यी हुन् अस्ट्रेलिया आउँदा ध्यान दिनुपर्ने १० कुरा

भर्खरै बाह्र कक्षाको नतिजा प्रकासित भएको छ। यतिखेर पुतलीसडक, बागबजार, बानेश्वरका चोकहरूमा विद्यार्थीको ओहोरोदोहोरो झन् बाक्लिएको छ। अधिकांश युवाहरू उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया, क्यानडा, अमेरिका, यूके तथा अन्य देश जना इच्छुक भइरहेका छन्।
फलतः एजुकेसन कन्सल्टेन्सीहरू विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिन भ्याइनभ्याइ भइरहेका अनुमान सजिलै लगाउन सकिन्छ।

अस्ट्रेलियाको मेरो दशकको अनुभवले लेख्दै छु विद्यार्थीहरू विदेश पढ्न जाँदा धेरै कुराको विचार गरेर जानुपर्छ। सुटकेसमा अचार होइन, विचार प्याकिङ गरेर ल्याउनुपर्दछ। दिमागमा मोज होइन, सोच बोकेर आउनुपर्दछ। आखिर विद्यार्थीहरू विशेषगरी अस्ट्रेलिया आउँदा के/के कुरामा ध्यान दिनुपर?

१) विदेश जाने कि नजाने:
सर्वप्रथम त विद्यार्थीहरू पहिला आफू नै विदेश जाने कि नजाने भन्ने विषयमा निश्चित हुनुपर्छ अनि सही निर्णय वा निचोडमा पुग्नुपर्दछ। १८ वर्ष पुगेपछि व्यक्तिहरूलाई कानुनी रूपमा वयस्क मानिन्छ र उनीहरू आफ्नो निर्णयहरू आफैं गर्न सक्षम हुन्छन्। त्यसैले थप शिक्षाको लागि अस्ट्रेलिया वा अन्य कुनै देशमा जाने र कलेज छान्ने निर्णयको स्वामित्व विद्यार्थी आफैंले लिन महत्वपूर्ण हुने गर्दछ।

यदि कहिलेकाहिँ उनीहरू दोधारमा पर्छन्, आफूले नै के चाहिरहेका छन् भन्ने कुरा आफूलाई नै थाहा छैन भने, सही निर्णय गर्न सकिरहेका छैनन् भने कमसेकम उनीहरूले आफूले अनुभव गरेका यी कुराहरू आमाबुबासँग वा आफ्नो मनपर्ने र खुलेर कुरा गर्नसक्ने शिक्षकसँग वा मनमिल्ने साथीसँग वा करियर काउन्सिलर/सल्लाहकार (जसले व्यवसायिक चासोहरूभन्दा तपाईंको भलाइलाई प्राथमिकता दिन्छ) सँग खुलेर छलफल गर्नुपर्दछ। किनकि अनिश्चितताको बीचमा, मार्गदर्शन खोज्नु भनेको आफ्नो भविष्यको लागि उत्तम छनोट गर्ने एउटा विद्यार्थीको प्रतिबद्धताको प्रमाण हो।

यसरी एउटा विशेषज्ञ मार्गदर्शनले विद्यार्थीहरूमा भएको खुलदुली, दोधारपन र भ्रमको दागाहरू खोलिन सक्छ। उहाँहरूको सम्पर्कमा आउँदा, खुलेर कुरा गर्दा, सल्लाह माग्दा उहाँहरूले तपाईंलाई विभिन्न दृष्टिकोणहरू प्रदान गर्न सक्नुहुन्छ र कहिलेकाहीँ सूचित निर्णय र निचोडमा पुगेर सम्भावनाको ढोकाहरू विस्तारै खोलिन थाल्छ।
संक्षेपमा, यो पहिलो चरण आत्म–मूल्याङ्कन र विशेषज्ञ मार्गदर्शनको मिश्रण पनि हो।

