राख्दैन, जिउँदो भने राख्छ ।’

‘दिनमा ४००० कदम हिँडेर फिट हुन्छु, तौल पनि कम हुन्छ भन्ने सोच्नुहुन्छ भने यो गलत हो । यसका लागि तपाईंले थप मेहनत गर्नुपर्छ ।’

व्यायाम नगर्नुका हानी

अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्रले वयस्क (१८–६४ वर्ष) लाई हरेक हप्ता कम्तीमा १५० मिनेटको मध्यम–तीव्रताको शारीरिक व्यायाम वा हरेक हप्ता ७५ मिनेटको हाई इन्टेन्सिटी एक्सरसाइज गर्न सल्लाह दिन्छ । साथै उनीहरूलाई हप्तामा दुई दिन मसल्स ट्रेनिङको पनि सुझाव दिइन्छ ।

शिखा शर्मा भन्छिन्, ‘धेरै मानिसहरू राम्रो देखिनका लागि व्यायाम गर्छन् । राम्रो महसुस गर्नका लागि होइन । हामीले आफ्नो सोच फेर्न समय आएको छ ।’

‘शोधमा सेटेन्टरी (गतिहीन) जीवनशैली लाई क्यान्सर, मुटु रोगसँग जोडेर हेरिन्छ । यसलाई यसरी बुझ्नुहोस् कि जति रोग मुटुरोबाट उत्पन्न हुन्छ त्यति नै तपाईंको निष्क्रिय जीवनशैलीका कारण हुनसक्छ । महिलालाई धेरैजसो लाग्छ कि ‘मैले मोडलिङ गर्नु छैन, जस्तो छु ठिक छु’ भन्ने लाग्छ । तर तपाईंले समय हुँदा नै केही गर्नुभएन भने तपाईं लामो समयसम्म ठिक हुन सक्नुहुन्न । सेडेन्टरी लाइफस्टाइएको तुलना धूम्रपानसँग गरिन्छ । अर्थात्, यदि तपाईं कुनै पनि खालको व्यायाम गर्नु हुँदैन भने तपाईं धूम्रपान गर्ने व्यक्ति जत्तिकै खतरामा हुनुहुन्छ ।’

हिँड्नुका फाइदा

हिँड्नुका फाइदाबारे जानकारी दिँदै डाक्टर नरेन्द्र भन्छन्, ‘मानिसको शक्ति स–सानो कुराले बन्ने गर्छ । कुनै शारीरिक गतिविधि बिना तपाईंको मेटाबोलिजम रेट कम हुन थाल्छ । यसको असर तपाईंको मांसपेशीमा देखिन थाल्छ । ’

‘यस्ता धेरै कारक छन् जसले हाम्रो स्वास्थ्यलाई प्रभावित पार्छन् । उदाहरणका लागि हाम्रा आसपासका रङले पनि आफ्नो स्वास्थ्यमा असर पारिरहेको हुन्छ । घर बाहिर टहल्दा हरियाली देखिन्छ, अक्सिजन बढी मात्रामा पाइन्छ । यी सबै कुराले तपाईंको तनाव कम गर्छ । तर बाहिरको वातावरण प्रदूषित हुन्छ भने बाहिर नहिँड्नुहोस् । तर व्यायाम भने गर्नुपर्छ ।’

उनी भन्छन्, ‘हिँड्दा तपाईंको रक्तचाप कम हुन्छ । यसले मांसपेशीलाई बलियो बनाउन सक्छ । हिँड्दा तपाईंको ऊर्जाको स्तर पनि बढ्छ । नियमित व्यायामले तपाईंको शरीर एन्डोर्फिन, डोपामाइन र सेरोटोनिन हर्मोन रिलिज गर्छ जसले तपाईंको तनावको स्तरलाई कम गर्छ ।’

शरीरमा व्यायामको फाइदामाथि गरिएको शोधमा हिँड्दा तपाईंको शरीरमा मात्रै होइन मानसिक स्वास्थ्यमा पनि लाभ मिल्छ । मधुमेहका बिरामीका लागि पनि हिँड्नु फाइदाजनक छ । यसले उनीहरूको सुगरको नियन्त्रणमा राख्न मद्दत मिल्छ ।

शरीरमा खानपिनको असर

डा. शिखा शर्मा भन्छिन्, ‘हाम्रो शरीर खानपिनमार्फत निको हुन्छ । यदि हाम्रो आहार खराब छ, जस्तै तपाईंले धेरै फास्ट फुड खानुभयो वा चिल्लो खाना खानुभयो भने, यसको प्रभाव तपाईको शरीरमा देखिन्छ। यदि खाना ठिक छैन भने हाम्रो शरीर हार्नेछ ।’

स्वस्थ रहन कस्तो खाना खाने भन्ने प्रश्नमा डा. शिखा शर्मा भन्छिन्, ‘महिलाहरू निकै भावुक हुन्छन् । उनीहरूको खाना धेरै हदसम्म उनीहरूको मनमा निर्भर हुन्छ । कहिले गुलियो बढी खान्छन्, कहिल्यै सुख्खा रोटी मात्रै चपाउँछन्, कहिले बासी खाना खान्छन् । यस्तोमा उनीहरूको शरीरलाई जुन भिटामिनको आवश्यकता हुन्छ, त्यो पाइँदैन ।’

हेमोग्लोबिन, क्याल्सियमको कमी, भिटामिन डी, भिटामिन बी १२ को कमी महिलामा सामान्य हुन्छ । घुँडा दुख्ने, ढाड दुख्ने समस्या हुन्छ । यो सबै उनी एक महिला भएको कारणले हुँदैन । यो यस कारण हुन्छ किनभने उनीहरुले जसरी अरूको ख्याल राख्छन्, त्यसरी आफ्नो राख्दैनन् ।’

‘तपाईंले सकेसम्म फलफूल र तरकारीहरू धेरै खानुपर्छ । दिनमा एक पटक अर्गानिक काँचो तरकारीको २५०–३०० एमएल जुस बनाएर पिउनुहोस् । यसले तपाईंको आवश्यक भिटामिन र मिनिरल दिनेछ ।’

‘हप्तामा एक दिन पानी र फलफूल मात्र खानुहोस्, यसले तपाईंको पेटभित्रको खराब खाना सफा गर्न मद्दत गर्छ । प्रशोधित तेल फिटिक्कै नखानुहोस् । प्रोसेस्ड खानाबाट टाढै बस्नुहोस् । भात र छोटीको साटो अन्य कुरा पनि प्रयोग गर्नुहोस् । पानी अत्यधिक खानुहोस् । दैनिकको एक नियम बनाउनुहोस् र हिँड्ने र व्यायाम गर्ने गर्नुहोस् ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