अस्थायी साधन प्रयोग गर्न अझै डराउँछन् महिला

जमुना वर्षा शर्मा/पोखरा, ३२ साउन : पोखरा उपमहानगरपालिका–२५ की २३ वर्षीया एक युवतीको बिहे भएको एक वर्ष भयो । स्नातकोत्तर पढ्दै गर्नुभएकी मगरले पढाइ पूरा गरेर मात्र सन्तान जन्माउने सोचमा हुनुहुन्छ तर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा बाँझोपन हुन्छ कि भन्ने डर उहाँमा छ । उहाँ भन्नुहुन्छ, “मलाई निकै डर लाग्छ कहिलेकाहीँ साथीसङ्गीले भन्ने गर्छन्, एउटा बच्चा नजन्मिँदै अस्थायी साधन प्रयोग गरेपछि बच्चा बस्न गाह्रो हुन्छ, बाँझोपन निम्तिन्छ भन्ने सुनेकाले डर लाग्छ ।”

उहाँ मानसिकरुपमा त्यस्तो त्रासमा रहँदा उहाँका श्रीमानले पनि अस्थायी साधन प्रयोग गरेर त्यो समस्या दूर राख्न सक्नुहुन्थ्यो तर श्रीमान् पनि अस्थायी साधनको प्रयोग गर्न रुचि नदेखाउने गरेको उहाँ बताउनुहुन्छ । “कहिलेकाहीँ यो यति तनाबको विषय बन्छ कि श्रीमान् श्रीमतीबीचको सम्बन्ध राख्दा पनि कता बच्चा बस्छ कि भन्ने तनाब मात्र हुन्छ, बच्चा बस्यो भने मेरो पढाइ रोकिन्छ कि भन्ने त्रास सधैँ मलाई हुने गरेको छ”, उहाँ भन्नुहुन्छ । आफूले भन्दा श्रीमानलाई अस्थायी साधन प्रयोग गर्न धेरै चोटी अनुरोध गरे पनि रुचि नदेखाएको उहाँको भनाइ छ ।

एक निजी संस्थामा कार्यरत २४ वर्षीया अर्की महिला अनिच्छित गर्भ बसेपछि जागिर छोडेर घरमै बसेको बताउनुहुन्छ । “बिहे भएको डेढ वर्ष भयो, अहिले पाँच महिनाको गर्भ छ, केही वर्ष सन्तान नजन्माउने सोच थियो तर मैले अस्थायी साधन प्रयोग गर्दा पछि बच्चा नबस्न सक्छ भन्ने सुनेँ, श्रीमान्ले पनि प्रयोग गर्न मान्नुभएन ।” उहाँले भन्नुभयो, “अनिच्छित गर्भ बसेपछि गर्भपतन गराउन चाहेको तर शुरुमै गर्भपतन ग¥यो भने अर्को बच्चा बस्दैन बाँझोपन निम्तिन्छ भन्ने सुनेपछि अहिले सबै छोडेर बसेको छु । गर्भमा बच्चा बसेदेखि नै मलाई विभिन्न समस्या देखिएपछि अहिले आराम गर्नुपरेको छ ।”

झन्डै ७० हजार महिला सदस्य भएको यहाँ बुहारी समूह बाइएको छ । हरेक दिनजसो समूहका बुहारी सदस्यहरुले केही न केही आफ्ना समस्याहरु खुलेर राख्ने गर्छन् । त्यसमा एक महिलाले लेख्नुुभएको थियो, “मेरो श्रीमान्ले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न मान्नु हुन्न । मेरो तीन वर्षकी छोरी छ, अझै केही वर्ष बच्चा नजन्माउने योजना गरेको तर अनिच्छि गर्भाधान हुँदा दुईचोटी गर्भपतन गरेँ, सुई र अरु साधन प्रयोग गरे मोटाइन्छ रे, फेरि बच्चा बस्न गाह्रो हुन्छ भन्छन् । मलाई उपयुक्त सुझावको खाँचो छ ।”

उहाँको पोष्टमा धेरैले तीन महिने सुई लगाउँदा राम्रो हुने त कतिले श्रीमानलाई नै अस्थायी साधन प्रयोग गर्न लगाउन सुझाव दिनुभएको छ । झट्ट हेर्दा सुन्दा सामान्य जस्तो लाग्ने यस्ता कुराहरुले महिलालाई निकै तनाब दिने गरेको यी उदाहरणबाट पनि पाइन्छ । अधिकांशमा महिलाका लागि बनाइएका अस्थायी साधन सन्तान हुनुअघि नै प्रयोग गर्दा बाँझोपन आउन सक्छ भन्ने भ्रम रहेको पाइन्छ भने कतिपयले यसको प्रयोग गर्दा शरीरमा तौल बढाउँछ भनेर प्रयोग नगर्ने गरेका छैनन् ।