२) लहैलहैमा लाग्नुहुन्नः
कुनै अपवादहरूलाई छोडेर हेर्ने हो भने धेरै बाह्र सकेका युवाहरूलाई विदेश जाऊँजाऊँ पार्ने भनेको मूलतः विदेशको रंगीन दुनियाँ, सोसल मिडियामा देखेका साथीहरूको लोभलाग्दो फोटो, पार्टी गरेका भिडिओहरू, घण्टामा कमाएको डलरको हिसाब, स्वतन्त्र जीवनले हो।
उनीहरूलाई लाग्छ विदेश पढ्न गएपछि अधिकांश समस्याहरूको हल हुन्छ, विदेशमा सुनको खानी छ, डलर फल्छ र घण्टा घण्टामा टिप्छु। तर विडम्बना धेरैले यो सोचेको हुँदैन कि त्यो सुनखानी खन्न पनि अनि डलर टिप्न पनि रातदिन नभनी, घामपानी नभनी दौडिनुपर्छ। ओछ्यानमा सुतिसुति यो कुरा सोचिरहँदा ओछ्यानबाट जुरूक्क उठेर मुख पनि धुन नपाइ ट्रेन समात्न दौडिनुपर्छ भन्ने मनन गर्दैनन्।

अस्ति नेपालमा भएको तर अस्ट्रेलिया आउन तयारी गर्दै गरेको एउटा भाइलाई मैले म विद्यार्थी भएर आउँदाको केही संघर्षको कथा सुनाएको उसलाई त एकादेशको दन्त्य कथाजस्तो लागेछ रे। सुन्दा मज्जा आयो दिदी भन्दै थियो अब ऊ आएर भोग्दा कस्तो हुने हो जस्तो लागिरह्यो। हरेक व्यक्तिले यो बुझ्न आवश्यकता छ कि विदेश गएर पढ्न, करियर बनाउन, पैसा कमाउन, आफूलाई स्थापित गर्न सोचे जस्तो सजिलो छैन। त्यो रमाएको फोटो र भिडिओ पछाडि कति दर्दनाक कथाहरू, कति अप्ठ्याराहरू, कति संघर्षहरू छन् भन्ने कुरा अलिकति भए पनि विचार गर्नुपर्छ।

विदेश जाने सपना बुन्दै गर्दा सबैले ‘म आफ्नो देश छोडेर अर्काको देश जाँदैछु। आमाको काख जति न्यानो अरूको काख हुँदैहुँदैन। आमाले दिने स्नेही अरूले दिनै सक्दैन।’ भन्ने वश यति सोचे हुन्छ।

३) देखासिकी गर्न हुन्न:
केही समय अगाडि मैले एउटा विषयमा बारम्बार लेखेको थिएँ। विदेशमा छोराछोरी डिप्रेसनमा जानु, सुसाइड गर्नुमा उनीहरूको बुबाआमाको पनि केही हात छ भनेर। ठूलाहरूको जिद्दीपन, देखासिकी, इगो र आफन्त, छरछिमेकीसँगको अस्वस्थ प्रतिस्पर्धाले कति छोराछोरीहरू आफ्नो इच्छाविपरीत पनि विदेश आउनु परेको छ त्यसैले यो तीन नम्बर विशेष गरी ती बुबाआमाहरूको लागि।

१८ वर्षको छोराछोरीलाई विदेश पठाउने तपाईंहरूको इच्छा, बाध्यता हुनुहुँदैन छोराछोरीको आफ्नै आकांक्षा र सपना हुनुपर्दछ। देउरानी, जेठानीको, नन्द आमाजुको, दाइ-भाइको, छिमेकीका, मामा, काका, साथी, अन्य आफन्तका छोराछोरीहरू विदेश गइसके, पैसा कमाएर पठाइसके आफ्नो अझै यही छ भनेर छोराछोरीलाई विदेश पठाउन फोर्स गर्नुहुन्न।

