गणेशमान सिंहको प्रतिमा अनावरणको तयारी

भक्तपुर, ३१ भदौ : गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिले विगत २३ वर्षअघि निर्माण गरेको लौह पुरुष एवं प्रजातन्त्र सेनानी स्वं गणेशमान सिंहको पूर्ण कदको प्रतिमा अनावरणको तयारी पूरा गरेको छ ।

समितिका अध्यक्ष माथवरसिंह बस्नेतले पत्रकार सम्मेलन गरी असार २ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिमा अनावरण गर्नुहुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा निर्माण भएको गणेशमान सिंह स्मृति वाटिकाको निर्माणसँगै उद्घाटन एवं प्रतिमा अनावरणको तयारी पूरा भएको भन्दै उहाँले वाटिकाको गुरुयोजनालाई पूर्णता दिने काम भने निरन्तरता रहने बताउनुभयो ।

अध्यक्ष बस्नेतले भन्नुभयो, “वाटिकामा विसं २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहको एक हजार दुई सय केजीको १२ फिट अग्लो ढलोटबाट निर्माण भएको पूर्णकदको प्रतिमा असोज २ गते सिंहको २६औँ स्मृति दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वाटिकाको औपचारिक उद्घाटन र सिंहको प्रतिमा अनावरण गर्नुहुनेछ ।”

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि २०५५ मा समितिले आफ्नो भवन निर्माण गरेको उहाँले बताउनुभयो । विसं २०७२ कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ सुरु भएको प्रतिमा निर्माण २०५७ मै पूरा भए पनि अनावरण भने हुनसकेको थिएन । समितिका अध्यक्ष बस्नेतले करिब रु चार करोडको लागतमा अहिलेसम्म शालिक, कार्यालय एवं पालेघर, मुख्य प्रवेशद्वार, सिँढी मर्मत र बाटिकाको संरचना निर्माण गरेको बताउँदै अन्य संरचनाभने निर्माणकै चरणमा रहेको बताउनुभयो ।

शालिक निर्माण पूरा भएको २३ वर्ष बितेपनि माओवादीद्वन्द्व, जनआन्दोलन, परिवर्तित राजनीतिक परिवेश, कोरोना महामारीलगायतका विभिन्न कारणले कार्यक्रम हुन सकेको थिएन ।

सरकारले साविकको कटुञ्जे गाविसको सिफारिसमा उक्त वाटिका स्थापना गर्न कित्ता नं ४२१ को १४८ रोपनी पाँच आना जग्गा दिएपछि समितिले २०५५ मा समितिको कार्यालय भवन निर्माण गरेको थियो ।

पत्रकार सम्मेलनमा समितिका महासचिव कृष्णमुरारी न्यौपानेले प्रजातन्त्र सेनानी स्व सिंहको योगदानलाई चिरस्मरणीय बनाउन वाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका शहीदहरूको जीवनीमा आधारित सामग्री सङ्ग्रहका लागि सङ्ग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर, पिकनिक स्पट, लगायतको निर्माण चरणबद्ध रुपमा हुने बताउनुभयो ।

उहाँले वाटिकाभित्र प्रजातान्त्रिक योद्धाको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याउने थलोको रूपमा विकास गर्ने लक्ष्य लिएकोे बताउनुभयो । स्व सिंहको त्याग, योगदान र क्रान्तिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि वाटिका सार्थक बन्ने अपेक्षा राखेको उहाँले बताउनुभयो ।

समितिका संस्थापक अध्यक्ष एवं वाटिकाका परकल्पनाकार स्वर्गीय रामेश्वर ढुङ्गेल, पूर्वअध्यक्ष वासु र अध्यक्ष बस्नेतको पूर्ण कार्यसमिति वाटिकाको गुरुयोजना सफल पार्न अनवरत रुपमा लागिरहेका बताउँदै उहाँले वाटिकामा सबै संरचना निर्माणका लागि रु ३३ करोड खर्च हुने गरी ऐतिहासिक गुरुयोजना निर्माण गरेकाले सरकारले पर्याप्त बजेटको व्यवस्था गरेर गुरुयोजना पूर्णता दिनु मागसमेत गर्नुभयो ।

सो अवसरमा मदनकृष्ण श्रेष्ठ, प्रचारप्रसार समितिका निमित्त संयोजक जगन्नाथ कार्कीले कार्यक्रम सफल पार्न विभिन्न २३ वटा समिति र विभिन्न उपसमिति निर्माण गरेको बताउँदै वाटिकाको उद्घाटन, शालिक अनावरण एवं पुष्पवृष्टि ड्रोनबाट गर्नेगरी तयारी गरिएको बताउनुभयो । १९७२ सालमा जन्मनुभएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।