कुनै पनि कुराको प्रयोग गर्नुअघि डाक्टरको परामर्श नलिई सामाजिक सञ्जाल र साथीभाइका कुरामा विश्वास गर्दा अनिच्छित गर्भधारण गर्न महिला बाध्य भएको बताउनुहुन्छ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा मदन खड्का । “पहिलो बच्चा नजन्मदै गर्भनिरोधक साधन प्रयोग गर्दा बाँझोपन हुन्छ भनेर समाजमा निकै गलत भ्रमहरु फैलिएका छन् । यो एकदम निराधार हो । विशेषज्ञको परामर्श बिना आफू खुशी प्रयोग गर्नु भएन, नत्र सबै कुरा सुरक्षित नै छन् डराउनु पदैन”, उहाँले भन्नुभयो, “गर्भनिरोधक साधनको काम गर्भ बस्न नदिने मात्र हो, विभिन्न वैज्ञानिक परीक्षणबाट सफल भएर प्रयोगमा ल्याइने यस्ता साधनप्रति आफू अनुकूल तर्क प्रस्तुत गरेर निराधार हल्लाको पछाडि लाग्दा झनै मानसिक र शारीरिक समस्या निम्तिन सक्छ ।” उहाँले प्रजनन स्वास्थ्यको बारेमा राम्रो शिक्षा दिन आवश्यक भएको बताउनुभयो ।

त्यसो त सन्तान जन्माउने विषय महिला पुरुष दुबैको सहमति र सल्लाहमा हुनुपर्नेमा त्यो हुन नसकेको उहाँ बताउनुहुन्छ । “हामीकहाँ बच्चा जन्माउने काम महिलाको हो भन्ने बुझाइ छ तर महिला शारीरिक र मानसिकरुपमा तयार नभएसम्म पुरुषले पनि साथ दिनुपर्छ, अस्थायी साधन पुरुषले पनि प्रयोग गरेर आफ्नो जीवनसाथीलाई साथ दिनुपर्छ”, उहाँले यो विषयमा पुरुष मानसिकता उदार हुन नसकेको बताउनुभयो ।

अस्थायी गर्भनिरोधक साधनले प्राकृतिक हर्मोनलाई औषधि वा सुईको माध्यमबाट प्रतिकूल बनाइराख्ने र गर्भ बस्न नदिने भएकाले यसको असर प्रयोग गरिरहँदासम्म मात्र हुने भएकाले चिन्ता लिनु नपर्ने उहाँको भनाइ छ । “कतिपय महिलाले अस्थायी गर्भनिरोधक साधनको प्रयोग गर्न छाडेको केही महिनामा गर्भ बसेन बाँझोपन पो भयो कि भन्दै आउने गर्नुहुन्छ । अस्थायी गर्भनिरोधक साधन प्रयोग गर्न छोडेको केही समयभित्र नै सामान्य अवस्थामा नै आइसकेको हुन्छ ।”

डा खड्काका अनुसार परिवार नियोजनको अस्थायी साधन डिपोप्रोभेरा, पिल्स, नरप्लान्ट, कण्डम, आइयुसिडी, डायफ्राम हुन् । यी अस्थायी साधनमध्ये कण्डम मात्रै पुरुषका लागि छ । उहाँले अस्थायी साधनहरु हर्मोन सञ्चयका लागि भएकाले महिलाले आफ्नो उमेरअनुसार जुनसुकै अस्थायी साधन प्रयोग गर्दा सम्बन्धित विज्ञको परामर्श लिनुपर्दछ भन्नुुभयो ।

‘मेरो शरीर मेरो अधिकार’ को कुरा हुन्छ तर महिलाहरु शारीरिक र मानसिक रुपमा तयार नभई अनिच्छित गर्भधारणा गर्न बाध्य हुने क्रम निरन्तर जारी रहेको बताउनुहुन्छ महिला मानवअधिकारकर्मी विना सिलवाल, “प्रजनन् स्वास्थ्य अधिकारको सही संरक्षण आवश्यक छ, महिलालाई सन्तान जन्माउने बाध्यात्मक दायित्व बोकेको यन्त्रको रूपमा बुझ्ने सोच अब बदल्नु पर्छ ।” उहाँले महिला सन्तान जन्माउने यन्त्रको रूपमा मात्रै प्रयोग भइरहेको र पारिवारिक दबाबका कारण प्रजनन् अधिकारको बारेमा खुलेर निर्णय गर्न नसकेको बताउनुभयो ।

“विवाहपछि महिला सन्तान जन्माउने विषयमा निकै तनाबमा देखिन्छन् । परिवारको नियोजनको साधनको प्रयोग महिलाले नै गर्नु पर्ने यदि गरिएन भने पनि त्यसको नतिजा महिलाले नै भोग्नुपर्ने अवस्था देखिन्छ । बच्चा भएन भने पनि महिलालाई नै तनाब, अनिच्छित गर्भ बसे पनि त्यसको असर महिलामा नै परेको देखिन्छ ।” सिलवालले परिवार नियोजनको जिम्मेवारी वास्तवमा महिला र पुरुष दुबैको भए पनि पुरुषले शारीरिक सम्बन्धको सन्दर्भमा अस्थायी साधनको प्रयोग बिना यौन आनन्द मात्र खोज्ने तर त्यसले निम्याउन सक्ने नतिजाको जोखिम महिलाले लिनुपर्ने अवस्था रहेको बताउनुभयो । परिवार नियोजनको प्रयोगमा समान सहभागिता बढाउन प्रजनन स्वास्थ्य शिक्षाको ब्यापक प्रचार साथै दम्पतीबीचको समझदारी आवश्यक हुने उहाँको बुझाइ छ ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा २०(२) ले प्रजनन स्वास्थ्य तथा प्रजनन् हकको अधिकार सुनिश्चित गरेको छ । प्रजनन् अधिकार भन्नाले प्रत्येक दम्पतीले कतिजना सन्तान जन्माउने, जन्मान्तर कति राख्ने, बच्चा जन्माउने वा नजन्माउने बारे सूचना पाउनुपर्ने र यौन तथा प्रजनन् अधिकारका लागि स्वतन्त्र र जिम्मेवारीपूर्वक निर्णय लिन पाउनुलाई बुझिन्छ । नेपालको संविधानकोे धारा ३८(२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुनेछ’ भनिएता पनि व्यावहारिक रुपमा महिलाले यसको प्रयोग गर्न नसकेको बताउनुहुन्छ अधिवक्ता भगवती पहारी ।

उहाँ भन्नुहुन्छ, “प्रजनन स्वास्थ्य तथा प्रजनन्सम्बन्धी हकलाई मौलिक हकका रूपमा संविधानमै व्यवस्था गरिएको छ तर के महिलाले यसको भउपयोग गर्न पाएका छन् त भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको छ ।” उहाँले कानुन अनुसारको व्यवहार नभएसम्म न्यायको प्रत्याभूत हुन नसक्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “महिलाले परिवारको खुसीलाई केन्द्रविन्दुमा राख्ने हुँदा आफ्नो रहर र चाहना सबै छोडिदिन्छन् तर त्यसबाट निम्तिने सबै असरको भागिदार भने स्वयम् महिला नै बन्नुपर्छ ।” निकै कम पुरुषले मात्र गर्भनिरोधक साधन प्रयोग गर्ने गरेको तथ्याङ्कले पनि महिला प्रजनन् अधिकारको उपभोगबाट बञ्चित हुनु परेको उहाँले बताउनुभयो ।

अनिच्छुक गर्भ रहँदाको परिणाम त्योसँगै आउने शारीरिक र मानसिक पीडाको भागिदार पनि महिला नै हुनुपर्ने अवस्थाले महिलालाई प्रजनन् अधिकारबाट बञ्चित गराएको उहाँको बुझाइ छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकार सम्बन्धी ऐन २०७५ को दफा ११ मा बलपूर्वक परिवार नियोजनका साधन गराउन नहुने उल्लेख छ । दफा १२ मा बलपूर्वक गर्भनिरोधकका साधन प्रयोग गराउन नहुने सोही ऐनको दफा १२ मा व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ मा तीन प्रतिशत महिलाले बन्ध्याकरण गरेका छन् भने र पुरुषको सङ्ख्या १ प्रतिशत छ । त्यसैगरी इन्प्लान्ट १४ प्रतिशत, डिपो ३८ प्रतिशत र पिल्स १९ प्रतिशत कपर टी (इयुसिडी) २ प्रतिशत छ भने पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको प्रयोग जम्मा २३ प्रतिशत छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।