उनीहरूमा बारम्बार यसले यहाँ गरी खाँदैन, हल्लेर हिँड्यो, विदेश पठाएपछि ढुक्क हुन्छ भन्ने जस्तो सोच थुपार्नु हुँदैन। फलानोले पासपोर्ट बनाइसक्यो खै तेरो भन्दै सधैँ अत्ताउनु हुँदैन। उनीहरू हुर्कंदै गर्दा नेपाल खत्तम छ, यहाँ अवसर नै छैन, रुपैयाँमा होइन डलरमा कमाउनुपर्छ, काठमाडौंमा एउटा आफ्नो छुट्टै घर हुनुपर्छ, हामीलाई पनि विदेश देखाउने तेरो कर्तव्य हो, अब तैँले कमाएर सबै व्यवहार, ऋण, धन समाल्नुपर्छ भन्ने धारणा बारम्बार दिँदा उनीहरूमा देशप्रति वितृष्णा पैदा हुनुको साथै दिमागमा एउटा बोझ लिएर बाँचिरहेको हुन सक्छ जसको परिणाम पछि घातक हुने गर्दछ।

त्यसैले भनेको होला छोराछोरी जन्माएर मात्रै हुँदैन राम्रो संस्कार पनि दिनुपर्दछ। कुनै पनि आमाबुबाले आफ्नो छोराछोरीलाई बलीको बोका बनाउनुहुँदैन। अरूको सेखी झार्न, अरूलाई हराउन, देखाउन छोराछोरीलाई न हुकुमको न तुरूपको एक्का बनाउनु नै हुन्छ। त्यसैले देखासिकीको लागि विदेश आउनु हुन्न।

४) सही विषय र कलेजको छनोट:
जब विद्यार्थीहरू स्व-इच्छा र विवेकले अस्ट्रेलियाको शैक्षिक यात्राको लागि स्पष्ट लक्ष्यहरू सेट गर्छन् तब अब आउने बाटोको लागि युद्धमा जाने सिपाहीहरू जसरी तयार हुनुपर्छ। विद्यार्थी स्वयंम् स्मार्ट हुनुपर्दछ। त्यसपछि उनीहरूले नागरिकता र पासपोर्ट बनाउनतिर ध्यान दिनुपर्दछ। अस्ट्रेलियाका कलेज, विश्वविद्यालयहरू, पाठ्यक्रमहरू र शिक्षा प्रणालीको बारेमा गहिरो अनुसन्धान गर्न थाल्नुपर्दछ।

शिक्षाको गुणस्तर, जीवनशैली, र सांस्कृतिक अनुभवहरूको सन्दर्भमा अस्ट्रेलियाले के प्रस्ताव गर्छ भनेर बुझ्न अति जरूरी छ। अस्ट्रेलियामा अध्ययन गर्नुमा आफ्नो दीर्घकालीन योजनाहरूमा कसरी फिट हुन्छ र आफ्नो करियर साथै व्यक्तिगत विकासमा कसरी योगदान पुर्‍याउन सक्छ भन्ने कुरामा विशेष विचार गर्नुपर्दछ। त्यसपछि बल्ल विद्यार्थीले आफ्नो शैक्षिक उद्देश्यहरूसँग मिल्ने एउटा कलेज र विषय छनौट गर्नुपर्दछ।
विषय छनौट गरेपछि कलेजको वेबसाइटहरू फेरि एकपटक राम्ररी भिजिट गर्न अति आवश्यकता छ। त्यतिखेर कलेजको लोकेसन, विषयको शुल्क तथा अन्य विभिन्न जानकारी लिन सकिन्छ। अझ थप जानकारी चाहिन्छ भने कलेज/विश्वविद्यालयलाई डाइरेक्ट इमेल गर्न सकिन्छ।
प्राय: कलेजहरूले एक हप्तामा विद्यार्थीको इनक्वायरी रिप्लाइ गरेको हुन्छ। त्यतिखेर उनीहरूको प्रतिनिधित्व गर्ने शैक्षिक परामर्शदाताहरू नेपालमा को को छ भनेर सोध्न पनि सकिन्छ। उनीहरूले यदि लिस्ट दियो भने त्यो कन्सल्टेन्सीलाई सम्पर्क गरेर भेट्न जाने नत्र आफैंले त्यो कलेजसँग सम्बन्धित भएको कन्सल्टेन्सीहरू खोज्ने।

