सिद्धार्थ बैंकले गर्यो मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम
धाकुटा । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले मधेश प्रदेश अन्तर्गत बारा र पर्सा जिल्लामा कार्यक्रम सञ्चालन गरेको हो ।
वित्तिय कार्यक्रममा विशेष गरी विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बाराको जीतपु सिमरा उप–महानगरपालिका– १५, स्थित डुमरवानामा २१ माघमा र पर्साको वीरगञ्ज महानगरपालिका–३१, बेलवास्थित नौकाटोलामा २२ माघमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
बिफक्याप नेपालको व्यवस्थापनमा सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा डुमरवानामा ५१ जना र नौकाटोलामा ५२ जना गरी कुल १०३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई नेपाल राष्ट्र बैंकका सुमनराज सुवेदीले प्रशिक्षण दिएका थिए । कार्यक्रमले लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरणमा योगदान पुग्ने विश्वास बैंकले लिएको बताईएको छ ।
कार्यक्रममा वित्तीय सेवासम्बन्धी ज्ञान, बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानी, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन लगायत विषयमा जानकारी दिइएको बताईएको छ ।


