पश्चिम म्याग्दीका महिला फुटबलप्रति आकर्षित

गलेश्वर (म्याग्दी), २१ पुस : म्याग्दीको मालिका गाउँपालिका–६ की रोशनी पुन केवी एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिनुहुन्छ । उहाँ जस्तै २० देखि ३० वर्ष हाराहारी उमेरका महिला बिहान र बेलुकीको फुर्सदको समयमा फुटबल खेल्ने गर्नुहुन्छ । भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ ।

यही पुस पहिलो साता दरबाङमा सम्पन्न सातौँ करवीर कप प्रतियोगिताको मुख्य आकर्षण नै महिला फुटबल बनेको स्थानीय अगुवा हिराबहादुर पुनले बताउनुभयो । दरबाङस्थित पुरानो जनप्रिय खेलमैदान युवा पुस्ताका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ । यो खेल मैदानमा बिहान र बेलुकी फुटबल खेल्ने महिला तथा पुरुषको जहिले पनि भीड लाग्ने गरेको स्थानीय खेल प्रशिक्षक तेन्जिङ लामाले बताउनुभयो ।

खुला ठाउँको अभावले गर्दा शारीरिक व्यायाम गर्नबाट बञ्चित बनेका बालबालिकादेखि युवापुस्ताका लागि जनप्रियको पुरानो खेलमैदान र केवि एकेडेमीको खेलमैदान उपयुक्त स्थान बनेका उहाँको भनाइ छ । त्यसैगरी मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका महिला पनि पछिल्लो समय फुटबल खेलप्रति आकर्षित भएका छन् । “सहरका महिला जिम जाने, बिहानी हिँडाइ गर्ने गर्दछन् भने हामी गाउँका महिला कामबाट फुर्सद मिलेको समय मैदानमा भेला भएर फुटबल खेलेर रमाइलो गर्ने गर्दछौँ”, मालिका–२ की ललिता विकले भन्नुभयो ।

हिउँदका छ महिना जिल्लाका ग्रामीण भेग मेला र पर्वमय हुने गर्दछन् । विद्यालय, युवा क्लब, आमा समूह, स्थानीय निकायलगायत विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने यस्ता मेला तथा पर्वमा स्थानीय महिलाको सहभागिता र उपस्थिति पुरुषको तुलनामा बढी हुने गर्दछ । यस्तै मेला पर्वको अवसरमा यहाँका महिला पनि विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै प्रतिस्पर्धा गर्ने गरेका धवलागिरि युवा नगेन्द्र मल्लले बताउनुभयो ।

“दरबाङको केवी एकेडेमीमा आयोजित महिला फुटबल प्रतियोगिता हेर्न लायकको थियो”, उहाँले भन्नुभयो, “फुटबलप्रति महिलाको आकर्षण कति रहेछ भन्ने बुझ्न त्यही एउटा प्रतियोगिता नै काफी छ, यस्तै प्रतियोगिता पश्चिम म्याग्दीका अरू ठाउँमा पनि हुने गरेका छन्, ती ठाउँमा पनि फुटबलप्रेमी महिलाको सङ्ख्या बाक्लो देखिन्छ ।”

जिल्ला फुटबल सङ्घ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पछिल्लो समय खेलकुद र त्यसमा पनि फुटबल तथा भलिबलप्रति म्याग्दीका ग्रामीण महिला निकै आकर्षित भएका बताउनुभयो । “घरको कामबाट फुर्सद निकालेर महिला मैदानसम्म आई फुटबल खेल्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यो राम्रो पक्ष हो, एकातिर शारिरिक तन्दुरुस्ती कायम गर्न सघाउ पुग्छ भने अर्कोतिर अनावश्यक कुरामा ध्यान पनि जाँदैन ।”

फुटबलभन्दा फुटसल सजिलो

यहाँका महिलाले फुटबलभन्दा फुटसल खेलमा बढी रुचि देखाउन थालेका छन् । “फुटबल पहिलाबाटै खेल्दै आएको हो, तर हामीलाई फुटबलभन्दा फुटसल निकै सजिलो लाग्ने गर्छ”, फुटबल खेलाडी मनिका रोकाले भन्नुभयो, “फुटसल र फुटबल एकै प्रकृतिका खेल भए पनि यसको नियम र खेल्न तरिका फरक छन्, फुटबलमा ११ खेलाडी उत्रन्छन्, फुटसलमा पाँच खेलाडी भिड्छन्, फुटबल खेल ४५–४५ मिनेटको दुई हाफमा विभाजन गरी ९० मिनेट खेलाइन्छ, फुटसल २०–२० मिनेट गरी दुई हाफमा ४० मिनेट खेलिन्छ, त्यसैले हामीलाई यही सजिलो हुन्छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।