धनकुटा बहुमुखी क्याम्पसको खस्किँदो साख: सरोकारवाला किन मौन ?
कुनै समय पूर्वकै चर्चित शैक्षिक संस्था बनेको धनकुटा बहुमुखी क्याम्पसको पुनर्जागरण अब क्याम्पस प्रशासनको मात्र होइन, समग्र धनकुटावासीको साझा जिम्मेवारी बन्नुपर्छ
विदुर खवास । कुनै समय पूर्वी नेपालको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको धनकुटा बहुमुखी क्याम्पस अहिले आफ्नो पुरानो साख र गौरव जोगाउने चुनौतीसँग जुधिरहेको छ । पूर्वी पहाडका विभिन्न जिल्ला तथा तराई क्षेत्रका विद्यार्थीको रोजाइमा पर्ने यस क्याम्पसमा कुनै बेला विद्यार्थीको उल्लेख्य चहलपहल हुन्थ्यो। क्याम्पसको शैक्षिक गतिविधिले धनकुटा बजारलाई समेत चलायमान बनाएको थियो ।
तर समयक्रमसँगै क्याम्पसको आकर्षण घट्दै गएको छ । विद्यार्थी संख्या, शैक्षिक वातावरण, व्यवस्थापकीय क्षमता र संस्थाप्रतिको विश्वासका विषयमा प्रश्न उठ्न थालेका छन्। कुनै समय हजारौँ विद्यार्थीको रोजाइमा परेको क्याम्पस आज किन अपेक्षाअनुसार अगाडि बढ्न सकेन ? विद्यार्थी किन अन्यत्रका शैक्षिक संस्थातर्फ आकर्षित भइरहेका छन् ? यसको जवाफ खोज्ने बेला आएको छ ।
क्याम्पसको भविष्यसँग जोडिएको धनकुटाको अर्थतन्त्र
धनकुटा बहुमुखी क्याम्पस एउटा शैक्षिक संस्था मात्र होइन, धनकुटाको आर्थिक गतिविधिसँग जोडिएको महत्वपूर्ण आधार पनि हो। क्याम्पसमा विद्यार्थीको संख्या बढ्दा होटल, रेस्टुरेन्ट, किराना पसल, स्टेशनरी, यातायात, घरभाडा तथा अन्य व्यवसायमा प्रत्यक्ष प्रभाव पर्छ । कल्पना गरौँ, क्याम्पसमा सात ६ हजारको हाराहारीमा विद्यार्थी अध्ययन गर्ने वातावरण बन्यो भने धनकुटा बजार कति चलायमान होला ? बाहिरी जिल्लाबाट आउने विद्यार्थीले आवास, खानपान, यातायात र शैक्षिक सामग्रीमा खर्च गर्दा स्थानीय व्यवसायले नयाँ बजार पाउनेछन् । रोजगारीका अवसर बढ्नेछन् र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ । क्याम्पसमा विद्यार्थी संख्या बढाउनु शैक्षिक उपलब्धि मात्र होइन, धनकुटाको आर्थिक विकासको आधार तयार गर्नु पनि हो । पर्यटन, कृषि र व्यापारसँगै धनकुटाको शैक्षिक सम्भावनालाई पनि विकासको महत्वपूर्ण एजेन्डा बनाउन आवश्यक छ ।

पत्रकारले प्रश्न उठाइरहने, सरोकारवाला मौन बस्ने ?
पछिल्लो समय क्याम्पसको व्यवस्थापन, शैक्षिक वातावरण, भौतिक संरचना र उपलब्ध स्रोतसाधनको उपयोगका विषयमा सञ्चारमाध्यम तथा पत्रकारले प्रश्न उठाउँदै आएका छन्। सार्वजनिक संस्थाको अवस्था र कामकारबाहीबारे प्रश्न गर्नु पत्रकारिताको दायित्व हो। तर क्याम्पस सुधारको जिम्मेवारी पत्रकारको मात्र हो त ? जिल्लाका राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पूर्वविद्यार्थी, अभिभावक, उद्योगी व्यवसायी, बजारवासी तथा स्थानीय सरकारको सक्रियता अपेक्षाकृत कमजोर देखिन्छ । क्याम्पसको भविष्यबारे साझा बहस र दबाब सिर्जना हुनुपर्नेमा सबै पक्ष आ–आफ्नै भूमिकामा सीमित देखिनु चिन्ताको विषय बनेकोे छ । पत्रकारले उठाएका प्रश्नलाई व्यक्तिगत आरोप वा संस्थाविरुद्धको अभियानका रूपमा बुझ्नु हुँदैन । बरु ती प्रश्नको तथ्यगत जवाफ दिँदै कमजोरी भए सुधार गर्ने संस्कार विकास गर्नुपर्छ ।
क्याम्पस प्रशासनले जवाफ दिनुपर्ने प्रश्न
