धनकुटाको चौबिसे फलामेटारमा स्थित बाहुन कुलोको स्तरोन्नति
विनोद भण्डारी/बैशाख २७ ,धनकुटा(चौबिसे) । धनकुटाको चौबिसे गाउँपालिका वडा नं.४ स्थित फलामेटारमा रहेको जिल्लाकै पुरानो कुलो मध्ये एक बाहुन कुलोको स्तरोन्नति गरिएको छ ।
उक्त सिंचाइ कुलो जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय धनकुटाको योजना अन्तर्गत करिव २० लाख रुपैयाँको लागतमा कुलोको अफ्ठ्यारो क्षेत्रमा पक्की कुलो निर्माणको काम सम्पन्न भएको हो ।

छरुवा खोलाबाट फलामेटार सम्मको ३ हजार ५ सय मिटर मध्ये ३ सय ६० मिटर पक्की कुलो बनाउने काम पुरा भएको उपभोक्ता समितिका अध्यक्ष रोशन भण्डारीले जानकारी दिनुभयो ।
पक्की कुलो निमार्ण संगै वडा नं ४ फलामेटारका ५० घरपरिवारका करिव स्थित करिब ४ सय रोपनी क्षेत्रफल सिंचाइ पुगेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
लामो दुरी भएको बर्षात्को समयमा कुलोमा पानी चलाउन निक्कै समस्या हुने गरेकोले अफ्ट्यारो ठाउंमा पक्कि कुलो निर्माण भए पछि अब धान रोप्ने समयमा पानीको अभाव नहुने भण्डारीले बताउनुभयो ।

फलामेटार संगै यस क्षेत्रका सदामटार,हंसमोरङ्ग र डिहिटार चौबिसे गाउपालिकाको प्रमुख धान र अन्य खाध्यान्न उत्पादन गर्ने प्रमुख क्षेत्र हुन ।(प्रशिक्षार्थी पत्रकार)


