मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ८ जना पक्राउ
बिराटनगर, बैशाख २७ गते । मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख २६ गते मोरङको बिराटनगर- १५ र १६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ४ ग्राम १६७ मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित सुन्दरहरैचा-४ का २३ बर्षीय रवि मडहर, सुन्दरहरैचा-६ कस ३० बर्षीय रबिन गुरुङ र सुनसरी धरानका २७ बर्षीय संग्राम राईलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट ब्राउन सुगर २०० मिलिग्राम, औषधी ३६० क्याप्सुल र गाँजा २ किलो ५५० ग्राम सहित ईटहरी-२० का ३७ बर्षीय होम बहादुर मगर, बराहक्षेत्र नगरपालिका-७ का विकास सुनुवार, २३ बर्षीय आशिष वर्देवा, उदयपुर बेलका-३ का २८ बर्षीय अनुप राईलाई सम्बन्धित प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय भेडेटारले १० किलोग्राम गाँजा सहित धनकुटा शहिदभुमी गाउँपालिका-५ का ३१ बर्षीय उद्धव राईलाई साँगुरीगढी गाँउपालिका-६ स्थितबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