क्याम्पस सार्वजनिक सरोकारको संस्था भएकाले यसको स्रोतसाधन, सम्पत्ति र व्यवस्थापनबारे नागरिकको चासो स्वाभाविक हुन्छ । क्याम्पसमा उपलब्ध पुस्तकालय, प्रयोगशाला, ई–लाइब्रेरी, शैक्षिक सामग्री र दातृ सहयोगको अवस्था कस्तो छ ? निर्माण भएका संरचना पूर्ण रूपमा प्रयोगमा छन् कि छैनन् ? विद्यार्थीले उपलब्ध सुविधाबाट कति लाभ लिइरहेका छन् ? क्याम्पसमा निर्माण भएको करिब आठ करोड रुपैयाँको भवन, ई–लाइब्रेरीमा उपलब्ध कम्प्युटर तथा अन्य शैक्षिक सामग्रीको प्रभावकारी उपयोग भइरहेको छ कि छैन भन्ने विषयमा पनि स्पष्ट जानकारी आउनुपर्छ । संरचना निर्माण गर्नु मात्र उपलब्धि होइन, त्यसको नियमित र प्रभावकारी प्रयोग सुनिश्चित गर्नु महत्वपूर्ण हो । त्यस्तै, विद्यार्थीको संख्या बढाउन क्याम्पसले कस्तो रणनीति बनाएको छ ? शैक्षिक गुणस्तर सुधारका लागि के कस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ? विद्यार्थीमैत्री तथा अपाङ्गतामैत्री पूर्वाधारको अवस्था कस्तो छ ? यी विषयमा क्याम्पस नेतृत्वले तथ्यसहित आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने छ ।
राजनीतिक दल र स्थानीय सरकारको भूमिका
क्याम्पसको अवस्था सुधार गर्ने विषय कुनै एउटा राजनीतिक दल वा व्यक्तिको एजेन्डा बन्नु हुँदैन । सबै राजनीतिक दलले आफ्नो स्वार्थभन्दा माथि उठेर साझा शैक्षिक प्रतिबद्धता व्यक्त गर्नुपर्छ । क्याम्पसको नेतृत्व चयनमा राजनीतिक निकटताभन्दा शैक्षिक योग्यता, व्यवस्थापकीय क्षमता र संस्थालाई अगाडि बढाउने दृष्टिकोणलाई प्राथमिकता दिनुपर्छ। क्याम्पसलाई गुटगत प्रभाव र अनावश्यक राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न सक्नुपर्छ । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सांसद तथा सम्बन्धित शैक्षिक निकायसँग समन्वय गरेर आवश्यक बजेट, जनशक्ति र पूर्वाधार व्यवस्थापनका लागि पहल गर्नुपर्छ। स्थानीय सरकारले क्याम्पसलाई आफ्नो क्षेत्रको महत्वपूर्ण शैक्षिक सम्पत्तिका रूपमा लिएर संस्थागत विकासमा सहकार्य गर्न आवश्यक छ ।
पुनर्जागरणका लागि अबको बाटो
धनकुटा बहुमुखी क्याम्पसको पुरानो साख फर्काउन सबैभन्दा पहिले यसको वर्तमान अवस्थाको वास्तविक मूल्याङ्कन आवश्यक छ । विद्यार्थी संख्या, शैक्षिक कार्यक्रम, आर्थिक अवस्था, जनशक्ति, भौतिक संरचना र उपलब्ध स्रोतसाधनको विवरण सार्वजनिक गरिनुपर्छ । त्यसपछि समयानुकूल नयाँ शैक्षिक कार्यक्रम सञ्चालन, दक्ष प्राध्यापकको व्यवस्था, प्रविधिमैत्री शिक्षण, अनुसन्धान र व्यावहारिक शिक्षामा जोड दिनुपर्छ। पूर्वी पहाडका जिल्ला तथा अन्य क्षेत्रका विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्ति, आवास तथा अन्य सहुलियतको व्यवस्था गर्न सकिन्छ । त्यसैगरी, राजनीतिक दल, नागरिक समाज, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, पूर्वविद्यार्थी, अभिभावक, स्थानीय सरकार र क्याम्पस प्रशासन सम्मिलित सर्वपक्षीय समिति गठन गरी समयसीमा सहित सुधारको कार्ययोजना बनाउनुपर्छ । कार्ययोजना बनाउने मात्र होइन, त्यसको कार्यान्वयन र प्रगतिको नियमित समीक्षा पनि हुनुपर्छ ।
क्याम्पस जोगाउनु भनेको धनकुटाको भविष्य जोगाउनु हो
धनकुटा बहुमुखी क्याम्पसको खस्किँदो साख एउटा शैक्षिक संस्थाको मात्र समस्या होइन । यो धनकुटाको शैक्षिक प्रतिष्ठा, आर्थिक गतिविधि र समग्र विकाससँग जोडिएको विषय हो । बजार सुनसान भयो भनेर चिन्ता गर्ने तर बजारलाई चलायमान बनाउन सक्ने शैक्षिक संस्थाको अवस्थाबारे मौन बस्ने प्रवृत्तिले धनकुटाको विकास सम्भव छैन । ६ हजार विद्यार्थी पु¥याउने लक्ष्य तत्काल पूरा नहुन सक्छ, तर त्यसका लागि आवश्यक योजना र प्रतिबद्धता आजै सुरु गर्न सकिन्छ ।
अब क्याम्पस प्रशासनले जवाफदेहिता देखाउनुपर्छ, राजनीतिक दलले साझा धारणा बनाउनुपर्छ, नागरिक समाजले निगरानी गर्नुपर्छ, बजारवासीले साथ दिनुपर्छ र स्थानीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । धनकुटा बहुमुखी क्याम्पसको पुनर्जागरण कुनै एक व्यक्तिको प्रयासले सम्भव छैन। यसका लागि सामूहिक इच्छाशक्ति, पारदर्शी व्यवस्थापन र जिम्मेवार नेतृत्व आवश्यक छ । मौनता तोडौँ, प्रश्न गरौँ र सुधारका लागि एकजुट बनौँ। क्याम्पसको गौरव फर्काउनु भनेको धनकुटाको भविष्य उज्यालो बनाउनु हो ।


