ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई प्रतिवादी नहुने
काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई प्रतिवादी नहुने भएका छन् ।
मंगलबार केन्द्रिय अनुसन्धान ब्युरोले सरकारी वकिललाई बुझाएको अनुसन्धान प्रतिवेदनमा दुई जना पूर्व प्रधानमन्त्रीलाई ‘प्रतिवादी कायम गर्नु नपर्ने’ राय दिएको छ ।
ब्युरोका अनुसन्धान अधिकृतहरूले सोमबार दुवैजना पूर्व प्रधानमन्त्रीको घरमा गएर ‘बयान कागज’ गराएका थिए । प्रहरीले पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई पनि प्रतिवादी कायम नगर्न सिफारिस गरेको छ । साउन २८ मा सिआईबीले कार्यालयमा नै बोलाएर पौड्यालसँग बयान लिएको थियो ।
योजनाबद्ध रूपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा गरेर ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । माधव कुमार नेपाल र डा. भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णयको आधारमा पनि बालुवाटारको जग्गा हिनामिना भएको भेटिएको छ ।
नेपाल र भट्टराईले नेतृत्वको गरेको चारवटा मन्त्रिपरिषद्को निर्णयको आधारमा ललिता निवास क्याम्प भित्र बाटो बिस्तारको नाममा जग्गा सट्टापट्टा र नक्कली पशुपति टिकिन्छा गुठी खडा गरेर ‘मोहीयानी हक’को नाममा जग्गा घोटाला गरिएको अनुसन्धान निष्कर्ष छ ।