कति विद्यार्थीहरू डाइरेक्ट कन्सल्टेन्सी पनि जान्छन् अनि बुझ्छन्। यसो गर्दा पनि केही गलत हुँदैन तर सस्तो कलेज, शुल्क कम भएको विषय मात्रै मापदण्डमा राखेर मन नलागेको विषय छनोट गर्दा पछि पछुताउन पर्छ कि भन्ने मात्रै हो। एउटा विद्यार्थीको धर्म भनेको आफू कुन विषयमा अध्ययन गर्ने हो र यसको भविष्य के छ भन्ने चाहिँ थाहा हुनुपर्छ।

५) योग्यता, मापदण्ड र आवश्यकताहरू:
कलेज र विषय छानेपछि आफू पढ्न जान लागेको विषयको मापदण्ड, योग्यता र आवश्यकता राम्ररी बुझेर तयारीतिर लाग्नुपर्दछ। निस्सन्देह, कन्सल्टेन्सी, कलेजले यसको लागि एउटा सेट चेकलिस्ट प्रदान गर्दछ यद्यपि, कुनै पनि यात्रा जस्तै, विद्यार्थीले आफ्नै छुट्टै चेकलिस्ट पनि बनाउनु पर्दछ जसले गर्दा कलेज र भिसा अप्लाइ गर्न सहयोग गर्ने अतिरिक्त कागजपत्र, प्रमाणपत्र, योग्यताका विवरणहरू खोज्न र तयार गर्न मद्धत गर्दछ। यसो गर्दा एउटा विद्यार्थीले आफ्नो शैक्षिक यात्राको लागि एउटा ठोस आधार तयार गरेको हुनेछ— जसले उनीहरूको जोश र विशेषतालाई अझ ऊर्जावान बनाउँछ।

६) एसोपी लेखन र शैक्षिक प्रमाणपत्रहरू:
विषयको गहिरो अनुसन्धान गरिसकेपछि र अस्ट्रेलियाभित्र कलेज र राज्य दुवै होसियारीपूर्वक छनोट गरेपछि, अर्को महत्वपूर्ण चरण भनेको विद्यार्थीहरूले विषय तथा अस्ट्रेलिया र त्यही कलेज किन भनेर रुचि अभिव्यक्ति लेख्नुपर्ने हुन्छ जसलाई अंग्रेजीमा एसओपी पनि भनिन्छ।
यो सबैभन्दा आवश्यक र महत्तवपूर्ण चरण हो जहाँ विद्यार्थीको अस्ट्रेलिया आउने उद्देश्य छर्लंग भइ एउटा कथाले आकार लिन्छ। योसँगै शैक्षिक प्रमाणपत्रहरू, भाषा प्रवीणता अर्थात् पीटिइ/आइइएलटिएसको प्रमाणपत्र र अतिरिक्त क्रियाकलापको पनि प्रमाणपत्रहरू अति आवश्यकता छ।
कलेजको अफर लेटर र भिसा दिन एसओपी लेखनको प्रभाव गहिरो हुन्छ। त्यसैले अरूको चोरी नगरी आफ्नो विवेक र मनले लेखेको ओरिजिनल एसओपी उत्कृष्ट हुन्छ। एउटा राम्रो विद्यार्थीको राम्रो एसओपी लेखेर उसको शिक्षाप्रतिको साँचो उत्साह र जान लागेको देश प्रतिको ज्ञान, जानकारी र आत्मीयता भएको देखिन्छ, जसले गर्दा तपाईं एक वास्तविक विद्यार्थी हुनुहुन्छ भन्ने सुनिश्चित गर्दै कलेज र भिसा अधिकारीहरूको निर्णयलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्छ।

