पाथीभरा क्षेत्रको सेवारो चोक : जसले आज कालो बिहान देख्यो,श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन 

ताप्लेजुङ -पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो।

बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना आस्थाका थुप्रा बोकेका थिए। कसैको मनमा आफ्नो मुराद पूरा गर्ने आशा थियो, कसैले घर फर्केपछि ल्याउने ‘प्रसाद’ को कल्पना गर्दै थिएका थिए।

तर त्यो यात्रा, बीचमै रोकियो – आगोको गोलामा परिणत हुँदै।

पाथीभरा क्षेत्रको सेवारो चोक पुग्नै लाग्दा, अचानक जिपले सडकमा लत्रिएको बिजुलीको तार छोयो। एक झ्याप्प आवाज, अनि आगोको ठूलो मुस्लो।

सेवारो चोकले यति दर्दनाक दृश्य सम्भवतः कहिल्यै देखेको थिएन।

मे १ ज ३०११ नम्बरको जिप पाथीभरातर्फ यात्रु बोकेको थियो। तर, लत्रिएको विद्युतको तारले टच गर्दा सवारीमा आगलागी भयो। जिपभित्रका यात्रुहरूलाई न त भाग्ने मौका मिल्यो, न त कुनै सहायता पुग्यो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावल भन्छन्, ‘दुर्घटनामा दुई पुरुष र दुई महिला गरी चार जनाको घटनास्थलमै मृत्यु भएको छ।’

च्यापिएको जिपबाट सकससाथ निकालिएका दुई जना यात्रु घाइते छन्। उनीहरू आमा र छोरा हुन्। आमाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनका १० वर्षीय छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

त्यस्तै, घाइते हुनेमा ललितपुर-१० का ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य छन्। 

स्थानीयहरू भन्छन् – आगलागीपछि केही यात्रुहरू बच्न खोजे, तर जिपमा लागेको आगो यति भीषण थियो कि चार जनाको शव नचिनिने अवस्थामा जलेर नष्ट भएको छ।

अहिले पनि सेवारो चोकमा आगोको गन्ध र मृत्युको सन्नाटा फैलिएको छ। मानिसहरू मौन छन्, आकाश छात्तिएको छ।

ताप्लेजुङजस्ता पहाडी जिल्लामा सडकसँगै विद्युत्का पोलहरू र तारहरू अनियन्त्रित ढंगले बिछ्याइएका छन्। कतै पोल बाङ्गिएका छन्, कतै तार लत्रिएका छन्। यस्ता दुर्घटनाहरूका जोखिमबारे पटक-पटक चेतावनी दिइँदै आएको भए पनि सुधार भएको छैन।

स्थानीय एक बासिन्दा भन्छन्, ‘हामीले पहिले नै भनिरहेका थियौं तार लत्रिएको छ। कुनै दिन ठूलो दुर्घटना हुन्छ। तर सुन्ने कसले?’

आज त्यो डर साँचो भयो। चार जना निर्दोष यात्रुहरूको सपना अधुरैमा छोडेर।

जिपमा आगलागी यति भीषण भएको थियो कि उनीहरूको अनुहार, शरीर चिन्नसमेत मुस्किल छ। प्रहरी र स्थानीय प्रशासन पहिचान खुलाउने प्रयासमा जुटिरहेका छन्।

पाथीभरा, जसलाई हजारौं भक्तजनले आफ्नो आस्था र विश्वासको थलो मानेका छन्। तर, पुग्नुअघि नै चार यात्रुले जीवन गुमाउनु पर्‍यो। यो केवल एउटा दुर्घटना मात्र होइन, आस्थाको यात्रा बीचमै रोकिएको एउटा पीडादायी कहानी हो।

ताप्लेजुङका स्थानीयबासी भन्छन्, ‘यो केवल बिजुलीको तार मात्र होइन, राज्यको बेवास्ताले बुनेको एउटा मृत्युतर्फको बाटो थियो।’

अब प्रश्न उब्जिएको छ के अब पनि यस्ता लत्रिएका तारहरू सही गर्न ढिला गरिने छ? वा यी चार जीवनहरूको बलिदानले केही सचेतता ल्याउने छ?

सेवारो चोक, जसले आज एउटा कालो बिहान देख्यो, अब सधैंका लागि एउटा सम्झनाको स्थल बनेर बाँकी रहने छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।