दिक्तेल रुपाकोट मझुवागढीमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

खोटाङ, २४ पुस : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो ।

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस तथा अन्तक्र्रियात्मक कार्यक्रम सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, उच्च शिक्षा हासिल गरेका र तालिमप्राप्त शिक्षकको व्यवस्था छ । तर विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेको छ । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “तहअनुसार विद्यार्थीको क्षमता विकास हुनसकेको छैन । यिनै समस्या हल गर्ने प्रयासस्वरुप शैक्षिक बहस अन्तक्र्रियात्मक कार्यक्रम सुरु गरिएको हो ।”

बसाइँसराइ, निजी स्कुल, जन्मदर रोकथाम, वैदेशिक रोजगारलगायतका कारण सामुदायिक विद्यालय रित्तिँदै गएको अवस्थामा नगरपालिका विद्यार्थीलाई गाउँकै सामुदायिक विद्यालयमा बस्ने वातावरण बनाउने उपायको खोजीमा जुटेको देखिन्छ । नगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा कैयौँ समस्या देखापरिरहेका छन् ।

नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय शैक्षिक बहसको माध्यमबाट सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने राय सुझाव सङ्कलन गरेको छ । कार्यक्रममा सहभागीमध्ये ३२ जनाले सामुदायिक विद्यालय सुधार गर्ने विषयमा राय दिएका छन् । कतिपयले राजनीति सप्रिए स्वतः शिक्षामा सुधार आउने धारणा राखेका छन् । केहीले गाउँलाई बस्नलायक बनाइनुपर्ने सुझाव दिएका छन् ।

यस्तै शिक्षक, जनप्रतिनिधिलगायतका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रबन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायतका सुझाव आएको छ । सुझाव टिपोट गर्दै प्रतिवेदन तयार गर्नका लागि शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राई संयोजक तथा पञ्च मावि दिक्तेलका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल र नगरपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक प्रेम केसी सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा व्यक्त सुझावका आधारमा पाँच दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको नगरप्रमुख भट्टराईले बताउनुभयो । “न काखमा बच्चा छ न कोखमा । पाँच–सात वर्षपछि स्कुल रित्तो हुने अवस्था आउँदैछ । शैक्षिक गुणस्तर सुधारका कारणहरु खोज्न थालेका छौँ”, उहाँले भन्नुभयो, “प्राप्त राय सुझाव सङ्कलन गरेर कार्यान्वयनमा जान्छौैँ । समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः पाँच सदस्यीय सुझाव कार्यदल बनाउने र सो कार्यदलमार्फत वडा–वडामा पुगेर शिक्षक, अभिभावकबाट सुझाव सङ्कलन गरिन्छ । सो कार्यदलले दिएको सुझाव र निचोडलाई आगामी शैक्षिकसत्रबाट कार्यान्वयनमा ल्याउने योजना बनाएका छौँ ।”

पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढीका अधिकांश वडाको ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालय विद्यार्थी अभावमा सङ्कटमा पर्दै गएको छ । कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी देखिन थालेको छ । नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने यसअघि नै प्रतिबद्धता जनाएका थिए । उसबेला मावि, निमावि र आविका विव्यास अध्यक्षले १५ तथा प्रअले १७ बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका हुन् ।

वर्तमान जनप्रतिनिधि निर्वाचित भएलगत्तै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पहल थालिए पनि हालसम्म प्रभावकारी कार्यान्वयन भएको छैन । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह यो नगरपालिकामा मावि, निमावि र आवि गरी ९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।