सांगुरीगढीको पाथिभारा डांडा जाने सिंढी निर्माण कार्य बजेट विनियोजन नहुँदा रोकियो
हिराराज राई,धनकुटा । साँगुरीगढी गाउँपालिका–९, कतहरेमा अवस्थित पाथीभरा डाँडालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको सिँडी निर्माणकार्य गत वर्षसम्म तीव्र गतिमा अगाडि बढाइएको थियो। तर, चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि बजेट विनियोजन नहुँदा सिँडी निर्माणकार्य रोकिएको छ।

स्थानीयबासीहरूका अनुसार पाथीभरा डाँडा प्राकृतिक सौन्दर्य, शान्त वातावरण र अनुपम दृश्यावलोकनको कारण पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै आएको छ। दैनिक रूपमा स्थानीय तथा बाह्य क्षेत्रबाट आउने पर्यटकहरूको उपस्थिति यहाँ देखिन्छ। त्यही कारणले गर्दा पर्यटकहरूको आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सिँडी निर्माण सुरु गरिएको हो।
हाल निर्माणकार्य रोकिए पनि सिँडीले पाथीभरा डाँडाको पर्यटन विकासमा ठूलो टेवा पुर्याउनेमा स्थानीय बासिन्दा, व्यवसायी तथा सरोकारवाला निकायहरू विश्वस्त छन्। सिँडी निर्माण सम्पन्न भएपछि डाँडामा चढ्न सहज हुने, पर्यटकहरूको संख्या बढ्ने र त्यसले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।
पाथीभरा डाँडाले केवल प्राकृतिक सौन्दर्य मात्र नभई, स्थानीय सम्पदा, संस्कृतिको प्रवर्द्धन र संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसैबीच गाउँपालिकाले सिँडीसँगै सूचना पाटी, विश्रामस्थल, खानेपानी, सरसफाइलगायतका सुविधाहरूको विस्तार गरी यहाँको समग्र पर्यटन पूर्वाधार विकास गर्ने योजना बनाउनु आवश्यक देखिएको छ।
सिँडी निर्माण रोकिए पनि पाथीभरा डाँडाको सम्भावना र सम्भावनाका सपना अझै कायमै छन्। आगामी वर्षमा बजेट विनियोजन गरी निर्माणकार्य पुनः थालिने र यो क्षेत्र पर्यटकीय आकर्षणको नयाँ केन्द्र बन्ने विश्वास स्थानीयहरूमा छ।


