बन्धक जीवन बिताउन बाध्य भोजपुर षडानन्द नगरपालिकाकी रविना लामाको कुवेतबाट यस्तो चित्कार

दोहाः वैदेशिक रोजगारीमा लागि कुवेत पुगेकी एक नेपाली महिला अहिले ‘बन्धक’ जीवन बिताउन बाध्य भएकी छन् ।

भोजपुर षडानन्द नगरपालिकाकी रविना लामा लामो समयदेखि बिरामी छन् । उनको चाहना स्वदेश फर्कनु रहेको छ । तर, उनको स्वदेश फिर्ती सहज बनिरहेको छैन ।

घर मालिकले मागेको ७ सय ५० केडी अर्थात् करिब ३ लाख २० हजार रुपैयाँ बुझाउन नसक्दा उनी बन्धक बनेकी हुन् । स्वदेश फिर्तीका लागि पहल गरिदिन उनले विभिन्न निकायमा याचना गरिरहेकी छन् ।

करिब पाँच महिनाअघि मात्रै कुवेत पुगेकी लामाको अहिले कम्मरदेखि तलको भाग चल्दैन । शारीरिक रूपमा कमजोर बन्दै गएपछि उनले घर मालिकलाई स्वदेश पठाइदिन आग्रह पनि गरिन् तर घर मालिकले सुनेनन्, बरु उल्टै बन्धक बनाए ।

‘यहाँ म धेरै बिरामी छु, कम्मरदेखि तल चल्दैन, म घर जान्छु भन्दा मालिकले पठाउँदैनन्, यहाँ मलाई बन्धक बनाएर कोठामा राखेको छ, मलाई चाँडो उद्धार गर्नुहोस्,’ उनको भनाइ उद्धृत गर्दै उनका आफन्त रेशमलाल न्यौपानेले भने, ‘बिरामी भएर काम गर्न नसकेपछि घर फर्कन खोज्दा मालिकले तलाईं हामीले किनेर ल्याएका हौं, पहिला हामीले किन्दा लागेको रकम चुक्ता गर अनि मात्र जान दिन्छौं भनेका रहेछन् ।’ न्यौपानेले रकम नदिएसम्म घरमालिकले घर जान दिन्नौं भनेकाले उनले आफ्नो समस्या बाहिर ल्याएपछि मात्रै बन्धक बनाएको खुलासा भएको बताए ।

संखुवासभाका सामाजिक अभियन्ता सीताराम नेपालले उनको समस्या थाहा पाएपछि आफूहरूले पहल गरेको बताए । ‘उनी चार–पाँच महिनाअघि मात्र घरेलु कामदारका रूपमा कुवेत गएकी रहिछन्, बिरामी भएर काम गर्न पनि नसकिरहेको अवस्था छ, घर मालिकले अस्पताल पनि लैजान नमानेको अवस्था रहेछ, परिवारले आफैं हवाई टिकट काटेर घर ल्याउने बताइरहँदा पनि सफल हुन नसकेको अवस्था छ, घर मालिकले ७ सय५० केडी नपाएसम्म कुनै पनि हालतमा स्वदेश नपठाउने भनिरहेका छन्, जुन पैसा पीडित लामा परिवारसँग छैन,’ सामाजिक अभियन्ता नेपालले भने ।

लामा गौरव नाम गरेको एजेन्टमार्फत् घरेलु कामदारका रूपमा कुवेत पुगेकी हुन् । उनी समस्यामा परेको जानकारी पाएपछि विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीले पनि पीडित महिलालाई सम्पर्क गरेका छन् ।

‘उनी काम गर्ने घर राम्रो रहेको भए पनि आफैं बिरामी परेका कारण घर फर्कन खोजेकी रहिछन् तर उनलाई मालिकले किनेको हुँदा लागेको खर्च तिरेर जान भनेको रहेछ,’ एनआरएनए कुवेतका अध्यक्ष सुवेदीले भने, ‘घरमा केही समस्या छैन, खाने बस्ने सबै राम्रो छ, कि पैसा दिनुप¥यो, होइन भने उनको ठाउँमा अर्को मान्छे दिए घर पठाउँछु भनेको रहेछ मालिकले ।’

