ताप्लेजुङमा फक्ताङलुङको माथिल्लो क्षेत्रमा सञ्चारको पहुँच

फुङ्लिङ (ताप्लेजुङ), ३ भदौ ः दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको हो ।

फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा सुविधा पुगेको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत फक्ताङलुुङ गाउँपालिकाका करिब तीन हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

यसबाट स्थानीय समुदायमात्रै नभएर कञ्चनजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि इन्टरनेट उपयोग गरी सहजता हुने फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूको सचिालयमार्फत जानकारी गराउनुभएको छ ।

भौगोलिक हिसाबले नेपालकै तेस्रो ठूलो गाउँपालिकाका रूपमा रहेको फक्ताङलुङका भौगोलिकरूपमा दुर्गम भएको र मानवबस्ती र जनसङ्ख्याको पहुँचका कारण सञ्चार क्षेत्र विस्तार गर्दा खासै फाइदा नहुने भएकाले विगतदेखि नै सञ्चार क्षेत्रका लगानीकर्ता यस क्षेत्रमा मोबाइल नेटवर्क विस्तार गर्न आनाकानी गर्दै आएका थिए । विसं २०७४ मा फक्ताङलुङको लेलेपस्थित मुरिङ्लाडाँडामा नेपाल टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्र यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो । तर त्यस सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएको थियो ।

फक्ताङलुङको तल्लो भेग वडा नं १, २, ३, ४ का सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकांश भेगमा विगतदेखि नै टेलिकम र एनसेलको फोरजीसहितको सेवा विस्तार भइसकेका छन् । उता बाँकी वडा नं ५, ६ र ७ का क्रमशः तापेथोक, लेलेप र ओलाङ्चुङगोला क्षेत्र सञ्चारबाट पछाडि पर्दै आएको थियो । फक्ताङलुङ–६ को घुन्सामा र ओलाङ्चुङगोला बस्ती आसपासलाई लक्षित गरी नेपाल टेलिकमको टुजी सेवा विस्तार भएको थियो ।

सामग्री ढुवानीदेखि लिएर यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी गरेर मात्रै यो सम्भव भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो । आफू स्वयं सेकाथुमबाट लोवाडाँडासम्म सामान ढुवानी गर्नका लागि खटिएको उहाँले जानकारी दिनुभयोे ।

अध्यक्ष लिम्बूका अनुसार अब सोही पालिकाको वडा नं ७ हिलेखर्कमा ओलाङ्चुङगोलाको लागि फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्भे सकिएको बताउनुभयो । उहाँका अनुसार सो स्थानबाट पनि अबको एक वर्षमा फोरजी सेवा सञ्चालनमा ल्याइने छ ।

यस क्षेत्रका बासिन्दाले इन्टरनेटको सेवा उपयोग गर्न पाएका थिएनन् । आजको समय इन्टरनेटको समय हो । विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न र खबर आदान–प्रदान गर्न पनि इन्टरनेट अनिवार्यजस्तै भएको छ । इन्टरनेट सेवाबाट यस क्षेत्रका बासिन्दा बञ्चित हुँदै आएकामा अहिले फक्ताङलुङ–६, लुङथुङका मिङ्मा शेर्पाले विदेशमा रहेको छोरीसँग परिवारै बसेर भिडियो कलमा बोल्न पाउँदा मनै प्रफुल्ल भएको बताउनुभयो । अहिले फोरजी सेवाले यहाँका बासिन्दालाई विश्वसँग जोडिदिएको छ । यस क्षेत्रका लागि यो सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ फड्कोका रूपमा लिन सकिन्छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