सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

सिर्जना राई / काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार्नुभयो ।

सांसदसँग राससको अन्तक्र्रियामा उहाँले आफ्नो संसदीय अभ्यासको अनुभव यसरी व्यक्त गर्नुभयो, “म आफँैलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ । एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने लागेको थियो । मेरो व्यक्तिगत प्रयासका बाबजुद समग्र सदनको अभ्यास ‘प्यासिभ’ भएकै हो । सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन ।”

विधायिकाको भूमिकामा प्रभावकारी काम गर्ने हुटहुटीका बाबजुद संसदीय अभ्यासमा सक्रिय हुन नसकेको उहाँको बुझाइ छ । “सदनदेखि संसदीय समितिमा राम्रो ‘पर्फमेन्स’ दिन्छु, अध्ययनशील बन्छु, राम्रो गर्छु, नेतृत्व गर्छु भन्ने हिसाबले लागिपरेको छु । तर न समिति सक्रिय भइदिन्छ, न सदनमा जनताको आवाज बोल्ने पर्याप्त समय पाइन्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापनासँगै राजनीतिक यात्रा सुरुआत गर्नुभएकी २६ वर्षीय डाँगी प्रतिनिधिसभासदस्य मध्ये कम उमेरकी सदस्य हुनुुहुन्छ । उहाँ पार्टीको खस आर्य समूहमा समानुपातिक तर्फ निर्वाचित हुनुभएको थियो । उहाँ रास्वपाको संसदीय दलको सचेतक पनि हुनुहुन्छ । सत्र वर्षको उमेरदेखि नै प्रत्यक्षरूपमा सामाजिककार्यमा संलग्न उहाँ अपाङ्ग सङ्घसंस्था, महिला पुनःस्थापना केन्द्र, सरसफाइ कार्यक्रम अभियान र वृद्ध तथा बालबालिकाको हकहित जगाउने गतिविधिमा संलग्न हुनुहुन्थ्यो ।

कम उमेरमा संसदीय अभ्यासको पहिलो अनुभव बटुल्दै गर्नुभएकी उहाँले आफ्नो भूमिका ओजपूर्ण बनाउन प्रयत्नशील रहेको कुराकानीका क्रममा बताउनुभयो । “मेरो राजनीतिक पृष्ठभूमि छैन । तर मभित्र समाजमा कुनै पनि हिसाबले योगदान पुर्याउनुपर्छ भन्ने सोच पहिल्यैदेखि थियो । अब विधायिकाको जिम्मेवारी प्राप्त गरेसँगै मलाई अल्मलिने न समय छ न छुट ।”

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको सदस्यसमेत रहनुभएकी डाँगीले समितिको बैठक नियमितरूपमा बस्न नसक्दा विधेयकमाथिको छलफलले तीव्रता पाउन नसकेको गुनासो गर्नुभयो । “धेरै बजेट खर्च हुने र धेरै मन्त्रालय सम्बन्धित हुने समिति पूर्वाधार विकास समिति हो । तर समितिको सभापति चयन हुनुभएको एक महिना बित्दा पनि कुनै विधेयकमाथि दफावार छलफल सुरुआत हुनसकेको छैन”, उहाँले भन्नुभयो, “यस समितिअन्तर्गतका सम्बन्धित सातवटा विधेयकमध्ये कुनैमा पनि छलफल सुरु भएको छैन । मैले समिति सचिवालयमा लिखितरूपमा ‘एजेण्डा’ पेस गर्दा पनि चासो व्यक्त भएन ।” यस्तै उहाँले समितिमार्फत नै विधेयकलाई राम्रोसँग छलफल गरेर लग्नुपर्नेमा जोेड दिनुभयो ।

सदनमा युवा सांसदको प्रतिनिधित्व कम नै छ । ऊर्जाशील युवा सांसदको प्रतिनिधित्व गरिरहनुभएकी उहाँले भन्नुभयो, “मलाई लाग्दथ्यो, राजनीतिक नेतृत्वले सबै कुरा गर्न सक्छन्, इच्छाशक्तिको अभाव हो । तर एक–दुई जनाले मात्र चाहेर हुने कुरा होइन रहेछ । बहुमतले चाहेको खण्डमा मात्र सबै सम्भव हुने रहेछ ।”

