अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकार हो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् ।

सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरु सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया र कमिसनखोरहरुले ती दलहरुलाई आफ्नो प्रतिनिधिको रुपमा सिंगारपटार गरेर पठाएका हुन् । अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार हो ।’ 
पछिल्लोपटक आफ्नो नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचारविरुद्ध युद्धको शंषघोष गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने– ‘जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिदैन, जनता र राष्ट्रको समृद्धि संभव छैन भन्ने तथ्यलाई मनन गरेर नै भ्रष्टाचारीमाथि कारवाही अभियान सुरु गरिएको हो ।’ 

चाहे नक्कली भुटानी शरणार्थी होस्, चाहे ललिता निवास र बाँसबारीको भूमाफियाको कुरा होस्, चाहे मिटरब्याजीको कुरा होस्, चौतर्फीरुपमा देखिएका भ्रष्टाचार, बेथिति र अपचलनविरुद्ध प्रहार गर्दै श्रमिक जनतालाई सामाजिक सुरक्षा कोषमा संगठित गरेर श्रमिक र उनीहरुका सन्तानको भविष्य सुनिश्चित गर्ने तथा लाखौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने महत्वपूर्ण थालनी गरिएको आफ्नो कार्यकालमा गरिएको उनले स्पष्ट गरे ।

‘सरकारबाट बाहिरिदै गर्दा मैले एउटा विजेताको रुपमा आफूलाई उच्च मनोबलका साथ प्रस्तुत गरेको छु, हामी कुनै काण्ड बोकेर फर्केनौं बरु कयौं काण्डका फाइलहरु खोलेर फर्केका छौं’– उनले भने– ‘यही नैतिक र जनबलमा हामी नयाँ अभियानको नेतृत्व गर्ने छौं ।’ आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङमुक्त गराएर उज्यालो नेपाल बनाएको स्मरण गराउँदै उनले अँध्यारोमा बस्दा भ्रष्टाचार बढी गर्न चाहनेहरुलाई उज्यालो नेपाल मन नपरेको टिप्पणी पनि गरे ।

जनताको इच्छा आकांक्षाविपरीत जाने हो भने दुई तिहाइ बहुमतले केही हुँदैन भन्ने भर्खरै बंगलादेशमा देखिएको स्मरण गराउँदै उहाँले ‘हिजो जनयुद्धको दमन गर्ने बेलामा पनि दुई तिहाई थियो, तपाइँहरुले जनयुद्ध रोक्न सक्नुभयो ?’ भन्दै प्रश्न गरे । ‘अहिले नेपाली जनताले जुन अधिकार प्राप्त गरेका छन्, माओवादीकै कारण हो, दुई तिहाईवालाका कारण होइन’– अध्यक्ष प्रचण्डले भने– ‘अब संविधान संशोधन गर्ने रे, मुलुकलाई पछाडि फर्काउने रे ! हिजो प्रतिगमन हुँदा सडकमा बसेर पलेटी कसेर लोकतन्त्र पुनस्र्थापित गरिएको हो, हाम्रा जनताले पाएको अधिकार खोस्ने दुस्साहस गर्छन् भने फेरि सडकमा जाने तयारीमै छौं, जान्छौं ।’
‘२०६४ कै हाराहारीमा हैसियत प्राप्त गर्ने वातावरण बन्दैछ’
अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताए । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएको बताए । 

अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै हाराहारीमा पुर्याउने सूत्र पनि कार्यकर्ताहरुलाई सुनाए । ‘अब हामी २०६४ को निर्वाचनमा मत दिने जनताको घरघरमा जानेछौं, हामीले गर्न सकेका र नसकेका कामको आत्मसमीक्षा गर्दै विभाजन भएर गल्ती गर्यौं अब नयाँ भएर आएका छौं भनेर प्रतिबद्धता व्यक्त गर्ने छौं’– उनले भने, ‘२०६४ को निर्वाचनमा मत दिने जनताका छोराछोरी देशभित्र वा बाहिर कहाँ छन् खोजी गरेर उनीहरुको देश र पार्टीप्रतिको बुझाई अनि आफ्नो भविष्यबारे के सोचिरहेका छन्, गहिरो छलफल गर्न हामी सबै लाग्ने छौं।’

त्यस्तै जनयुद्धकालका कार्यकर्ता र जनमुक्ति सेनाको खोजी गरेर उनीहरुका समस्या समाधान गर्दै पुनः नयाँ क्रान्तिमा परिचालनका लागि पार्टी गम्भीरतापूर्वक लाग्ने गरी पार्टीले योजना बनाएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले आफू देशब्यापी अभियानमा निस्कन थालेको बताए ।

परिवर्तनको महत्वपूर्ण आधार जनयुद्धको महत्वको स्थापित गरिएको उल्लेख गर्दै उनले भने– ‘जनयुद्ध दिवसलाई राष्ट्रिय विदा र जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिने ऐतिहासिक काम पनि हामी अघि अघि बढाएका छौं । चाँडै शान्ति प्रक्रियालाई पूर्णता दिएर हामी नयाँ शिराबाट अघि बढ्ने छौं ।’

पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएर गएका पार्टीहरुसँग पनि एकता प्रक्रिया चाँडै सुरु हुने बताए । ‘तीन प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको बैठक सकिएको छ’– उहाँले भन्नुभयो– ‘पार्टी पूर्णरुपमा एकताबद्ध छ । हाम्रो पार्टीलाई कसैले फूटाउन सक्दैन बरु फूटेका गएका शक्तिलाई पनि केही समयभित्रै पनि एक बनाएर लगिने छ, एकता वार्ता चलिरहेको छ, छिट्टै एकता हुनेछ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।