फेटा अस्पताल उद्घाटन घटनाका घाइतेको उपचार खर्च गाउँपालिकाले बेहोर्ने

रौतहट, १९ कार्तिक। बाराको फेटा गाउँपालिकाले अस्पताल भवन उद्घाटनका क्रममा भएको घटनामा घाइते भएकाहरूको उपचारको सम्पूर्ण खर्च जिम्मा लिने घोषणा गरेको छ।

 गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

गत कात्तिक १४ गते शनिबार आयोजित अस्पताल भवन उद्घाटन कार्यक्रमका क्रममा भएको अप्रिय घटनामा आदित्य पासवानलगायत केही व्यक्ति घाइते भएका थिए।

 गाउँपालिकाले घटनामा घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूका परिवारप्रति सहानुभूति प्रकट गरेको छ।

अध्यक्ष अंसारीका अनुसार घाइतेहरूको हालसम्म भएको उपचार खर्च गाउँपालिकाले बेहोर्नेछ। स्वास्थ्य अवस्थाका आधारमा आगामी दिनमा थप उपचार वा विशेष स्वास्थ्य सेवा आवश्यक परे त्यसको व्यवस्थापनका लागि समेत गाउँपालिका सक्रिय रहनेछ। यसका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायसँग आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ।

घटनाको वास्तविक कारण र वस्तुस्थिति सार्वजनिक गर्न छानबिन समिति गठन भइसकेको गाउँपालिकाले जनाएको छ। समितिले निष्पक्ष तथा तथ्यमा आधारित अनुसन्धान गर्ने विश्वास व्यक्त गर्दै घटनाबारे सत्यतथ्य बाहिर ल्याउन गाउँपालिका प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

घटनापछि गाउँपालिकामा देखिएको असहज अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष अंसारीले राजनीतिक दल, नागरिक समाज, युवा तथा आम नागरिकलाई संयमित रहन आग्रह गरेका छन्। सामाजिक सद्भाव बिगार्ने गतिविधि, अपुष्ट सूचना र उत्तेजना फैलाउने अभिव्यक्तिबाट टाढा रहनसमेत गाउँपालिकाले सबै पक्षलाई सचेत गराएको छ।

यसैबीच, घटनाका कारण नागरिकले पाउने सार्वजनिक सेवामा कुनै असर पर्न नदिने गाउँपालिकाले स्पष्ट पारेको छ। स्वास्थ्य, शिक्षा तथा प्रशासनिक सेवाहरू नियमित र सहज रूपमा सञ्चालन गर्न जनप्रतिनिधि तथा कर्मचारी प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

गाउँपालिकाले वर्तमान परिस्थितिलाई सामान्य बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै आपसी समझदारी, धैर्य र सद्भावका साथ अघि बढ्न आग्रह गरेको छ। साथै, दीपावली तथा छठ पर्वको अवसरमा गाउँपालिकावासीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना पनि व्यक्त गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