कुवेतमा एजेन्ट पनि नेपाली नै रहेको र पीडित महिलासँग एजेन्टको नाम, सम्पर्क नम्बर माग्दा नदिएकाले उद्धारमा कठिनाइ भएको सुवेदीले बताए । उनी गैरकानुनी रूपमा दुबईको भिजिट भिसामार्फत कुवेत पुगेको र त्यहाँ पुगिसेकपछि एजेन्टले कानुनी तरिकाले राखेको सुवेदीले बताए ।

त्यहाँस्थित नेपाली दूतावासले पनि उनको उद्धारमा आवश्यक सहयोग गर्ने जनाएको छ ।

अध्यक्ष सुवेदीले घरेलु कामदारको केस आफूसँग ५ सयमाथि रहेको बताए । ‘हामी कुवेतीको घरघरमा पुगेर उद्धार गर्न सक्दैनौं, त्यो अधिकार हामीसँग हँुदैन पनि, उल्टो हामी आफैं फस्छौं, यहाँ यस्ता केस धेरै छन्,’ सुवेदीले भने ।

उनले पीडितहरू भागेर दूतावाससम्म पुगे भने ट्राभल डकुमेन्ट बनाउन मद्दत गर्न सकिने बताए । पछिल्लो समय कुवेतीहरूले खदमाको फोन ट्र्याक गरेर कोसँग बोल्छ, उसैलाई खदमा भगाएको केस लगाएर पक्राउ गर्ने गरेकाले उद्धारमा थप समस्या हुने गरेको सुवेदीको भनाइ छ ।

‘आवश्यकता र अभाव एकातिर होला तर यसरी नबुझी आउनेहरू आफैं पनि ठूला दोषी हुन्, नेपालबाट अवैधानिक रूपमा आए पनि यहाँ आइसकेपछि भने उनीहरू वैधानिक नै मानिन्छन्, अनि हामीलाई बोल्नै गाह्रो हुन्छ, सबै घर राम्रा पर्दैनन्, हामीसँग नौ वर्षदेखि तलब र छुट्टी नपाएका केसहरू पनि छन्,’ सुवेदीले भने ।

उनले खाडी मुलुकमा कामको धेरै समस्या भए पनि नेपालीहरू बुझ्दै नबुझेर आउँदा समस्या भएको बताए । ‘दैनिक १०/१५ जनाको फोन आउँछ, कति जनालाई उद्धार गर्नु ?’ सुवेदीले थपे, ‘हामीले के नै पो गर्न सक्छौंं र रु हामीसँग त्यस्तो के नै अधिकार हुन्छ र ? मैले नेपाल परोपकार समाज स्थापना गरेर यो तीन वर्षमा ४ सयभन्दा बढीलाई उद्धार गरिसकेको छु तर समस्या झन् बढ्दै छ, कति चुनौती खेपियो ।’

एनआरएनएमा सक्रिय व्यक्तिहरू नै ठूला तस्कर र दलाल भएको र दूतावासले पनि त्यस्ता व्यक्तिलाई खोजेर डिपोर्ट गर्न नसक्दा समस्या भएको सुवेदीले बताए ।

‘यो सप्लायर्स कम्पनी र डोमेस्टिक काममा कोही नआओस् भन्छु म त, के गर्ने देशमा रोजगार छैन, आउनुपर्ने बाध्यता पनि छ अनि यता आएपछि फस्छन्, मन भारी हुन्छ, निद्रा लाग्दैन, कति पीडितहरूलाई हामीले चाहँदाचाहँदै पनि उद्धार गर्न सक्दैनौं, के गर्ने ?’ सुवेदीले भने ।

उनले आफ्नो टिमले दलालको अफिस नै तोडेर दाङकी भविसरा विकलाई राति ११ बजे उद्धार गरेको पनि सुनाए । दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्नेहरू रहेका छन् । उनीहरूलाई आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने भन्ने’दयगत पनि जानकारी नहुँदा उद्धारमा समस्या हुने गरेको पाइन्छ ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।