मैले यहाँको शैक्षिक क्षेत्रमा सात वर्ष काम गर्दा विद्यार्थीहरूको हजारौं एसओपीहरू पढेको छु, अधिकांश एसोपीहरू कपि एण्ड पेस्ट पनि पाएको छु। अरूको एसोपी सार्दा कहिलेकाहीँ हडबडीमा धेरै गोलमाल हुने गर्दछ। माथि एउटा विषय हुन्छ, अर्को अनुच्छेदमा पुगेपछि परिवर्तन गर्न बिर्सेकोले अर्को विषय फेरि हुन्छ। अनि कतिले कलेजको नाम पनि मेट्न बिर्सिन्छन् र हरेक अनुच्छेदमा फरकफरक कलेजको नाम हुन्छ जसले गर्दा उसले कुन कलेज अप्लाई गरेको भन्ने नै कन्फ्युज हुन पुग्दछ। अनि त्यहीबाट अप्लाई गर्ने विद्यार्थीको स्तर थाहा हुन्छ अनि अफर लेटर नआउने र भिसा रिजेक्ट हुने सम्भावना धेरै हुन्छ। त्यसैले सबेसम्म आफ्नो एसोपी आफैं लेख्नु पर्दछ।

७) फाइनान्सियल डकुमेन्टहरू बनाउन आफैं कुँद्नेः
अधिकांश विद्यार्थीहरूको फाइनान्सियल कागजपत्रदेखि बैंकिङ्ग कारोबार, नाता प्रमाणीकरण गर्न वडा कार्यालय, जिल्ला कार्यालयदेखि अन्य कानुनी कामहरू सबै आफ्नो अभिभावकहरूले गरेको देखिन्छ। अभिभावक नभए कन्सल्टेन्सीले आफ्नो स्टाफहरू खटाएको देखिन्छ। यसो गर्नु सारासर गलत हो। यो स्वंयम् विद्यार्थीको काम हो। उनीहरू विदेश आउन खोज्ने अनि सबै काम अरूले गर्दिने हो भने उनीहरूलाई यहाँ आएर एड्जस्ट गर्न गाह्रो हुन्छ।

उनीहरू त्यही समयदेखि नै इन्डिपेन्डेन्ट हुनुपर्छ। आफ्नो काम आफैं गर्नुपर्छ भन्ने धारणा हुनुपर्दछ। नजानेको कुरा सोध्न सकिन्छ, जानकारी लिन सकिन्छ, यसो गर्दा एक ठाउँबाट अर्को ठाउँ जान हिम्मत आउँछ, सरकारी कार्यालयको कामकाजहरू देखिन्छ अनि भोगिन्छ, यसै सिलसिलामा धेरै मान्छेहरू चिनिन्छ, आत्मविश्वास बढ्छ अनि आफू स्वतन्त्र भएको महसुस हुन्छ जसले गर्दा विद्यार्थीलाई कालान्तरमा फाइदा नै हुन्छ। त्यसैले यिनीहरू केही जान्दैन भनेर उनीहरूलाई घरमा सुताएर अभिभावकहरू आफू दौडिनुहुँदैन। नजाने जान्छन्, बिगारे फेरि बनाउँछन् भन्ने सोच हुनुपर्छ।

अनि कति समयमा उनीहरूलाई पनि सँगै दौडाएर काम देखाउनुपर्छ, काम अह्राउनु पर्दछ। मैले यो कुरा किन भनिरहेको छु भने पछि हाइ कमिसनबाट इन्टरभ्यू आइहाल्यो र फाइनान्ससम्बन्धी प्रश्न सोध्यो भने उनीहरूले सही उत्तर दिन सक्ने हुनुपर्दछ।

