गोदावरी कुण्ड: प्रकृति र आस्थाको संगम

रोशन पोखरेल,काठमाडौं । काठमाडौं उपत्यकाको दक्षिणपूर्वमा, ललितपुरको गोदावरी नगरपालिकामा अवस्थित गोदावरी कुण्ड एक पवित्र तीर्थस्थल हो, जहाँ प्रकृति र धर्मको अनोठो संगम भेट्न सकिन्छ । पाटनको लगनखेलबाट करिब ११ कि.मि. पूर्वमा, फुलचोकी पर्वतको फेदीमा अवस्थित यो कुण्ड प्राचीन कालदेखि नै धार्मिक महत्त्व बोकेको छ । यहाँको प्राकृतिक सौन्दर्यले यो स्थललाई एक रमणीय र आध्यात्मिक यात्रा गन्तव्य बनाएको छ ।

पवित्र कुण्ड र स्नानको परम्परा
गोदावरी कुण्ड धार्मिक तीर्थस्थल मात्र नभएर धार्मिक स्नानका लागि पनि प्रख्यात छ । यस कुण्डमा बहने पाँच ढुंगे धाराबाट स्नान गर्नाले सबै पापहरू नाश हुने जनविश्वास रहेको छ । कुण्डको पानी आग्नेय कोणमा रहेको कन्दराबाट प्राकृतिक रूपमा प्रवाहित हुन्छ । यो पवित्र जल अर्को कुण्डमा खस्ने गर्दछ । कुण्डको आकार वर्गाकारमा १५ फिट छ भने गहिराइ १० फिट रहेको छ । यहाँ प्रत्येक वर्ष हजारौँ श्रद्धालुहरू स्नान गर्न आउने गर्दछन् ।

धार्मिक महत्त्व र प्राचीन किंवदन्तीहरू
गोदावरी कुण्डको धार्मिक महत्त्व विभिन्न पौराणिक कथाहरूमा आधारित छ । स्कन्दपुराण अनुसार, महर्षि गौतमलाई गोहत्या दोष लागेपछि उनले भगवान श्रीकृष्णसँग क्षमा मागे । त्यसपछि श्रीकृष्णले गङ्गालाई पृथ्वीमा पठाई दिए र त्यो गङ्गा यहाँ गोदावरी नदीको रूपमा बग्न थालिन् । यही गोदावरीमा स्नान गर्दा महर्षि गौतमले आफ्ना सबै दोषहरूबाट मुक्ति पाएका थिए । यसैले गोदावरी कुण्डलाई पवित्र स्नान स्थल मानिन्छ ।

कुण्डको उत्तरमा अवस्थित भष्मासुर पहाड अर्को रोचक धार्मिक स्थल हो । पौराणिक कथामा भनिएको छ कि भष्मासुर, जसलाई महादेवले सबैलाई भष्म गर्न सक्ने वरदान दिएका थिए, त्यही पहाडमा नाश भएको थियो । यसै स्थलमा भगवान विष्णुको प्रतीक विशंखुनारायण मन्दिर रहेको छ, जहाँ स्नानपछि जल चढाउने परम्परा रहेको छ ।

सिद्धेश्वर महादेव र गुफाका देवताहरू
गोदावरी कुण्डको दक्षिण र पश्चिममा रहेको गुफामा सिद्धेश्वर महादेव अर्थात् गोदावरी महादेवको मन्दिर रहेको छ । साथै यस क्षेत्रमा भगवान विष्णुको मूर्ति, विष्णु पदुका, नागराज वासुकी, गणेश, सरस्वती, कामधेनु र अन्य देवताहरूका मूर्तिहरू पनि देख्न सकिन्छ । यी धार्मिक स्थलहरूले गोदावरी कुण्डको धार्मिक महत्त्वलाई अझै बृद्धि गरेको छ ।

नौधारा र बाइसाख पूर्णिमाको मेला
गोदावरी कुण्डबाट करिब एक किलोमिटर दक्षिण पश्चिममा नौ धारा रहेको छ, जहाँ हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा मेला लाग्ने गर्छ । भक्तजनहरू यहाँ स्नान गरेर धार्मिक अनुष्ठानहरू गर्दछन् । नौधाराको छेउमा रहेको नौधारा माईको मन्दिर पनि विशेष आकर्षणको केन्द्र हो । यहाँ आउने भक्तजनहरूले नौ धारामा स्नान गरेर आफ्नो पवित्र यात्रा सम्पन्न गर्ने गर्दछन् ।

गौतम ऋषि र गौतमी कुटी
गोदावरी कुण्डको अगाडि रहेको धुनी घर ९गौतमी कुटी० पनि एक पवित्र स्थल हो । यहाँ अखण्ड धुनी जलिरहेको हुन्छ, जसमा गोबरको गुइँठा प्रयोग गरिन्छ । यो स्थल सिद्धबाबा बहादुर पुरीले तपस्या गरेको ठाउँको रूपमा मानिन्छ । जनविश्वास अनुसार गौतम ऋषि नै बहादुर पुरीको रूपमा प्रकट भएको कथा रहेको छ ।

प्राकृतिक सौन्दर्यले भरिएको गोदावरी कुण्ड धार्मिक पर्यटनका लागि मात्र होइन, शान्ति र आत्मशुद्धिका लागि पनि उत्तिकै उपयुक्त स्थान हो । यहाँको कुण्ड, नौ धारा, गुफा, मन्दिर र अनगिन्ती पौराणिक कथाहरूले यो स्थानलाई एक अद्वितीय गन्तव्य बनाएको छ ।

साथै, प्रत्येक १२ वर्षमा लाग्ने महायात्राको अवसरले यो स्थललाई अझ महत्त्वपूर्ण बनाएको छ । यदि तपाईँले धर्म, संस्कृति र प्रकृतिको संगममा आध्यात्मिक अनुभव खोजिरहनुभएको छ भने गोदावरी कुण्ड तपाईँको सूचीमा पर्नुपर्ने स्थल हो ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।