धनकुटा बस दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो, उपचारका क्रममा श्रेष्ठको आज बिहान मृत्यु
धनकुटा,२३ बैशाख । धनकुटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
दुर्घटनामा घाइते भोजपुर जिल्लाको षडानन्द नगरपालिका १३ का ५८ बर्षिया लिला बहादुर श्रेष्ठको उपचारको क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
यस अघि दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान उपमहानगरपालिका १३ बस्ने ५१ बर्षिया रुद्र तामांग र धनकुटा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ७३ की कृष्ण कुमारी राई भुजेलको पनि उपचारको क्रममा मृत्यु भएको थियो ।
श्रेष्ठको मृत्यु भएसंगै दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।
हिजो बिहान करिब १०:१० बजे जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ६ गोठगाँउ स्थित कोशी लोक मार्गमा धरानबाट भोजपुर तर्फ जादै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई बाटो बाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।