८) भिसा आउने अवधिको सदुपयोगः
जीवनमा सधैं प्लान ए र बि हुनुपर्दछ। यदि भिसा आयो भने त जाने तर भिसा आएन भने के गर्ने भन्ने हुन्छ। त्यसैले भिसा कुर्ने समयमा अरू थप अध्ययन गर्न सकिन्छ वा कतै इन्टर्नसीप गर्न सकिन्छ, केही दक्ष काम र ट्रेनिङहरू (स्किल्ड जबहरू) गरेर बस्न सकिन्छ ताकि त्यो अनुभवले अस्ट्रेलिया गएको केही समयमा नै पार्टटाइम जागिर पाओस्। यसका साथै हाइकमिसनबाट इन्टर्रभ्यु बोलाउन पनि सक्छ भनेर मानसिक रूपमा तयार हुने र आफूले अप्लाइ गरेको कलेज, विषय, पासपोर्ट नम्बरदेखि आफ्नो शैक्षिक कुराहरूको जानकारी मुखैमा हुनुपर्दछ।

यसैबीचमा यदि अस्ट्रेलियामा कोही साथी, परिवारको मान्छे, आफन्तहरू वा कसैले चिनाएको नयाँ व्यक्तिहरू छन् भने उनीहरूसँग निरन्तर सम्पर्कमा रहेर अस्ट्रेलियाको विषयमा चासो लिइरहने। यसका साथै अस्ट्रेलियामा रहेको विभिन्न नेपाली संघसंस्था, दूतावास, आफूले अप्लाइ गरेको स्टेटको महावाणिज्यदूत कार्यालय, अस्ट्रेलियन इमिग्रेसनको पेज तथा विद्यार्थीहरूको निम्ति डिजाइन गरेको विभिन्न सोसल मिडियाहरूको पेज र प्लाटफर्मलाई निरन्तर फलो गरेर जानकारी लिइरहने।

यदि आफ्नो कोही छैन र कस्ने ठेगाना भएन भने त्यस्तो पेजहरूमा मेसेज गर्ने र त्यसपछि केही न केही उपाय लाग्नेछ। धेरैले यो काम भिसा लागेपछि गरौंला अहिले नै किन गर्ने फेरि भिसा लागेन भने लाज हुन्छ भनेर सोच्छन् अनि पछि एयरपोर्टमा लिन आउने र बस्ने ठेगाना फिक्स्ड नहुँदा मन आत्तिन्छ। त्यसैले यसको पूर्व तयारी गरेर बस्दा राम्रो हुन्छ। बरु सपिङ र टिकटको काम भिसा लागेपछि गर्दा पनि हुन्छ।

९) भिसा आएपछि:
भिसा आएपछि सम्बन्धित व्यक्तिहरू सबैलाई जानकारी दिने र किनमेल तथा एयर टिकटको व्यवस्था गर्नतिर लाग्ने। अस्ट्रेलिया आउन सुटकेस प्याक गर्दैगर्दा यहाँको मौसम के कस्तो छ त्यही अनुसारको कपडा राख्नुपर्दछ। यहाँ आउनेबित्तिकै आफूलाई चाहिन सक्ने ससाना भाडाकुँडाहरू र लेबल भएको ड्राइ फुडहरू जस्तै: चाउचाउ, बिस्कुटहरू आपतकालीन अवस्थाको लागि भनेर थोरै मात्रामा राख्ने। सुटकेस प्याक गर्नुभन्दा अगाडि सबैभन्दा महत्वपूर्ण काम इमिग्रेसनको वेबसाइटमा गएर ल्याउन मिल्ने कुरा र नमिल्ने कुराको जानकारी लिन अति आवश्यक छ।

