आफूलाई पुनर्बहालीको माग गर्दै कार्कीले सर्वोच्चमा हालेकाे रिटमा अच्युतकृष्ण र हितेन्द्रदेवकाे नजिर

काठमाडौं, २० कात्तिक । सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेका तत्कालीन महानिरीक्ष््राक दानबहादुर कार्कीले पेस गरेको रिट शुक्रबारसर्वोच्च अदालतले दर्ता गरेको छ। कार्कीका वारेस आभास रेग्मीले दर्ता गरेको रिट दर्ता गर्दै कात्तिक ३० गतेका लागि पेसी तोकिएको छ ।

रिटमा कार्कीले सरकारले हटाउने निर्णय गर्दा आफूलाई कुनै सूचना नदिएको, परामर्श नगरेको, सहमति नलिएको र स्पष्टीकरणसमेत नमागेको दाबी गरेका छन्। उनका अनुसार निर्णयको जानकारी सुरुमा सञ्चारमाध्यमबाट र पछि गृहसचिवको हस्ताक्षरमा प्राप्त पत्रमा ‘विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको सम्बन्धमा’ भनेर दिइएको थियो। 

पत्रमा कात्तिक १८ देखि नै लागू हुनेगरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको उल्लेख छ। 

‘मलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा जारी मिति २०८२ कात्तिक २६ को पत्रमा नेपाल प्रहरीको गरिमालाई उच्च बनाई राख्न अपेक्षा गरिएको थियो। तर मलाई यो पत्रमा नेपाल सरकारको गरिमालाई उच्च बनाई राख्न अपेक्षा गरिएको छ। यसरी पत्रले मलाई नेपाल प्रहरीको कमान्ड र जिम्मेवारीबाट अलग गरी केवल सल्लाह दिने भूमिकामा सीमित गरेको छ। मेरो पारिश्रमिक र सेवाका सर्त प्रहरी महानिरीक्षक सरह हुने भनिएबाटै म अब प्रहरी महानिरीक्षक नरहेको सरकार स्वयंले स्वीकार गरेको देखिन्छ’, रिटमा छ।

कार्कीले प्रहरी महानिरीक्षक पदबाट अलग गर्ने निर्णयमा कुनै ऐन, नियम वा कानुनी प्रावधान उल्लेख नगरिएको र कार्यसम्पादन, आचरण, क्षमता वा योग्यताबारे कुनै कमजोरी वा आरोपसमेत उल्लेख नगरिएको दाबी रिटमा गरेका छन्।

‘निर्णयको भाषाबाटै देखिन्छ कि नयाँ पद सिर्जना गर्ने, त्यसमा मलाई खटाउने र रिक्त हुने प्रहरी महानिरीक्षक पदमा अर्का व्यक्तिलाई सोही दिनदेखि बढुवा गर्ने तीनवटै प्रकरण एउटै शृंखलाका अंग हुन् र तिनको वास्तविक परिणाम प्रहरी महानिरीक्षक पद खाली गराई प्रत्यर्थी नं ४ (मनोज केसी) लाई बढुवा गर्नु मात्र हो’, निवेदनमा छ।

कार्कीले सरकारको निर्णय र त्यसको आधारमा गरिएका पत्राचार काम कारबाही उत्प्रेषणको आदेशले बदर भई आफ्नो कार्यकालभरि पदमा काम गर्न दिनु भनी परमादेश जारी गर्न सर्वोच्च अदालतसँग माग गरेका छन्। उनले परमादेश जारी हुनुपर्ने आधार पनि पेस गरेका छन्। 

पहिलो आधारमा उनले मन्त्रिपरिषद्को अधिकारक्षेत्र र विवादित निर्णयको कानुनी आधारको अभाव रहेको दाबी गरेका छन्। मन्त्रिपरिषद्ले प्रयोग गर्ने प्रत्येक अधिकारको स्रोत संविधान वा कानुनमा देखिनुपर्ने र कानुनले नदिएको अधिकार प्रयोग गरी गरिएको निर्णय अधिकार क्षेत्रविहीन हुने जिकिर निवेदनमा गरिएको छ। 

कानुन अनुसार प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि पदको समाप्ति पनि कानुनद्वारा नै हुनुपर्ने उनको जिकिर छ। ‘प्रहरी ऐन, २०१२ वा प्रहरी नियमावली २०७१ मा बहालवाला प्रहरी महानिरीक्षकलाई प्रहरी संगठनबाहिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गरिएको पदमा खटाउन सकिने वा प्रहरी महानिरीक्षकलाई सरुवा गर्न सकिने कुनै व्यवस्था छैन‘, कार्कीको रिटमा छ। 

कार्कीले आफ्नो रिटमा यसअघि २०५३ सालमा महानिरीक्षकबाट हटाइएका अच्युतकृष्ण खरेल र २०८२ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाइएको प्रकरण पनि उल्लेख गरेका छन्। दुवैजनालाई सर्वोच्चले पुनर्बहाली गर्न आदेश दिएको थियो। 

नियुक्त गर्ने अधिकारीले हटाउन सक्ने भन्नुको अर्थ त्यस्तो अधिकारीले चाहेको जुनसुकै बखत बिनाकारण हटाउन सक्ने भन्ने कदापि नभएको पनि अदालतको व्याख्या छ। यस्तै अच्युतकृष्ण खरेललाई पुनर्बहालीका लागि दिएको परमादेशको व्याख्या पनि कार्कीले अदालतमा पेस गरेका छन्। 

सरकारको यस्तो निर्णयले प्रहरी सेवाको निस्पक्षता, मनोबल र देशको आन्तरिक शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने उल्लेख छ। विवादित निर्णयले प्रहरी महानिरीक्षकस्तरका दुई पदाधिकारी सिर्जना गरी एकजना प्हरी संगठनबाहिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र अर्को प्रहरी प्रधान कार्यालयमा राख्दा नेपाल प्रहरीको पदीय सोपान र आदेश शृंखलामा अन्योल सिर्जना गर्ने दाबी छ।

आफूलाई अर्को ठाउँमा खटाए पनि महानिरीक्षक पद रिक्त नभएको र रिक्त नै नभएको पदमा गरिएको बढुवा स्वत: गैरकानुनी बदरभागी रहेको दाबी कार्कीले गरेका छन्। अदालतको नजिर, आफूलाई हुने अपूरणीय क्षति र सुविधा सन्तुलनबाट समेत अन्तरिम आदेश जारी हुनु पर्ने माग उनको छ। 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