अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री

अर्घाखाँची, १ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमशः सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आज आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक सङ्कटका कारण सार्वजनिक मेला–महोत्सव विरलै हुने गरेकामा यस वर्ष अभियानकै रुपमा महोत्सवहरु आयोजना हुनु अर्थतन्त्र सुधारका दृष्टिले शुभसङ्केत भएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “अघिल्लो वर्ष यस्ता मेला–महोत्सव विरलै आयोजना हुन्थे तर यस वर्ष अभियानकै रुपमा मेला हुन थालेका छन् । विश्व बैङ्कलगायत अन्तरराष्ट्रिय वित्तीय संस्थाले पनि नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आएको जनाएका छन् । हाम्रा लागि यो शुभसङ्केत हो ।” उहाँले उद्योगी–व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गर्नुभयो ।

देश र जनताका पक्षमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएको बताउँदै प्रधानमन्त्रीले कार्य सम्पादनमा कमजोर हुने मन्त्रीलाई हटाउने चेतावनी पनि दिनुभयो ।

प्रधानमन्त्रीले अर्घाखाँचीको सिद्धारा–जलुके क्षेत्रमा जनयुद्धकालमा आफू हिँडेको स्मरण गर्दै यस क्षेत्रको पर्यटकीय विकासका निम्ति आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले अर्घाखाँचीको विकासमा सङ्घीय सरकारले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाको विकासप्रति स्थानीय राजनीतिक दलमा देखिएको एकता र सहकार्यको सराहना गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “गोरुसिङ्गे–सन्धिखर्क सडक निर्माणका निम्ति आवश्यक बजेटको प्रबन्धका साथै गच्छे–भालुवाङ सडकलगायत रणनीतिक परियोजनाहरु सम्पन्न गर्न सङ्घीय सरकारको सहयोग रहनेछ । सन्धिखर्क–शीतगङ्गा र भूमिकास्थान नगरपालिका तथा मालारानी–छत्रदेव र पाणिनी गाउँपालिकाको विकासका निम्ति सङ्घीय सरकारले ध्यान दिनेछ ।”

अर्थतन्त्रलाई चलायमान बनाउन आफू नेतृत्वको सरकारले भरमग्दुर प्रयास गरिरहेको स्पष्ट गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो । निर्वाचनबाट आएको त्रिशङ्कु संसद्ले राजनीतिक स्थायित्व दिने नदिनेमा निकै ठूलो संशय थियो तर एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौती सम्बोधन हुँदै गएका छन् ।

प्रधानमन्त्रीले विदेशी मुद्राको सञ्चितिमा प्रगति भएको, पर्यटक आगमनमा वृद्धि भएको, बैङ्कको ब्याज कटौती गरिएको, सहकारी र लघुवित्तका समस्या सम्बोधन भएका, भुक्तानी सन्तुलन, विप्रेषण वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको बताउनुभयो ।

विश्व बैङ्कलगायत अन्तरराष्ट्रिय सङ्घसंस्थाले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आएको तथा सन् २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका बताउँदै प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धि प्राप्तिका निम्ति काम भएका उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्रीले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा प्रगति भएको, आफ्नो चीन र भारत भ्रमणका साथै विश्व खाद्य सम्मेलन, राष्ट्रसङ्घीय महासभा, विश्व जलवायु सम्मेलन र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण र यसै साता युगान्डामा आयोजना हुने असंलग्न राष्ट्रहरुको सम्मेलन (नाम) मा आफूले गर्ने सम्बोधनबाट देशको अन्तरराष्ट्रिय छवि अझ उजागर हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली, पूर्वउपसभामुख पुष्पा भुसाल, पूर्वऊर्जामन्त्री पम्फा भुसाल, प्रदेश सांसद रामजी घिमिरे, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेललगायत सबै स्थानीय तहका प्रमुख–उपप्रमुखको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।