भोजपुरमा प्रदेशस्तरीय भलिबल खेल सुरु
टक्सार (भोजपुर) : ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा चार पालिका क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो दिन भोजपुरको आमचोक गाउँपालिका र षडानन्द नगरपालिकाबीचको प्रथम खेलमा ३–० सेटले जित्दै षडानन्द नगरपालिका अर्को चरणमा प्रवेश गरेको छ ।
यस्तै बेलावारी नगरपालिका मोरङ र साल्पासिलिछो गाउँपालिका भोजपुरबीच भएको दोस्रो खेलमा साल्पासिलिछो गाउँपालिका ३–१ सेटले विजयी बनेको छ ।
प्रतियोगिताको तेस्रो खेलमा भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका भोजपुरबीच भएको खेलमा टेम्केमैयुङले ३–० सेटले भोजपुरलाई हराएको छ भने समूह चरणको अन्तिम खेलमा दमक नगरपालिका झापाले रामप्रसाद राई गाउँपालिका भोजपुरलाई ३–० सेटले पछाडि पारेको थियो ।
प्रदेशभित्रका षडानन्द नगरापालिका भोजपुर, आमचोक गाउँपालिका भोजपुर, साल्पासिलिछो गाउँपालिका, बेलवारी नगरपालिका मोरङ, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका गरी टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
यही माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीले रु एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता हुने टिमले रु एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ ।
प्रतियोगितामा तेस्रो हुने टिमले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिता अन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीहरुले रु पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका प्रमुख शेर्पाले जानकारी दिनुभयो ।
-रासस


