सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय

काठमाडाँै, २७ कात्तिक : सरकारले जाजरकोट भूकम्पपछिको पुनःनिर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन व्यक्ति, सङ्घसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यकपर्ने देखिएकाले विपद् व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रु आठ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनःथापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । यस्तै थप रु एक अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा रु १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । उक्त अध्ययनका लागि सरकारका मुख्यसचिवलाई जिम्मेवारी दिइएको छ । मुख्यसचिवले अध्ययन गरेपछि प्रतिवेदन पेस गर्ने बैठकको निर्णय छ ।

मन्त्रिपरिषद्ले भूकम्पका कारण आवास पूर्ण क्षति भएका र आंशिक क्षति भए पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सिधैँ उपलब्ध गराउने छन् । अनुदान रकम उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुने मन्त्रिपरिषद्को निर्णय छ ।

बैठकले सहरी विकास मन्त्रालयले अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहका प्राविधिकमार्फत प्राविधिक सहयोग उपलब्ध गराउने, सङ्घ र स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार जनशक्ति उपलब्ध गराउन तथा अस्थायी आवास निर्माण र प्राविधिक परिचालनको अनुगमन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले अस्थायी आवास निर्माणलगायत कार्यमा आवश्यक समझदारी कायम गर्न तथा सहयोग र समन्वय गर्न स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा सम्बन्धित स्थानीय तह र वडामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वदलीय संयन्त्र निर्माण गरी परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै भूकम्पबाट प्रभावित क्षेत्रका स्थानीय प्रशासन र सुरक्षा निकायले तत्काल खोज, उद्धार र राहतका लागि उक्त निकायले उपलब्ध बजेटबाट गरेको इन्धन खर्चबापतको रकम अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । बैठकले यही कात्तिक २८ गतेदेखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।