रामजानकी विवाह : आज स्वयम्बर

जनकपुरधाम, १ पुस : जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ ।

गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिनुभयो ।

आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिव धनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमी तिथिमा सीतारामको विवाह भएको प्रसङ्गअनुसार आज स्वयम्बरको आयोजना हुनलागेको महन्थ दासले बताउनुभयो । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ ।

आज राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुर्याइन्छ भने जानकी मन्दिरबाट लिइएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध व्यक्तिले त्यहाँ स्वागत अभिनन्दन गर्दछन् ।

सोही मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्थले जानकी (सीता)लाई माला लगाई आरती पूजनपछि विधिवत स्वयम्बर हुन्छ । तत्पश्चात लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्याएर आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ भने आजै राति मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।

यसअघि पहिलो दिन मङ्गलबार जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला भयो । तेस्रो दिन बिहीबारका दिन ‘धनुष यज्ञ’ सम्पन्न गरिएको थियो ।

धनुष यज्ञ त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार कार्यक्रम सम्पन्न भई सीतारामबीच स्वयम्बर हुने पक्का भएको थियो ।

चौथो दिन शुक्रबार तिल्कोत्सव अर्थात् राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्न, वाग्दान) सम्पन्न भएकामा हिजो शनिबार मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिएको थियो ।

जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले आज छैटौँ दिन रङ्गभूमी मैदान बाह्रबिघामा सीतारामको विवाह सुसम्पन्न भएर भोलि पुस २ गते रामकलेवा अर्थात् जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन खुवाई बिदाइ गरी यस वर्षको महामहोत्सव कार्यक्रम समापन हुने बताउनुभयो ।

अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।