उहाँका अनुसार सदनलाई सरकारले ‘बिजनेस’ नदिने र सांसदहरूले सकारात्मक दबाब सिर्जना गर्न नसक्दा पनि सदन क्रियाशील नदेखिएको हो । “हामी कति पुराना कानुनमा चलिरहेका छौँ तर सरकारले ‘बिजनेस’ दिँदैन । स्वयं हामीले घच्घच्याउन सकेनाँै । त्यसमा सिङ्गो सदनसँगै म पनि सांसदको रूपमा चुकेको हुँ कि जस्तो लाग्छ ”, उहाँले भन्नुभयो ।

संसदीय अभ्यासको अनुभव सुनाउने क्रममा उहाँले सदनमा हुने जनताका मुद्दा बाहिरका तथ्यहीन आरोप–प्रत्यारोपले सफल संसदीय अभ्यासबारे नै प्रश्न उठ्नु चिन्ताजनक भएको बताउनुभयो । लामो समय राजनीति र संसदीय अभ्यासको अनुभव प्राप्त जनप्रतिनिधिले समेत संसदीय मर्यादाविपरीत बोलेको देख्दा सांसद डाँगीलाई आश्चर्य लाग्ने गरेको छ ।

“कति कुरा देखाउनका लागि मात्र हँुदोरहेछ । उहाँहरू सदन बाहिर मिलेजस्तो गर्नुहुन्छ तर जनतालाई देखाउन आरोप–प्रत्यारोप गर्ने गरेको देख्छु”, उहाँले भन्नुभयो, “नियमावलीमा के बोल्न हुन्छ÷हुँदैन भन्ने स्पष्ट लेखिएको छ । अझ अनौठो लाग्ने कुरा नियमावली लेख्दा छलफलमा बस्नुभएका सांसदहरू नै सदनमा संसदीय मर्यादाविपरीत बोल्नुहुन्छ ।”

उहाँले पार्टीले ‘ह्वीप’ जारी गर्दा सांसदको स्वतन्त्र भूमिका खुम्चिने कुरामा सहमत हुँदै भन्नुभयो, “हाम्रो पार्टीमा हुँदैन म भन्दिनँ तर अन्य राजनीतिक पार्टीको तुलनामा हामी धेरै हदसँग स्वतन्त्र छौँ । पार्टीभन्दा पहिले सांसद जनप्रतिनिधि हो, जनताप्रति बढी उत्तरदायी हुनुपर्छ भन्ने सोचलाई कार्यान्वयन गर्न सकेमात्र पनि संसद्को भूमिका अझ बढी प्रभावकारी हुने थियो ।”

उहाँले जनतामा मत माग्दा दिएको आश्वासनलाई पूरा गर्न सके जनप्रतिनिधि आफ्नो भूमिकामा धेरै हदसम्म सफल हुने बताउनुभयो, “तर एउटा नमीठो सत्य के हो भने आफ्नो मुख्य भूमिका, कानुन निर्माणभन्दा विकास निर्माणको आश्वासन बाँडेर मत माग्ने र त्यही पूरा गर्नमा अल्झियौँ । सांसदको भूमिकाबारे सांसद आफँै सचेत हुनुपर्छ भन्ने जनतालाई पनि यसबारे जानकारी हुनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले जनताको मुद्दा सदनमा प्रस्तुत गर्न एथेष्ट समय नपाएको बताउनुभयो । “पछिल्लो समय दोस्रो अधिवेशनमा बोल्न पर्याप्त समय दिइँदैन । जनताका धेरै मुद्दा हुन्छन्, सदन दुई घण्टा सञ्चालन हुँदा हाम्रो पार्टीले आठ मिनेट पाउँछ, त्यो आठ मिनेटमा कति कुरा राख्ने ?-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।