कहिलेकाहीँ हामी भावनामा बगेर, आमाको मायाको अगाडि हार खाएर अचारदेखि, घ्यू चामल, दाल र अन्य धेरै कुराहरू कुनै सिल्डबिना नै ल्याउने गर्छौं तर कहिलेकाहीँ कडा चेकिङमा पर्दा यी सामान ल्याएको वापत दरो फाइन र जेल पनि हुने सम्भावना हुन्छ। त्यसैले अचार तथा अन्य निषेधित सामान ल्याउँदा विचार गर्नु होला। योसँगै ह्याण्ड क्यारीमा राख्ने सामान र लगेजमा राख्ने सामान छुट्टाउन आवश्यक छ। कहिलेकाहीँ ह्याण्डक्यारीको सामान नेपालमा नफाले पनि ट्रन्जिटमा फालिदिन सक्छ।
त्यहीमाथि अस्ट्रेलियाको चोकचोकमा अहिले नेपाली र इण्डियन पसलहरू छन् त्यहाँ नेपालमा पाइने सबै कुराहरू पाइन्छ, त्यसैले पछि आवश्यकता पर्दै गएको सामान नेपाली खानाहरू त्यहीबाट पनि लिन सकिन्छ तर ट्राभल चेक कम्तीमा पनि दुई हजार डलर बोकेर आउँदा राम्रो हुन्छ। यदि एक डेढ महिना काम पाएन भने पनि त्यतिले बाँचिन्छ। अर्को महत्वपूर्ण कुरा आफू पहिलो पटक आउँदा अरूको भन्दा पनि आफ्नै बढी सामान ल्याउँदा राम्रो हुन्छ।

१०) अस्ट्रेलिया जाने दिन:
एयरपोर्ट प्रस्थान गर्दैगर्दा एयरलाइन्सले तोकेकोभन्दा बढी केजीको सामान नल्याउनुहोला। घरमा नै जोखेर एयरपोर्ट आउँदा राम्रो हुन्छ। ब्यागप्याकमा ल्यापटप, फोनको चार्जर, इन्टरनेसनल एडप्टर अनि फाइलमा अफर लेटर, सिओइ, कोभिड भ्याक्सिन सर्टिफिकेट, भिसा कपी, पासपोर्ट, नागरिकता, शैक्षिक प्रमाणपत्र जस्ता अति आवश्यक कुराहरू राख्नुपर्छ, जुन त्यही व्यागप्याकमा नै होस् र यो व्याग सुटकेसभन्दा पनि महत्वपूर्ण हुन्छ त्यसैले सबैभन्दा पहिला नै सबै सामान राखेर बोकिहाल्ने अनि एयरपोर्ट समयमा नै जाने।

बोर्डिङ्ग पास लिएर भित्र प्रतीक्षा कक्षमा बस्दा अस्ट्रेलियामा आफू निरन्तर सम्पर्कमा बसेको मान्छेहरूलाई मेसेज गरेर आफू उड्न लागेको जानकारी दिने। त्यसपछि ट्रान्जिटमा पुगेपछि पनि फेरि उनीहरू लगायत आफ्नो घरपरिवारलाई जानकारी दिने।

अस्ट्रेलिया आएपछि यदि कोही लिन आएको छ भने ठीक छ नत्र ट्याक्सी लाग्ने क्षेत्रमा गएर ट्याक्सी लिएर आफ्नो ठेगानामा जाने। यदि सिमकार्डको आवश्यकता भयो भने सिमकार्ड किन्ने सुविधा एयरपोर्टको प्राङ्गगणमा पनि छ।

उक्त दश वटा बुँदा त अस्ट्रेलिया आउँदा ध्यान दिनुपर्ने कुराहरू भए तर यहाँ आएपछि के गर्नुपर्छ भन्ने कुरा भाग-२ मा लेख्नेछु।

-निरु त्रिपाठी/सेतोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।